राप्ती नदी तटबन्ध, ७१ प्रतिशत काम

प्रिया स्मृती गजमेर
देउखुरी, १३ साउन । साढे दुई बर्षको अवधिमा राप्ती नदी तटबन्धको ७१ प्रतिशत काम सकिएको छ । राप्ती नदीअन्तर्गत लमही नगरपालिका र गढवा गाउँपालिका क्षेत्रमा पर्ने करिव ११ किलोमिटरमध्ये ७१ प्रतिशत अर्थात करिव आठ किलोमिटर बढी क्षेत्रमा तटबन्ध गर्ने काम सकिएको छ । २०८२ असार मसान्तभित्र तटबन्धको काम सक्ने गरि २०७९ पुसमा कालिका कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार अहिलेसम्म करिव आठ किलोमिटर तटबन्धको काम सकिएको आयोजनाले जनाएको छ । सम्झौता मितिमा तटबन्धको काम नसकिएपछि आठ महिनाका लागि म्यादथप समेत भएको छ ।

जनताको तटबन्ध आयोजना प्रमुख डा नारायण सुवेदीका अनुसार तटबन्ध कार्यक्रमअन्तर्गत राप्ती नदीअन्तर्गत दाङमा ६ वटा प्याकेज र बाँकेमा दुई वटा प्याकेजमा काम भइरहेको छ । दाङअन्तर्गत लमही नगरपालिका–४ को बुट्कहवामा एक हजार ५० मिटर, गढवा गाउँपालिका–२ जेठान गाउँमा एक हजार सात सय ५० मिटर, गढवा गाउँपालिका–५ को तकियापुरमा दुई हजार मिटर, गढवा गाउँपालिका–४ हात्तिछाप कुलोमा दुई हजार पाँच सय मिटर, गढवा गाउाँलिका–१ को कान्छी गाउँमा सात सय ४१ मिटर तटबन्ध गर्ने काम भएको छ ।

लमही नगरपालिका–६ को मध्यनगरमा तटबन्धको काम गर्नुपर्ने भएपनि स्थानीयका बिचमा कुरा नमिल्दा तटबन्धको काम गर्न नसकिएको बताएका छन् । मध्यनगरमा डिपिआर अनुसार तटबन्धको काम गर्दा जनताको जग्गा राप्ती नदीमा पर्ने भएको भन्दै स्थानीयले बिरोध गर्दै नदीको बिच भागबाटै तटबन्ध गर्नुपर्ने बताएपछि काम हुन नसकेको कार्यालय प्रमुख सुवेदीले बताए । वर्षाको समयमा राप्ती नदीबाट हुने डुबान र कटानबाट सुरक्षित गर्नेगरी भइरहेको तटबन्ध अन्तर्गत हालसम्म राप्ती नदीमा २३.१४ किलोमिटर तटबन्ध गरिएको छ । २३.१४ किलोमिटर तटबन्धको काम हुँदा देउखुरीको लमही नगरपालिका र गढवा गाउँपालिकाअन्तर्गत दुई सय ७२ हेक्टर जग्गा नदी उकास क्षेत्रका रुपमा विकास भएको जनताको तटबन्ध कार्यालय प्रमुख डा.सुवेदीले जानकारी दिएका छन् ।

उनका अनुसार २०७३÷०७४ मा गौरी पार्वती कोशी एन्ड न्यौपाने मृत्त सन्जिवनी जेभीसँग ठेक्का सम्झौता भएको काम समेत अहिले अघि बढेको छ । गढवा गाउँपालिका–१ को जेठानगाउँ र लमही नगरपालिका–४ बलरामपुरमा क्रमश तटबन्ध गर्ने गरि ११ करोड र १५ करोडमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भएपनि निर्माण कम्पनीले काम नगरेर तटबन्ध अलपत्र पार्ने काम गरेको समयमा आफु कार्यालय प्रमुखका रुपमा आएपछि निर्माण व्यवसायीलाई काममा लगाएको बताए । अहिले उक्त कम्पनीले पनि निर्माणको काम धमाधम गरिरहेको कार्यालय प्रमुख सुवेदीले बताएका छन् । ठेक्का सम्झौता गरेर सम्पर्क बिहिन निर्माण व्यवसायीलाई खोज्नकै लागि कार्यालयका लेखा अधिकृत उदयबहादुर डाँगीसहित आफु काठमाण्डौ जानुपरेको समेत बताए ।

कार्यालय प्रमुख सुवेदीका अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कचनापुरमा एक हजार तीन सय मिटर, राप्ती सोनारीकै वडा नं. ६ ललही घाटमा एक हजार दुई सय मिटर तटबन्ध गर्ने काम सकिएको छ । तटबन्धको काम गर्दा आर्थिक वर्ष २०८१÷८२ मा नेपाल सरकारको २३ करोड २५ लाखमध्ये १९ करोड ४८ लाख र एशियाली विकास बैंक (एडिबी) मार्फत ७२ करोड ३८ लाख बजेट प्राप्त भएकोमा ४५ करोड पाँच लाख खर्च भएको कार्यालयले जनाएको छ । जनताको तटबन्ध कार्याल लमहीले दाङ र बाँके कार्यक्षेत्र बनाएर राप्ती नदीसँगै राप्ती र सहायक खोलाहरुमा तटबन्धको काम भइरहेको छ । साथै कार्यालय चालु आर्थिक बर्षदेखि सल्यानको सारदा नदी कटान क्षेत्रमा पनि तटबन्धको काम गर्ने भएको कार्यालय प्रमुख सुवेदीले बताएका छन् ।

तटबन्धका लागि २०८२÷ ०८३ मा पश्चिम राप्ती नदी तटबन्धका लागि तीन करोड, बबई नदीमा तटबन्धका लागि तीन करोड, सल्यानको सारदा नदी कटान नियन्त्रणका लागि तीन करोड र विपत व्यवस्थापनका लागि तीन करोड गरि जम्मा १२ करोड बजेट आइसकेको कार्यालय प्रमुख सुवेदीले जानकारी दिएका छन् । त्यसैगरी बबई नदी कटान क्षेत्रमा तटबन्ध निर्माण गर्न अमन इन्टरनेसनल ट्रेड लिन्क प्रालीले २०८० जेठ २२ गते सम्झौता गरेको थियो । ठेक्का सम्झौता अनुसार बबई नदीअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१४ डबकपुर र चोरबाँकीमा तटबन्धको करिव ९० प्रतिशत काम सकिएको बताए । चालु आर्थिक वर्षको फागुनसम्म काम सक्ने गरि सम्झौता भएको र बाँकीको प्रगति सन्तोषजनक रहेको बताएका छन् ।