घोराही–तुलसीपुर चारलेन, सडकको ज्वाइन्ट सर्भे सुरु
खेमराज रिजाल
दाङ, १४ साउन । निर्माण सम्झौता भएको दुई सातापछि घोराही–तुलसीपुर चारलेन सडकमा निर्माण कम्पनी र सडक कार्यालयका प्राविधिकले आइतवारदेखि ज्वाइन्ट सर्भे सुरु गरेका छन् । निर्माण कम्पनी र सडक कार्यालयका गरी १२ जना प्राविधिक घोराही–तुलसीपुर सडक खण्डमा परिचालित भएको आयोजनाका कन्ट्याक्ट मेनेजर इन्जिनियर सुनिल ढुङ्गानाले बताएका छन् ।
ठेक्का सम्झौता हुनु अघि तयार पारिएको डिपिआर अनुसार अहिलेको अवस्था ठिक छ÷छैन भनेर पुनः सर्भे गरेपछि मात्र निर्माणको काम सुरु हुनेछ । ज्वाइन्ट सर्भेका लागि कम्तिमा २५ दिन लाग्नेछ । त्यसपछि नयाँ डिजाइन गरेपछि स्थलगत रूपमा कन्स्ट्रक्सनको काम सुरु हुने आयोजनाले जनाएको छ ।
‘हामीले दसैँलगत्तै स्थलगत रूपमै कन्स्ट्रक्सनको काम थाल्ने छौँ’, आयोजनाका कन्ट्रयाक्ट मेनेजर ढुङ्गानाले गोरक्षलाई भने । आयोजनाको व्यवस्थापनका लागि निर्माण कम्पनीले घोराही–तुलसीपुर सडक खण्डको दुधरासमा साइट अफिस सञ्चालनमा ल्याइसकेको छ ।
मदन भण्डारी राजमार्ग आयोजनाको नयाँ कार्यक्रम अनुसार घोराही–तुलसीपुर चारलेन सडक खण्डको लम्बाइ २१ दशमलव ५८ किलोमिटर रहने छ । जुन घोराहीको डिके पम्पदेखि सुरु भएर तुलसीपुरको हात्तीखौवासम्म रहने छ । आयोजना सम्झौता अनुसार स्तरोन्नति हुने सडक सहरी क्षेत्रमा २० मिटर कालोपत्रे र फुटपाथसहित ३० मिटर कायम हुनेछ ।
ग्रामीण क्षेत्रमा भने १५ मिटर चौडाइ कालोपत्रे हुनेछ । सडकको बिचमा भने तीन मिटरको मेडियन रहने छ । उक्त क्षेत्रमा रेलिङ सहित आवश्यकता अनुसार वृक्षारोपण पनि हुनेछ । जम्मा सडकमध्ये नौ दशमलव पाँच किलोमिटर सडक सहरी क्षेत्रमा पर्नेछ । बाँकी क्षेत्र ग्रामीण क्षेत्रको रहने छ ।
आयोजनाका अनुसार सडकको कालोपत्रेको मोटाइ भने १० सेन्टिमिटरको रहने बताइएको छ । कालोपत्रे दुई लेयरमा हुनेछ । हालको कालोपत्रे बाँकी रहेको सबै भाग हटाएर नयाँ मापदण्ड अनुसार कालोपत्रे हुने आयोजनाका इन्जिनियर ढुङ्गानाले बताएका छन् ।
सडक निर्माणका क्रममा आवश्यकता अनुसारका क्षेत्रमा सडक पार गर्ने लेन रहने छन् । यात्रुले समेत तोकिएका स्थान बाहेकका स्थानबाट सडक वारपार गर्न मिल्ने छैन । काठमाडौंको दिवा÷वन्दन भगवती जेभीले सडक निर्माणको जिम्मा पाएको छ । मदन भण्डारी राजमार्ग आयोजनासँग निर्माण सम्झौता २०८२ असार २४ गते भएको हो ।
आयोजना निर्माण सम्पन्न गर्नु पर्ने मिति २०८५ असार २४ गते रहेको छ । करिब तीन अर्ब २५ करोड रुपैयाँमा ठेक्का आह्वान भए पनि निर्माण कम्पनीले कुल बजेट दुई अर्ब ५३ करोड रुपैयाँमा निर्माण सम्झौता गरेको हो । आयोजनाका कन्ट्याक्ट मेनेजर ढुङ्गानाका अनुसार सडक स्तरोन्नतिका क्रममा यहाँ घर, टहरा हटाउन त्यति समस्या देखिएको छैन । यद्यपि विद्युत, टेलिफोन, खानेपानी तथा ढल निकासका संरचना तत्काल स्थानान्तरण गर्न जरुरी छ ।
यसैगरी सडक किनारामा रहेका रुख पनि समयमै हटाउन आवश्यक देखिएको इन्जिनियर ढुङ्गानाले बताएका छन् । ‘सबै क्षेत्र अनुकूल भएमा हामीले तोकिएको तीन वर्षकै अवधिमा निर्माणको काम सम्पन्न गरिसक्ने छौँ’, इन्जिनियर ढुङ्गानाले गोरक्षसँग भने ।
सडक स्तरोन्नतिका क्रममा क्रसर प्लान्ट, कङ्क्रिट व्याचिङ प्लान्ट, आस्पाल्ट प्लान्ट लगायतका संरचना निर्माण कम्पनीले आफैँ सञ्चालनमा ल्याउने छ । यी संरचना परियोजना अवधिभर मात्र सञ्चालन हुने छन् । नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा आयोजनाकै बजेटबाट स्थानीय सरकारलाई राजस्व तिरेर ल्याइने छ ।
यसका लागि सहज वातावरण बनाइदिन स्थानीय जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय, नागरिक समाज तथा सञ्चार क्षेत्रसँग निर्माण कम्पनीले आग्रह गरेको छ । सबै वातावरण अनुकूल भएमा मात्र तोकिएको समयमा निर्माण सम्पन्न हुने आयोजनाले बताएको छ ।
अघिल्लो आर्थिक वर्षमा सम्झौता भएकाले स्रोत सुनिश्चितताको अभावले मोविलाइजेसन पेस्की निर्माण कम्पनीले पाउन सकेको छैन । यो सडक मदन भण्डारी राजमार्ग आयोजना अन्तर्गतकै बजेटबाट निर्माण हुने भए पनि स्थानीय सुपरभिजन र समन्वय सडक डिभिजन कार्यालय दाङबाट हुनेछ । चालु आर्थिक वर्षको बजेटमा मोविलाइजेसन पेस्की निर्माण कम्पनीलाई उपलब्ध गराउने प्रक्रियामा रहेको छ ।
यो निर्माण कम्पनीले नारायणी नदी तटबन्ध भर्खरै सम्पन्न गरेको छ । जुन दुई अर्ब रुपैयाँ बजेटको आयोजना हो । यसैगरी अरनीको राजमार्ग अन्तर्गतको सूर्यविनायक–साघा सडक खण्ड निर्माणाधीन अवस्थामा रहेको र काठमाडौंको चक्रपथ निर्माणको काम तोकिएको समयमा निर्माण सम्पन्न गरेको कम्पनीको अनुभव छ ।
यस अघि भारतको एक्जिम बैंकको सशर्त ऋणमा सडक स्तरोन्नतिको काम सुरु भए पनि तोकिएको समयमा निर्माण कम्पनीले काम सम्पन्न गर्न नसक्दा सडक क्षतविक्षत भएको थियो । स्तरोन्नतिका क्रममा क्षतविक्षत भएको सडकमा जोखिमपूर्ण यात्रा गर्दा दुर्घटनामा परी दुई वर्षको अवधिमा मात्रै कम्तिमा तीन दर्जन मानिसले ज्यान गुमाएका थिए ।
सडक निर्माणको ठेक्का पाएको भारतको मुम्बईस्थित तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टसँग ठेक्का रद्द भएको तीन वर्षपछि मात्रै नेपाल सरकारले आफ्नै बजेटमा यो सडक खण्डको स्तरोन्नतिको प्रक्रिया थालेको हो । अलपत्र रहेको सडक स्तरोन्नतिका लागि यहाँबाट निर्वाचित सङ्घीय सांसदले पटक–पटक संसद्मा आवाज उठाएपछि मात्र सरकारले मदन भण्डारी राजमार्ग आयोजनाको बजेटबाट यो सडक स्तरोन्नतिको प्रक्रिया अघि बढाएको हो ।
सडक डिभिजन दाङको आग्रह
यसैबिच सडक डिभिजन दाङले घोराही–तुलसीपुर सडकको स्तरोन्नतिको ठेक्का सम्झौता भएर निर्माणको काम सुरु भएकाले सडकको ‘राइट अफ वे’मा पर्ने सबै संरचना साउन ३० गतेभित्र हटाउन आग्रह गरेको छ ।
डिभिजन प्रमुख दीपेन्द्रबहादुर विष्टले सोमवार तुलसीपुर खानेपानी उपभोक्रा तथा सरसफाइ संस्थालाई पत्राचार गरी ध्यानाकर्षण गराएका छन् । तोकिएको मितिमा त्यस्ता संरचना नहटाए त्यसको जिम्मेवार डिभिजन सडक कार्यालय दाङ नहुने पनि खानेपानीलाई लेखिएको पत्रमा जनाइएको छ ।
उक्त पत्रको बोधार्थ मदन भण्डारी राजमार्ग आयोजना, जिल्ला समन्वय समिति तथा जिल्ला प्रशासन कार्यालयलाई पनि दिइएको छ ।
