घोराहीको न्यायीक समितिमा ८८ प्रतिशत विवाद मिलापत्र

घोराही, १३ साउन । घोराही उपमहानगरपालिकाको न्यायीक समितिले ८८ प्रतिशत विवाद मिलापत्र गराउन सफल भएको छ । न्यायीक समितिले अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरी आएका २७ विवाद र आर्थिक वर्ष २०८१÷०८२ मा दर्ता भएका एक सय आठ विवादमध्ये ८८ प्रतिशत अर्थात एक सय १९ विवादमा मिलापत्र गराएको छ ।

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७ को उपदफा १ र २ अनुसार देवानी प्रकृतिका मुद्दा उपर न्यायीक इजलासमार्फत न्याय निरुपण गर्ने क्रममा दफा १ अनुसार ३२ वटा, दफा २ अनुसारका ४२ वटा, अन्य उजुरी तथा निवेदन गरि ३४ वटा र आर्थिक वर्ष २०८०÷०८१ बाट जिम्मेवारी सरी आएका २७ वटा विवाद गरि एक सय ३५ विवादमध्ये एक सय १९ विवादमा मिलापत्र गरिएको घोराही उपमहानगरपालिका उपप्रमख एवं न्यायिक समिति संयोजक हुमा डिसीले बताउनुभयो । उहाँका अनुसार १६ वटा निवेदन प्रक्रियामा रहेका छन् ।

न्यायीक समितिमा दफा १ अन्तरगत नाबालक छोराछोरी वा पति पत्नीलाई खान लाउन वा शिक्षा दीक्षा नदिएका सम्वन्ध्ी १६ विवादमध्ये १५ वटा, ज्याला मजदुरी नदिएको विवादमध्ये तीन वटा, धार्मिक, सामाजिक स्थलको प्रयोग गरणन नदिएका चार विवादमध्ये तीन वटा, आलिधुर, पानी बाँधको बाँडफाँड तथा उपयोग सम्बन्धि तीन विवाद मध्ये एउटा वटा, ज्येष्ठ नागरिक हेरचाह सम्वन्धी एउटा विवाद परेकोमा दुवै पक्षलाई बसालेर छलफल गराउँदा बिवाद मिलाउन सफल भएको संयोजक डिसीले बताउनुभयो ।

उहाँका अनुसार घरबहाल सुविधा सम्बन्धि दुई वटा दर्ता भएकोमा दुवै मिलापत्र भएको तथा घर, जग्गा सार्वजनिक बाटोमा पानी झारेको एउटा विवाद मिलापत्र हुन बाँकी रहेको छ । दफा २ अनुसार सरकारी सार्वजनिक वा सामुदायिक बाहेक एकाको हकको जग्गा अर्काेले मिची वा घुसाई खाएको ३६ विवाद दर्ता भएकोमा ३४ वटा मिलापत्र भएका छन् । पतिपत्नी बिचको सम्बन्ध बिच्छेद ३ वटा दर्ता भई सबै मिलापत्र भएको, अंगभंग बाहेकको बढीमा एक वर्षसम्म कैद हुन सक्ने कुटपिटका दुई वटा उजुरी परेकोमा दुवै फछ्र्याैट भएको न्यायीक समिति संयोजक डिसीले बताउनुभयो ।

ध्वनि प्रदुषण गरी वा फोहोरमैला फ्याकी छिमेकीलाई असर पारेको एउटा, लेनदेन, घरायसी झैझगडा, अंश, ऐलानी जग्गा विवादसम्वन्धी ३४ विवादमध्ये २८ वटा फछ्र्याैट भएको र ६ वटा प्रक्रियामा रहेको र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका २७ विवादमध्ये २६ विवाद फछ्र्याैट भएका छन भने १ वटा विवाद मिलापत्र गर्न बाँकी रहेको छ ।