दाङमा ९० प्रतिशत धान रोपाई

अमरराज आचार्य

दाङ, १२ साउन । दाङमा हालसम्म ९० प्रतिशत धान रोपाई सकिएको छ । सिँचाइ पुगेका अधिकांश स्थानमा धान रोपाई सकिएको छ । सिँचाइ सुविधा नभएको स्थानमा रोपाई हुन बाँकी रहेको छ ।

समयमा प्राप्त मात्रामा पानी परेको भए हालसम्म जिल्लामा धान रोपाई सकिसकेको हुने थियो । देउखुरी क्षेत्रको अधिकांश क्षेत्रमा रोपाई सकिएको छ भने घोराही तथा पश्चिम दाङमा केही ठाउँमा रोपाई हुन बाँकी रहेको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थ विज्ञ एवम् सूचना अधिकारी कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिएका छन् ।

जिल्ला भरमा ९० प्रतिशत धान रोपाई सकिएको उनको भनाई छ । ‘सिँचाइ सुविधा पुगेको स्थानमा रोपाई सकिएको छ, सिँचाइ सुविधा नभएको केही स्थानमा रोपाई हुन बाँकी रहेको छ’ लामिछानेले भने । बाँकी रहेका स्थानमा पनि पानीले साथ दिएमा केही दिनमा रोपाई सकिने उनको भनाई छ ।

अहिलेसम्मको अवस्थाले उत्पादन नघट्ने कृषि अर्थ विज्ञ लामिछाने बताउँछन् । ‘साउनको महिना अझै बाँकी छ, साउन र भदौमा पानी परेमा उत्पादन घट्दैन’ उनले भने । अहिले रोपिएको धान पनि राम्रै देखिने गरेको उनको भनाई छ ।

दाङमा रहेको ७४ हजार तीन सय ३६ हेक्टर खेतीयोग्य क्षेत्रफलमध्ये धान खेती हुने क्षेत्रफल ३७ हजार दुई सय २५ हेक्टर हो । कृषि ज्ञान केन्द्रका अनुसार सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा आठ हजार ९७ हेक्टरमा धान रोपाई हुने गरेको छ । तुलसीपुर उपमहानगरपालिकामा ६ हजार सात सय ९५ हेक्टर धान खेती हुन गर्दछ ।

बबई गाउँपालिकामा दुई हजार एक सय ५० हेक्टर धान खेती हुने गर्दछ । बंगलाचुलीमा एक हजार एक सय ४३ हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ । दंगीशरण गाउँपालिकामा तीन हजार चार सय १२ हेक्टरमा धान खेती हुने गरेको छ । गढवा गाउँपालिकामा तीन हजार दुई सय ८० हेक्टर धान खेती हुने गरेको छ ।

यसैगरेर लमही नगरपालिकामा तीन हजार दुई सय ५० हेक्टर धान खेती हुने गरेको छ । राजपुर गाउँपालिकामा तीन हजार एक सय तीन हेक्टर क्षेत्रफलमा रोपाई हुने गरेको छ । राप्ती गाउँपालिकामा तीन हजार दुई सय ४५ हेक्टर क्षेत्रफलमा रोपाई हुने गरेको छ ।

शान्तिनगर गाउँपालिकामा दुई हजार सात सय ५० हेक्टर क्षेत्रफलमा रोपाई हुने गरेको छ । हरेक वर्ष जसो यस वर्ष पनि दाङमा भारत तथा चीनबाट आउने हाइब्रिड बिउ नै बढी रोपियो । तर, गत वर्षको तुलनामा हाईब्रिड धान लगाउने घटे भने उन्नत र स्थानीय जातका धान रोप्ने किसान बढेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार यस वर्ष हाइब्रिड बिउ ७० प्रतिशत, २० प्रतिशत उन्नत र १० प्रतिशत स्थानीय जातको धानको बिउको ब्याड राखिएको थियो । गत वर्ष ८० प्रतिशत हाइब्रिड बिउ, १० प्रतिशत उन्नत र १० प्रतिशत स्थानीय लोकल बिउको प्रयोग भएको थियो ।

केन्द्रका अनुसार यस वर्ष सबैभन्दा धेरै युएस ३१२, एमपी ३०३०, एचजेजी १०, जेके ५०१७, एआरआई ६४४४, उपज, राजा, क्याम्पीयन जातको हाइब्रिड धानको बिउ खपत भएको हो । त्यस्तै उन्नततर्फ हर्दिनाथ ६, सावाँ मन्सुली, रामधान, राधा–४, सुख्खा–१, २, ३, ४, गंगोत्री, सावित्रीलगायतका जात रोपिएको छ ।

त्यसैगरी दाङको स्थानीय रैथाने धानको रूपमा परिचित तिल्की र सिम्ठारो पनि रोपिएको छ । गत वर्ष जिल्लामा झण्डै पाँच सय मेट्रिक टन धानको हाइब्रिड बिउ तथा आठ सय मेट्रिक टन उन्नत तथा स्थानीय बिउ खपत भएको थियो ।

उत्पादन बढाउन कृषकले हाइब्रिड बिउको प्रयोग गर्ने गरेको बताउँछन् । थोरै क्षेत्रमा पनि धेरै उत्पादन हुने भएकाले हाइब्रिड बिउ प्रयोग गर्ने गरेको कृषक बताउँछन् । स्थानीय तथा उन्नत जातको बिउका लागि सरकारले प्रोत्साहन गरे पनि त्यसप्रति कृषकको आकर्षण देखिँदैन ।

धान रोपाइका लागि अनुदानको मल पाउन नसकेको कृषकले गुनासो गरेका छन् । धान रोपाईका लागि मल लिए पनि नपाउने गरेको कृषकहरूको भनाई छ । मल लिनका धेरै समस्या भएको एक कृषकले बताए ।

सरकारले अनुदानमा प्रदान गरेको मल पाउन समस्या भएको उनको भनाई छ । खेत गर्ने समयमा मलका लागि धेरै पटक धाउनु परेको उनले बताए । अनुदानको मल पाउन नसकेपछि व्यापारीबाट ल्याएर खेती गरेको उनी बताउँछन् ।