देशको आर्थिक अवस्था सुधारमा ध्यान दिऔँ

एकराज शर्मा अधिकारी

नेपाल भू–परिवेष्टिक देश हो । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण भएको देश हो । तर, आर्थिक रुपमा गरिब छ । गरिबलाई सबैले हेला दृष्टिले हेर्छन् । त्यसैले हामी नेपालीहरु मिलेर आर्थिक मजबुत बनाउन कदम चाल्नु परेको छ ।

अनुदान ल्याएर मात्र देश बन्दैन । अनुदान ल्याउने देश कहिले पनि स्वाभिमानी र स्वालम्भी हुन सक्दैन । यसको बहुमूल्य सम्पत्ति भनेको युवाहरु हुन । सर्वप्रथम युवाहरुलाई स्वदेशमे बस्ने वातावरणको सिर्जना गर्नुपर्छ । आज युवाहरु स्वदेशमा काम नपाएर विदेशमा गइरहेका छन् ।

सरकार आखाँ चिम्लेर बस्नु हुँदैन । जबसम्म देश आर्थिक रुपमा सम्पन्न हुँदैन । तबसम्म देशमा अशान्ति भइरहन्छ । युवाहरु विदेश जाँदा गाउँघरमा खेतीपाती गर्ने मानिस कम भएकाले उत्पादन कम हुन थालेको छ ।

केही वर्ष अघिसम्म अन्न बेचेर खाने देश आज अन्न विदेशबाट ल्याएर खाने अवस्था आइपुगेको छ । बाबुआमा विदेशमा गएपछि छोराछोरी कुलतमा लाग्ने गरेका छन् । बाबुआमा विदेशबाट फर्किदा नयाँ रितिरिवाज लिएर आउँछन् ।
विदेशबाट रुपैयाँ भित्रिन्छ तर स्वदेशमा आएर काम गर्ने बानी बिग्रिसकेको हुन्छ । कमाएको पैसा खाद्यान्न, लुखाफाटो व्यवस्थापन गर्दा विदेशतिर नै फर्केर जान्छ । देशलाई केही फाइदा हुँदैन । कतिपयको त विदेशमा जाँदा बैंकबाट लिएको ऋण तिर्न नसकेर जग्गा जमिन लिलाममा चढिसकेको हुन्छ ।

घरका श्रीमति पनि, केटाकेटी छोडेर अनेत्र गइसकेका हुन्छन् । तीनको अवस्था कस्तो होला ? नेपाल जस्तो गरिब देशलाई माथि उठाउन युवाहरुलाई स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना गरी अन्य मुलुकले गरेको विकासलाई हेरेर पाठ सिक्नुपर्छ ।

हाम्रो जस्तो कृषि प्रधान देशले रोजगारीका अवसरहरु सिर्जना गरेर आर्थिक विकास गरेका धेरै मुलुकहरु छन् । जस्तो मलेसिया, दक्षिण कोरिया, सिंगापुरलगायतका देशलाई उदाहरणका रुपमा लिन सकिन्छ । उनीहरुले आज नेपालीलाई रोजगारी दिइरहेका छन् ।

अधिकांश मरुभूमि भएको देश इजराइलले पनि मरुभूमिलाई हराभरा बनाएर, उद्योग धन्दा खोलेर नेपाली युवाहरुलाई रोजगारी दिएको छ । विदेशी सहयोगको भर परेर मात्र हुँदैन । आफूले पनि मेहनत गर्नुपर्छ । युवाहरुले पनि उच्च शिक्षा हासिल गरेर स्वदेशमा आएर उद्योगधन्दा खोल्नुपर्छ ।

मुलले मात्र देशभक्त हुँ भनेर हुँदैन । काम, सिप र जागर देखाउन पर्छ । गफाडी मात्र भएर हुँदैन । अर्काको देशले विकास ग¥यो भनेर हुँदैन । गरिब देशले अर्थतन्त्र सुधार गर्न ठुलो आट गर्नुपर्छ । राज्यले पनि युवाहरुलाई देशमै रोजगारी दिन सक्नुपर्छ ।

उद्योग मात्र गरेर हुँदैन, उद्यमशील नागरिकको खोजी गर्नुपर्छ । त्यस्ता नागरिकलाई सरकारले प्रोत्सान गर्ने गरी नीति बनाउनुपर्छ । नेपालमा अर्थतन्त्र बलियो नहुनुको कारण गटबन्दी हो । नेपाली शसाकहरुमा उद्योग धन्दा खोल्नुपर्छ भन्ने भावना नै छैन ।

विदेशीलाई खुसी पारेर राज्य सत्ता टिकाउने मात्र काम भएको छ । नेपाल २००७ सालमा प्रजातन्त्र आएको हो । २००७ भन्दा पछि स्वतन्त्र भएका देशले आजको समयमा कति ठुलो उन्नती गरेका छन् । त्यो हामीले देखिरहेका छौँ ।

गणतन्त्र आएपछि हामीले के सिक्याँै ? गुठबन्दी सिक्यौँ । चाकडी गर्न सिक्यौँ । भष्टाचार, नातावाद, कृपावाद गर्न सिक्यौँ । युवाहरुलाई उद्यम गर्नुपर्छ भनेर सिकाएनौँ । कृषिमा आत्मनिर्भर हुनुपर्छ भनेर सिकाएनाँै । २००७ सालमा आन्दोलन गरेर राणाहरुलाई हटाएपछि आजसम्म २२ जना प्रधानमन्त्री भए ।

तीनजना त पाँच÷पाँच पटक प्रधानमन्त्री भइसके । नयाँ नेपाल बनाउनुपर्छ भन्ने नाम मात्र भयो । सिर्जनशिल कामको वास्ता भएन । यसले गर्दा नेपालको आर्थिक अवस्था सुर्धिएन । फल स्वरुप नेपाली युवालाई विदेशिन बाध्य हुनु परेको छ ।

विदेशीको सहयोगमा हातमुख जोड्न पनि धौधौ हुन थालेको छ । देशमा सुशासन, शान्ति र समृद्धि हुन सकेको छैन । सक्दैन पनि । अहिलेको अवस्थामा देशको उन्नती हुन कठिन छ । जनताहरु पीडित छन् । आन्दोलन गर्न तयार छन् । यस्तो अवस्थामा विदेशीले चलखेल गर्न सक्छन् ।

नेपालको अस्तित्व खतरामा पर्न सक्छ । फल स्वरुप नेपाली राष्ट्रियता नरहन सक्छ । नेपाली भाषा पनि नरहन सक्छ । गण्डकी, कोशी, कर्णाली पनि नाम मात्रका हुने छन् । हाम्रा मठ, मन्दिर र सम्पदा पनि रहने छैनन् । त्यसैले नेपालको आर्थिक अवस्था सुधार गर्न राष्ट्रप्रेमी नेताको आवश्यकता छ । नेपालीहर एकजुट भएर रोजगारीको सिर्जना गर्न सके देशको आर्थिक अवस्था सुधार गर्न कठिन छैन ।