भुवन पोख्रेल
विश्वका मूख्यतया नेपाल जस्ता विकासोन्मुख राष्ट्रहरुमा भ्रष्टाचार एउटा महत्वपूर्ण समस्याको रुपमा जरा गाडेको देखिन्छ । भ्रष्टाचारको जरा मुलुकका आर्थिक, प्रशासनिक, राजनैतिक, कानुनी लगायतका यापत क्षेत्रमा फैलिएको भेटिन्छ ।
भ्रष्टाचार न्यूनीकरणका लागि ट्रान्सपरेन्सी इन्टरनेसनल जस्ता संस्थाहरुले समय–समयमा विभिन्न अनुसन्धान पनि गरिरहेका छन् । भ्रष्टाचारले पारदर्शीता, उत्तरदायित्व, सदाचारमा नकारात्मक असर पार्छ । नेपालको राजनीतिक क्षेत्रमा देखिएको व्याप्त भ्रष्टाचारले नेतृत्वप्रति जनविश्वास गुमेको अवस्था छ ।
आखिर मानिसले किन भ्रष्टाचार गर्छन् तर भन्ने प्रश्न टठ्कारो छ । कोही परिवारको पालनपोषण गर्न नसकेर भ्रष्टाचार गर्छन् भने कोही विलासिताको जीवन बिताउन वा खाफ देखाउन भ्रष्टाचार गर्दछन् । नेताहरुले चुनाव जित्न पैसाको खोलो बगाउने र निर्वाचन जिते पछि त्यो खर्च असुल उपर गर्न भ्रष्टाचार गर्दछन् ।
कसैले समाजमा भड्किलो प्रभाव देखाएर धनको संस्कृतिलाई बढावा दिन भ्रष्टाचारमा लिप्त हुन्छन् जेलसरी भ्रष्टाचारमा मुछिएका भए पनि भ्रष्टाचारीलाई सामाजिक रुपमा पनि बहिस्कार गर्नुपर्छ । भ्रष्टाचारीलाई फूल र दुवोको माला होइन जुत्ताको माला लगाउने हिम्मत बटुल्नु पर्छ ।
नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक अंगका रुपमा अख्तियार दरुपयोग अनुसन्धान आयोग । भ्रष्टाचारका मुद्दा हेर्ने विशेष अदालत छ, राष्ट्रिय सर्तकता केन्द्र छ, सम्पत्ति शुद्दीकरण विभाग छ । आ–आफ्नो क्षेत्रको भ्रष्टाचार हेर्न विभिन्न मन्त्रालय र विभागहरु छन् । त्यही पनि भ्रष्टाचार घट्न नसक्नुलाई विडन्बना मान्नुपर्छ ।
नेपालमा सार्वजनिक प्रशासनको क्षेत्रमा सदाचार खस्किएको छ । भ्रष्टाचार बढेको छ र अनियमितता बढेको छ । भ्रष्टाचार घट्न नसक्नुको प्रमुख कारण कानुनको कार्यान्वयन फितलो हुनु नै हो । मानिसको सुख वास्तवमा अध्यात्मिक पक्षले दिन्छभन्दा पनि भौतिक सुखमा रमाउने संस्कृतिका कारण भ्रष्टाचार मौलाएको हो ।
साधा जीवन उच्च विचारलाई अंगाल्न सकेको खण्डमा मानिस सदाचारी बन्न सक्छ । नैतिकता, इमानदारिता, सच्चाचरित्रले अध्यात्मिक मूल्य बलियो हुन्छ । समाजमा पनि यस्ता व्यक्तिलाई सम्मान गर्ने संस्कृतिको विकास गर्न सक्नुपर्दछ ।
खराबलाई दण्डित गर्ने, तिरस्कृत गर्ने बहिष्करण गर्ने संस्कारको जबसम्म विकास गर्न सक्दैनौ तबसम्म भ्रष्टाचार रोकथाममा जुन किसिमको शून्य सहनशीलताको कुरा गरिन्छ । त्यो कार्यान्वयनमा जटिलता सिर्जना हुन्छ । भ्रष्टाचार सार्वजनिक जीवनमा स्वीकृत मूल्यहरुको विरुद्धको आचरणलाई मानिन्छ । साधारण जनजीवनमा यसलाई आर्थिक अपराधसँग जोडिन्छ ।
भ्रष्टाचारलाई बेइमानी वा अपराधिक रुप जसमा एक व्यक्ति वा संगठनले प्राप्त गरेको अधिकारको स्थितिमा अवैध लाभहरु प्राप्त गर्न वा आफ्नो व्यक्तिगत लाभका निमित्त शक्तिको दुरुपयोग गर्दछन् । भ्रष्टाचारमा धेरै गतिविधि समावेश हुन सक्दछन् । जसमा घुसखोरी, प्रभावको कारोबार र अपचलन समावेश छन् ।
भ्रष्टाचारका विभिन्न स्वरुप हुन्छन् । आर्थिक भ्रष्टाचारमा शक्ति वा पदको दुरुपयोग गरी गरिने सबै खालका अनेतिक क्रियाकलापलाई भ्रष्टाचार भनिन्छ । मूख्यत आर्थिक लेनदेनसँग सम्बन्धित भई गरिने शक्ति वा पदीय मर्यादा विपरित गरिने कामलाई भने आर्थिक भ्रष्टाचार भनिन्छ । जुन छिट्टै आर्थिक उन्नती गर्नका लागि गरेको पाइन्छ ।
नीतिगत भ्रष्टाचार भनेको अनौपचारिक सञ्जाल तथा संगठित जालोका आधारमा निर्णय गरी अमुख व्यक्ति र समूहलाई फाइदा हुने काम नीतिगत भ्रष्टाचार हो । यसले सामाजिक, राजनीतिक, प्रशासनिक र संस्थागत रुपमा नकारात्मक प्रभाव पार्ने गर्दछ ।
खास स्वार्थ समूहलाई फाइदा पुग्ने स्वार्थप्रेरित मनसायले नीतिको आवरणमा गरिने भ्रष्टाचारलाई नीतिगत भ्रष्टाचार भनिन्छ । अनैतिकता र बेइमानीले समाजमा यसरी जरो गाडेको छ कि भ्रष्टाचार गर्नसक्नु पुरुषार्थ भएको छ । जसरी होस, धन सम्पत्ति जोड्न सक्ने मान्छे पुरुषार्थी भएको छ ।
मेहनत र इमानदारीपूर्वक कमाउनेकोभन्दा अनैतिकता र बेइमानीको सहारामा कमाउनेको समाजमा बढी इज्जत छ । राज्यकोष र राज्यको सम्पत्ति नै चलेको छ । यसरी गैरकानुनी रुपबाट सम्पत्ति आर्जन गर्नेहरुलाई समाजबाट बहिष्कार गर्ने प्रवृति नभएसम्म भ्रष्टाचारी भ्रष्टाचार गर्न कत्ति पनि डराउँदैन झनै हौसिन्छ ।
नेपालका उच्च तहकादेखि निम्न तहका कर्मचारी भ्रष्टाचारमा मुझिएका देखिन्छन् । स्थानीय तहदेखि केन्द्रसम्म राजनैतिक नेतृत्व गर्नेहरु पनि भ्रष्टाचारको दलदलमा फसेका खबर सुन्नमा आउँछन्– तसर्थ भ्रष्टाचार बहुपक्षीय संयन्त्र नै हाबी भएको देखिन्छ । अख्तियारले पनि साना माछालाई समात्ने र ठुला ह्वील माछाले आफैलाई निल्ने होकी भन्ने डरले उन्मुक्ति दिने गरेको देखिएको छ ।
भ्रष्टाचार समाजको कलंक भएकाले यसको नियन्त्रणमा सबैजना प्रतिबद्ध भई लाग्नु आवश्यक छ । भ्रष्टाचार नियन्त्रण सम्बन्धी अभियान नै चलाउन आवश्यक देखिन्छ । लोकतन्त्र माथि देखा पर्ने प्रमुख चुनौती बनेको छ भ्रष्टाचार । भ्रष्टाचारले नेपालको लोकतन्त्र माचि विभिन्न समस्या सिर्जना गरेको छ ।
राज्य व्यवस्थाभित्रका कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका तथा अन्य क्षेत्रमा दिनदिनै मौलाउँदै गएको भ्रष्टाचारले लोकतन्त्र तथा लोकतान्त्रिक शासन व्यवस्थालाई कलंकित र निष्प्रभावी पार्न भूमिका खेलिरहेको छ ।
समकालीन समाजमा भ्रष्टाचार एउटा यस्तो डरलाग्दो समस्या बनेको छ जसले पुरै शासन व्यवस्था, विकास निर्माण उन्नती तथा समाज रुपान्तरण हरेक कामलाई प्रत्यक्ष असर पारिरहेको छ । नेपालमा कुनै त्यस्तो क्षेत्र छैन जहाँ भ्रष्टाचारले असर नपारेको होस् ।
नेपालको कार्यपालिका भ्रष्टाचारमा चुर्लम्म डुबेको छ । सामान्य कर्मचारीदेखि मन्त्रीपरिषद्का सदस्य समेत भ्रष्टाचारमा संलग्न भएका समाचारले हरेक दिनका पत्रपत्रिका भरिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि कर्मचारीलाई रंगे हात पक्राउ गरेका घटना सार्वजनिक भएका छ न् ।
घुषवान जरा नदिई जनताले आफ्नो दैनिक प्रशासनकि काम कारबाही गराउने नसकिन नागरिकले अनुभव गरिरहेका छन् । नेपालको न्यायपालिका पनि भ्रष्टाचारको आहालमै डुबेको छ । मुद्दाको लाइन मिलाउन प्रधानन्यायधिसलाई करौडौँ घुष दिएका घटना सार्वजनिक भएका छन् ।
जिल्लादेखि उच्च तहसम्मका अदालतमा भ्रष्टाचार दिनदिनै झाँगिदै गएको छ । निष्पक्ष न्याय सम्पादन नभई पैसाको आँडमा न्याय किनबेच हुनुलाई लोकतन्त्रको चुनौती नै ठान्नुपर्छ । व्यवस्थापिकामा हुने भ्रष्टाचार झनै डरलाग्दो छ । दिनदहाड खुलम खुल्ला भ्रष्टाचार भइरहेको छ ।
सभासदहरु पदीय दुरुपयोग गर्दै रातो पासपोर्ट बिक्री गर्न तम्सन्छन् । यस्ता अराजक गतिविधिले भ्रष्टाचारलाई स ंस्थागत गर्दै लगेको देखिन्छ । लोकतन्त्रको संरक्षक र सेवा हकको रुपमा राजनीतिक दललाई लिने गरिन्छ तर विडम्बना नेपालमा राजनीतिक क्षेत्र सबैभन्दा भ्रष्ट भएको अध्ययनले देखाएको छ ।
लोकतन्त्रलाई संस्थागत, मजबुद र व्यवस्थित बनाउने भनेको सुशासन तथा पारदर्शीतायुक्त शासन व्यवस्थाले हो, जहाँ नागरिकले शासनका हरेक तहमा आफ्नो सहभागीता जनाउन पाउँछन् । नेपालमा विकासका चाहना निकै बढी छ । विकासको माग हुनु पनि स्वभाविकै हो तर विकास आयोजनामा भ्रष्टाचार भएको, आयोजनामा ढिलासुस्ती भएको लगायतका खबरहरु सार्वजनिक हुने क्रम घट्नेभन्दा बढिरहेका छन् ।
परिणाम स्वरुप नेपाल विश्वका भ्रष्टाचारी देशहरुमा ५३औँ स्थानमा रहेको छ । भ्रष्टाचारले निजी लाभका लागि शक्तिको दुरुपयोग लगायत समाजका विभिन्न आयामहरुमा असंख्य चुनौतीहरु प्रस्तुत गर्दछ । भ्रष्टाचारको व्यापकताले संस्थाको कार्यशैलीलाई कमजोर बनाउँछ, सुशासनमाथि नागरिकको विश्वास घटाउन सक्छ र आर्थिक विकासमा बाधा पु¥याउँछ ।
भ्रष्टाचार समाजमा सबै पक्षलाई असर गर्ने एउटा ठुलो चुनौती बनेको छ तर सुदृढसंस्था, बलियो कानुनी ढाँचा, पारदर्शीता उपाय, जनसहभागिता, प्राविधिक आविष्कार र त्यसका हानीकारक प्रभावहरुलाई नियन्त्रण गर्न सम्भव छ । भ्रष्टाचारलाई सम्बोधन गर्नु नैतिक आवश्यकता मात्र होइन, दिगो विकास, सामाजिक न्याय र समाजको समग्र कल्याणका लागि पनि आवश्यक छ ।
सार्वजनिक पदमा रहेका जिम्मेवार पदाधिकारीको भ्रष्टाचारको प्रवृतिको देखासिकीबाट गैरसरकारी एवम् सामाजिक संघसंस्था निजी क्षेत्रमा समेत भ्रष्टाचार विस्तार हुँदै गएको छ । सार्वजनिक जिम्मेवारीमा रहेका संघीय तहदेखि स्थानीय तहसम्मका, तल्लो तहदेखि माथिल्लो तहका पदाधिकारी भ्रष्टाचारको गलत प्रवृतिबाट सार्वजनिक स्रोत, साधन र सम्पत्ति व्यक्तिगत लाभका लागि दुरुपयोग गर्ने गराउने कार्यमा संलग्न हुने कार्य रोकिएको छैन ।
नेपाली समाजले सम्पत्तिको स्रोतभन्दा स्वरुपलाई महत्व दिएको तथा सामाजिक प्रतिष्ठालाई नैतिक सदाचारीतासँग नभई आर्थिक सामर्थसँग जोड्ने जनमत एकदम ठुलो संख्यामा रहेका कारण पनि भ्रष्टाचार बढिरहेको छ ।
त्यस्तै राजनीतिक नेतृत्वमा भ्रष्टाचार नियन्त्रण गर्ने साहस, इच्छाशक्ति, प्रतिबद्धता र इमानदारिताको कमी हुनु तथा भ्रष्टाचारको निगरानी र नियन्त्रणका लागि स्थापना गरिएका संस्थामा राजनीतिकरण हाबी हुनु पनि एक कारण रहेको छ ।
पारदर्शीता उत्तरदायित्व र जवाफदेहिताको अवस्था दयनीय छ । आमनागरिकको आर्थिक गतिविधिलाई सरकारी निगरानी र नियन्त्रणमा राख्ने पद्धति र व्यवहारलाई संस्थागत गर्न आवश्यक छ । हाल नेपालमा सार्वजनिक जिम्मेवारीलाई नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यताको आधारमा सम्पादन गर्ने लगाव र निष्ठा विरलै भेटिन्छ ।
यिनै कारणले पनि भ्रष्टाचारको जालो झन झाँगिएको छ । नेपालमा जतात्यतै व्याप्त भ्रष्टाचार कसरी निर्मूल गर्न सकिएला यो गम्भीर चुनौती बन्न पुगेको छ । नेपालमा मानिसहरुमा भ्रष्टाचार गर्नु हुँदैन भन्ने नीतिगत चेतना विकास हुन जरुरी छ । इमानदारितालाई सामाजिक संस्कारका रुपमा विकास गर्न सकिएको छैन ।
भ्रष्टाचार विरुद्ध कानुन निर्माण गरी ती कानुनहरुको प्रभावकारी कार्यान्वयन नेपालमा हुन सकेको छैन । कानुन नभएका पनि होइन, यहाँको समस्या ती कानुन कार्यान्वयन हुन नसक्नु प्रमुख समस्या हो ।
दार्शनिक चाणक्यले रातको समयमा सरकराी काम गर्दा सरकारी खर्चको टुकी प्रयोग गर्ने तथा व्यक्तिगत काम गर्दा व्यक्तिगत खर्चको टुकी प्रयोग गर्ने गरेको सन्दर्भलाई हाम्रा राष्ट्रसेवक कर्मचारीहरुले आँखा चिम्लेर बेवास्ता गरेका छन् ।
आफ्नो निजी कामका लागि सरकारी सवारीसाधन चलाउने एउटै मात्र उदाहरण काफी छ सरकारी सम्पत्ति दोहनको प्रमाणका रुपमा । सरकारी कार्यालयहरुमा खर्च घटाऔँ र मितव्ययिता अपनाउन कसैलाई मतलब छैन । निजी काममा सरकारी स्रोत साधनको प्रयोग गरिरहेको देखिन्छ ।
आफ्नो नितान्त व्यक्तिगत काममा पनि नेपालका नेता, कर्मचारी वा विशिष्ट पदाधिकारीले चाही सकेसम्म सरकारी खर्चकै स्रोत साधन प्रयोग गरिरहेका छन् । काम गरे वाफतको तलब सुविधा लिएर पनि सेवाग्राहीको कामलाई अतिरिक्त आम्दानीको माध्यम बनाएका छन् ।
अतिरिक्त आम्दानीकै लागि सहजै हुने कामलाई पनि अनेक बहानामा जटिल बनाउने र फाइल अड्काउने र एकदिनमा हुने कामलाई ३÷४ दिन अड्काउने अनि सेवाग्राहीको धर्यता टुट्छ बरु पैसा खुवाएर भए पनि अजै काम गराउन पर्छ भनी घुष दिने प्रवृति मौलाएको हो ।
नेपालमा ठुलो परिणाममा रेमिट्यान्स नआएको भए यो देश गम्भीर आथिृक संकटमा परिसक्ने थिये । त्यसरी आएको ठुलो परिमाणको रेमिट्यान्स सदुपयोग गर्ने समृद्धि पनि नभएका र सधै घुष र कमिसनमा मात्रै ध्यान–दृष्टि लगाइरहेका नेता र नीति निर्माताका कारण देश आर्थिक पछौटेपनको दलदलमा मासिन बाध्य भएको हो ।
मुलुकमा सानो वा ठुलो जुनसुकै काम किन नहोस् घुष बिना सम्भव छैन । यस्तो प्रवृतिले देश र समाजलाई जर्जर अवस्थामा पु¥याउँछ । राज्यकोषको दोहनमा सबैको साँठगाँठ देखिन्छ । अहिलेको अवस्थामा भ्रष्टाचारको निर्मूृल नगरी देश विकास हुन सम्भव छैन तर वर्तमान राजनीतिज्ञ, कर्मचारी र प्रणालीबाट यो निर्मूल हुने सम्भावना पनि देखिँदैन ।
भ्रष्टाचार निर्मूल गर्नको लागि उच्च प्रविधियुक्त नयाँ प्रणालीको थालनी गर्नु आवश्यक छ जुन प्रणालीमा कसैले चाहेर पनि भ्रष्टाचार गर्न नसकोस् । शासनमा सत्य, निष्ठा, नैतिकवान् शासक एवम् प्रशासकको व्यवस्थापन गर्ने, सरकारका काम कारबाहीको राम्रो अनुगमन गर्ने र जनताले पनि सधै खबरदारी गर्ने, ऐन नियमको व्याख्या सकारात्मक ढंगले गर्नु पर्ने देखिन्छ । भ्रष्टाचार न्यूनीकरण गर्न सर्वप्रथम त हामीले आफैबाट सकारात्मक सोचको विकास गर्नुपर्छ ।
भ्रष्टाचारले मुख्यगरी तीन क्षेत्रमा बढी प्रभाप पार्छ । राजनीतिक क्षेत्रमा विधिको शासन र लोकतन्त्रलाई प्रभाव पारेको छ । आर्थिक क्षेत्रमा राष्ट्रिय आय घटाउनमा यसले प्रभाव पारेको छ । सामाजिक क्षेत्रमा राजनीतिक प्रणाली र नेतृत्वमा जनताको विश्वास घटाउने कार्य गरेको पाइन्छ ।
भ्रष्टाचारले सदाचार, पारदर्शिता र उत्तरदायित्वमा नकारात्मक असर परेको छ त्यसर्थ भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति अपनाउनु आवश्यक छ ।