दाङ, १३ साउन । लुम्बिनी प्रदेश सरकारले ५० लाखभन्दा माथिका योजनाहरू मुख्यमन्त्री ड्यास बोर्डमार्फत अनुगमन गर्ने भएको छ ।
सूचना तथा सञ्चार प्रविधि परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार तथा मातहतका निकायबाट कार्यान्वयन हुने योजनाहरूको ड्यास बोर्डमार्फत अनुगमन गर्ने गरी प्रणाली विकास गर्न निर्देशन दिनुभएको हो ।
सरकारले गर्ने हरेक कामलाई नजिकबाट अनुगमन गर्ने प्रणालीको विकास गर्न जरुरी रहेको भन्दै मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘ ५० लाखभन्दा माथिका योजनाको कार्यान्वयनको अवस्था र उपलब्धिलाई ड्यास बोर्डमार्फत अनुगमन गर्ने प्रणालीको विकास गरौं । सरकारका कामलाई पारदर्शी र जवाफदेही बनाउन अनुगमनलाई प्रभावकारी बनाउनु आवश्यक छ ।’
मुख्यमन्त्री आचार्यले किसान एपलाई पनि प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान निर्देशन दिनुभएको छ । जुन लक्ष्य र उद्देश्यका साथ किसान एप बनाउने काम गरिएको भन्दै मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘बनाएको कृषि एपलाई अव कार्यान्वयनमा लैजान जरुरी छ । प्रदेशका मुख्य तरकारी बजारहरूको दैनिक मूल्यसूची राख्न आवश्यक छ ।’ उहाँले गैरकाष्ठ वन पैदावारको मूल्यसूचीसमेत किसान एपमा समावेश गरी सबैको पहुँचमा पु¥याउन आवश्यक रहेको बताउनुभएको थियो ।
बैठकमा प्रमुख सचिव बाबुराम अधिकारीसहित परिषद्का पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो । कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशक अनुप बास्कोटाले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रगति प्रतिवेदन र चालु आर्थिक वर्ष २०८२÷८३ को बजेट तथा कार्यक्रमको विवरण प्रस्तुत गर्नुभएको थियो ।