लकडाउनमा कडाइँ : प्रहरीको २ घण्टे ‘होल्ड’

लिलाधर वली
दाङ, २४ बैशाख । छिमेकी जिल्ला बाँकेमा कोरानाका संक्रमित बढेसँगै जिल्लाको लकडाउनमा कडाइँ गरिएको छ । लकडाउनका क्रममा मानिसहरु घुमफिर गर्ने र कतिपय मान्छेहरु जिल्ला बाहिर जाने, आउने क्रम नरोकिपछि प्रहरीले कडाइँ गरेको हो । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जिल्लामा लकडाउनलाई प्रभावकारी बनाएर लगेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । लकडाउनमा कडाइँ गर्नको लागि जिल्ला प्रहरी कार्यालयले सडकहरुमा प्रहरी संख्या समेत बढाएको छ । अनावश्यक सडकमा हिँड्ने मानिसहरुलाई नियन्त्रणमा लिएर २ घण्टा होल्डमा राखेर कोरोना भाइरससम्वन्धी सचेतना दिएरछोड्ने गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए । उनले अत्यावश्यक कामबाहेक अन्य समयमा घरबाहिर ननिस्कनसमेत सबैलाई आग्रह गर्दै अटेरी गरी निस्किए प्रहरीले पक्राउ गर्ने बताए । बुधवार विहान घोराही, तुलसीपुरलगायतका स्थानमा विना काम सडकमा निस्किएका मानिसहरुलाई होल्ड लिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

अनावश्यक सडकमा निस्किने मानिसहरुलाई २ घण्टा होल्डमा लिने नीतिअनुसार प्रहरीले मंगलवार १ सय ८१ जनालाई २ घण्टा होल्डमा राखेको थियो । उनीहरुलाई २ घण्टा होल्डमा राखेर छोडिएको बताए । ‘लकडाउन उल्लंघन गर्नेको संख्या बढेपछि प्रहरीले कडाइँ गरेको छ’, जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता खड्काले भने– ‘बिना काम सडकमा निस्किनेलाई प्रहरीले २ घण्टा होल्डमा राख्ने गरेको छ ।’ उनले सवारी साधनलाई तीन घण्टा राख्ने, चालकलाई सचेत बनाउने गरेको समेत बताए । ‘लकडाउन उल्लंघन गरेर हिँड्डुल गर्ने व्यक्तिलाई मात्र होइन, सवारी साधनलाई पनि ३ घण्टा होल्डमा राख्ने गरेका छौं’, प्रहरी नायव उपरीक्षक खड्काले भने– ‘व्यक्तिलाई २ घण्टा राख्ने गछौं भने सवारी साधनसहित हिँड्नेलाई ३ घण्टा होल्डमा राख्ने गरेका छौं ।’ प्रहरीले मंगलबार मात्रै जिल्लाका विभिन्न स्थानबाट ८० वटा सवारी साधन नियन्त्रणमा लिएको थियो । उनले पहिलोपटक सवारी साधनलाई ३ घण्टा नियन्त्रणमा लिएर सचेत गराउने काम गरेको भन्दै पुनः सोही गाडी दोस्रोपटक पक्रिए लकडाउन अवधिभर नै राख्ने बताए ।

‘लकडाउनका क्रममा नियन्त्रणमा लिने सवारी साधनको लगत राख्ने गरेका छौं, पहिलो पटक पक्राउ परेकालाई सचेत बनाएर छोड्ने गरेका छौ’, उनले भने– ‘यदि अटेर गरी दोस्रो पटक भेटिए उक्त गाडीलाई लकडाउन अवधिभर नै प्रहरीले राख्ने छ ।’ त्यस्तै बाहिरीबाट भित्रन नदिनका लागि प्रहरीले जिल्लाका प्रमुख तीन नाकाहरुलाई हेल्थडेस्क स्थापना गरेको समेत बताए ।

दाङको पूर्वी सिमाना कालाकाटे, दक्षिणको कोइलावास नाका, पश्चिम पूर्वपश्चिम राजमार्गअन्तर्गत अमिलिया र दाङको सुर्खेतसँग सीमा जोडिएको सडकको खिलतपुरमा हेल्थडेक्स स्थापना गरेर आउने मानिसहरुलाई सोधपुछसँगै स्वास्थ्य परीक्षण गर्दै आएको उनले बताए । मंगलबार बसेको जिल्ला सुरक्षा समितिले पास बोकेका सवारी साधनलाई पनि बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म गुड्न नदिने निर्णय गरेको थियो ।