काठमाडौं, २५ बैशाख । नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादर देउवाले बुद्ध जयन्ती अवसरमा ‘बुद्धका उपदेशलाई सबैले पालन गरेर देशमा शान्ति कायम होस् र भैरहेको अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सम्पूर्ण देशवासीले मुक्ति पाउन्’ भन्दै कामना गरेका छन् ।
दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन भन्ने नेपाली कांग्रेसको स्पष्ट धारणा रहेको स्मरण गराउदै आफ्नो शुभकामना न्देशमा देउवाले भनेका छन्, ‘त्यसैले नेपाली कांग्रेसको पहिलो प्राथमिकता नै शान्ति हो ।’ विगतका वर्षहरु अशान्ति र द्वन्दबाट आक्रान्त रहेको हाम्रो देश अझै पनि हत्या, हिंसा, अपहरण, मानव अधिकार विरोधी लगायतका घट्नाहरुबाट मुक्त हुन नसकेको भन्दै कांग्रेस सभापति देउवाले शान्त र समुन्नत नेपाल निर्माणका लागि हाम्रा सामु थुप्रै अवसरहरु रहेका तर्फ पनि ध्यानाकर्षण गराएका छन् । ‘हिंसा, हत्या, अपहरण जस्ता मानव अधिकार विरोधी क्रियाकलाप अब सदाका लागि बन्द गरिनुपर्दछ’ नन्देशमा भनिएको छ ।
‘नेपाल लगायत विश्वका सबै देश अहिले कोरोना भाइरस (कोभिड १९) बाट प्रताडित छन् ।
लकडाउनको पूर्ण पालना गर्दै सामाजिक दुरी कायम गरेर यो विश्वव्यापी महामारीलाई परास्त गर्नु आजको आवश्यकता हो’ सन्देशमा भनिएको छ, ‘उच्च मनोवलका साथ आपसी सहकार्य र एकता विना यो कार्य सम्भव छैन । यसमा हामी सबै सचेत छौं भन्ने कुरामा म विश्वस्त छु ।’
‘शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालन गरौं ! अशान्ति, हत्या र हिंसाको विरोध गरौँ’ सन्देशमा भनिएको छ, ‘ बुद्ध जयन्तीको अवसरमा यही मेरो हार्दिक शुभ–कामना !’