‘नेतृत्वका लागि महिला एकता आवश्यक’

गोरक्ष समाचारदाता
दाङ, १२ साउन । नेतृत्व तहमा महिला सहभागीता बढाउनका लागि महिलाहरूका बिचमा एकता आवश्यक रहेको कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

देशव्यापी महिलावादी ‘अनुपम अभियान’ अन्तर्गत आइतवार घोराहीमा अन्तरपुस्ता महिलावादी मञ्चले आयोजना गरेको अभियानबारे छलफल कार्यक्रममा सहभागी महिलाले नेतृत्व तहमै महिला सहभागीताका लागि महिलाहरूको हस्तक्षेपकारी भूमिका हुन आवश्यक रहेकोमा जोड दिएका हुन् ।

राष्ट्रको हरेक तहमा महिला नेतृत्व विकास गर्नसके मात्र राज्यको समृद्धिमा टेवा पुग्ने भएकाले महिलालाई नेतृत्व तहमा पु¥याउने गरी लाग्नु पर्ने बताएका थिए । राज्यसँगै हरेक निकायका नेतृत्व तहमा महिलालाई पु¥याउनका लागि महिलावादी आन्दोलन आवश्यक रहेको भन्दै सहभागीले महिलालाई अघि बढाउनका लागि समय–समयमा तालिम, प्रशिक्षणसँगै राजनीतिक दलका नेतृत्वलाई सचेत बनाउन आवश्यक रहेकोमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति उपप्रमुख चेतना चौधरीले महिला सहभागितासँगै अधिकार पनि दिनु पर्ने बताइन् । संवैधानिक व्यवस्थाका कारण महिलालाई उपप्रमुख पदमा लग्ने गरिए पनि अधिकार दिन कन्जुसाइँ गर्ने गरिएको भन्दै उनले पदसँगै अधिकार पनि महिलालाई दिन पर्ने माग गरेकी थिइन् ।

कार्यक्रममा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले महिलाको सहभागितासँगै नेतृत्व तहमा पु¥याउनका लागि महिलाहरूका बिचमा एकता आवश्यक रहेको बताइन् । साथै उपप्रमुख डिसीले जनताको सेवा गर्ने व्यक्तिलाई जनताले निर्वाचनमा रुचाउने भएकाले जनताको सेवा गर्दै महिला दिदीबहिनी नेतृत्वका लागि तयार हुनु पर्ने बताइन् ।

तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले २०८४ मा हुने निर्वाचनका लागि महिलाले अहिलेदेखि नै तयारीमा जुट्नु पर्ने बताइन् । समाजमा गर्ने हरेक सकारात्मकको जनताले मूल्याङ्कन गर्ने भएकाले नेतृत्वका लागि इच्छुक महिलाले त्यस अनुसारको तयारी गर्नु पर्ने बताइन् ।

लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले वर्तमान संविधानले महिला सहभागितामा जोड दिएको भए पनि नेतृत्व तहमा पु¥याउन राजनीतिक तहहरू तयार नरहेको बताइन् । बबई गाउँपालिका उपाध्यक्ष बमकुमारी खड्काले नेतृत्व तहमा महिला पुग्नका लागि कठिन प्रतिष्पर्धा आवश्यक रहे पनि निरन्तर लागे सम्भव भएको बताइन् ।

महिलाहरू स्थानीय तहको उपप्रमुख पदमा पुगे पनि पुरुषवादी सोचका कारण भनेजति बजेट, कार्यक्रम र जिम्मेवादी नदिने प्रवृति रहेको भन्दै उपाध्यक्ष खड्काले महिलालाई हेर्ने दृष्टिकोण सकारात्मक हुन आवश्यक रहेको बताइन् ।

कार्यक्रममा दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा खड्का वलीले महिलालाई नेतृत्वमा पु¥याउनका लागि महिलाका बिचमा एकता सबैभन्दा ठूलो कुरा भएको भन्दै विचारमा फरक भए पनि महिलाका सवालमा एक हुन सक्नु पर्ने बताइन् । कार्यक्रममा राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले महिलाहरू आफ्नो अधिकार सुनिश्चित गर्नका लागि एकजुट हुनु पर्ने बताइन् ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पार्टीभन्दा बाहिर गएर भन्दा पनि पार्टीमै रहेर महिला अधिकारका लागि महिला एकता अनिवार्य रहेको भन्दै त्यसका लागि महिलाले महिलालाई बुझ्नु पर्ने बताइन् ।

निर्वाचनमा आ–आफ्नो पार्टीबाट प्रतिष्पर्धा गरे पनि महिलालाई उम्मेदवार बनाउनका लागि हरेक पार्टीका महिलाहरू एकजुट भएर लाग्नु पर्ने राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कमला जिसीले बताइन् ।

महिला र पुरुष एक रथका सामान दुई पाङ्ग्रा भए पनि वर्तमान समयमा परिवार, समाज र सरकारका कारण महिला दोस्रो दर्जाको नागरिक बन्नु पर्ने अवस्था भएको भन्दै माथि उठ्नका लागि महिला एकता आवश्यक रहेको बताइन् ।

कार्यक्रममा महिलाहरू सावित्रा राना, सुष्मा गिरी, निर्मला गौतम रेग्मी, लक्ष्मी आचार्य, सुशीला आचार्य, सिमा न्यौपाने, युवा करार, देवा डाँगीलगायतले आफ्नो विचार राख्दै महिलालाई नेतृत्व तहमा पु¥याउने महिलावादी अभियान सकारात्मक भएको भन्दै आ–आफ्नो ठाउँबाट सबैले सहयोग गर्ने बताएका थिए ।

कार्यक्रमको विषयवस्तुका बारेमा नेपाल महिला सामुदायिक सेवा केन्द्रकी संस्थापक अध्यक्ष बिमला योगीले कार्यक्रमको विषयबस्तुबारे जानकारी गराएकी थिइन् ।

कार्यक्रममा टेवा र नागरिक आवाज संस्थाकी संस्थापक एवम् अनुपम अभियानकी परिकल्पनाकार तथा नेतृत्वकर्ता रीता थापाले २०८० देखि २०८४ सम्मका लागि सुरुवात गरेको अभियान महिलालाई नेतृत्व तहमा पु¥याउनका लागि भएको भन्दै अब महिलाहरू नेतृत्व तहका लागि तयार हुनु पर्ने बताइन् । उनले त्यसका लागि आफ्नो नेतृत्व गर्ने क्षमताको विकाससँगै राजनीतिक दललाई दबाब सिर्जना गर्नका लागि अभियान अन्तर्गत २०८२ सालभरी खबरदारी वर्षका रूपमा मनाउन थालेको बताइन् ।

कार्यक्रममा नागरिक आवाज संस्था ललितपुरकी कार्यालय प्रमुख डा.सुसन रिसालले महिलाहरू घर, समाज हुँदै राष्ट्रको नेतृत्व तहमा प¥याउनका लागि अभियान निरन्तर रूपमा सञ्चालन हुने बताइन् । कार्यक्रमको सहजीकरण नेपाल महिला सामुदायिक सेवा केन्द्रका सूचना अधिकारी आर.के. शीतलले गरेका थिए । कार्यक्रममा महिला जनप्रतिनिधि, राजनीतिकर्मी, महिला अधिकारीकर्मी, पत्रकारलगायतको सहभागीता रहेको थियो ।