दूध सङ्कलन केन्द्र सञ्चालनले किसानलाई सहज

गोरक्ष समाचारदाता
गढवा, १५ साउन । दाङको गढवामा दुध सङ्कलन केन्द्र सञ्चालनमा आएसँगै किसानलाई सहज भएको छ । दुध सङ्कलन केन्द्र सञ्चालनमा आएसँगै बजारको अभावमा दुध बिक्रीका लागि घरघर पुग्ने किसान अब सङ्कलन केन्द्रमा दुध बिक्री गर्न थालेका छन् ।

गढवा गाउँपालिका–६ गढवास्थित कृषि उपज सङ्कलन तथा बिक्री केन्द्रमा दुध सङ्कलन केन्द्र सञ्चालनमा आएसँगै दुधको बजारीकरणमा सहज भएको हो । हेफर प्रोजेक्ट नेपालसँगको सहकार्यमा सञ्चालित भिटा परियोजना अन्तर्गत गठन भएको गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले सरकारी मूल्य अनुसार दुध खरिद गर्न थालेको अध्यक्ष शोभा रावत क्षेत्री बताउँछिन् ।

दुध सङ्कलन केन्द्र सञ्चालनसँगै दैनिक करिब सय लिटिर दुध सङ्कलन भइरहेको भन्दै सहकारी संस्था अध्यक्ष क्षेत्रीले भनिन्, ‘दुध सङ्कलन केन्द्र सञ्चालनसँगै दुध बिक्रीका लागि किसानलाई सहज भएको छ । पहिले घोराही बजारसम्म दुध बिक्रीका लागि जाने किसानले अहिले सङ्कलन केन्द्रमै दुध बिक्री गर्न थाल्नुभएको छ ।’

दूध सङ्कलनका लागि गढवामा दुई हजार लिटर दुध अटाउन सक्ने चिलिङ भ्याटसमेत जडान गरिएको छ । सहकारी संस्थाले सङ्कलन गरेको दुध बुटवलस्थित विशिष्टीकृत सहकारीले खरिद गर्ने गरी सम्झौता भए अनुसार लग्ने गरेको बताइन् ।

गाउँमा दुध सङ्कलन केन्द्र स्थापना भएपछि दुध बिक्रीका लागि सहज हुनुका साथै मूल्य समेत बढी पाउने गरेको गढवा गाउँपालिका–६ गढवाका किसान नरेश यादव बताउँछन् ।

उनका अनुसार यस अघि प्रतिलिटर ६० रुपैयाँमा बिक्री हुने दुध सङ्कलन केन्द्रमा अहिले प्रतिलिटर ८० रुपैयाँ बढी मूल्यमा बिक्री हुने गरेको छ । दुध सङ्कलन केन्द्र सञ्चालन भएसँगै बिक्रीका लागि घरघर जानुपर्ने बाध्यता अन्त्य भएको भन्दै किसान यादवले भने, ‘दुध सङ्कलन केन्द्र नहुँदा डेरीलाई दुध बिक्री गर्नुपर्ने बाध्यता थियो ।

डेरीलाई दुध बिक्री गर्दा प्रतिलिटर ६० रुपैयाँ दिन्थ्यो तर अहिले दुधको शुद्धता नापेर बिक्री गर्दा ८० रुपैयाँसम्म आउने गरेको छ ।’ सहकारी अध्यक्ष क्षेत्रीका अनुसार अहिले यादव जस्तै दैनिक २१ जना किसानले दुध बिक्रीका लागि सङ्कलन केन्द्रमा ल्याउने गरेको र अन्य किसान दुध बिक्रीकिा लागि सम्पर्कमा आउने क्रम जारी रहेको बताइन् ।

गढवा गाउँपालिकामा मात्र पाँच सय बढी व्यावसायिक दुग्ध उत्पादक किसानले दैनिक करिब दुई हजार लिटर दुध उत्पादन गर्दै आएका छन् । दुध बिक्री गर्ने बजार अभावका कारण किसानले उचित मूल्य भने पाउन सकेका छैनन् ।