गोरक्ष समाचारदाता
तुलसीपुर, १२ साउन । दाङमा पछिल्लो समयमा आयुर्वेद उपचारमा बिरामीको आकर्षण बढ्दै गएको छ । आयुर्वेद चिकित्सा पद्धतिको प्रभावकारिता बढ्दै जाँदा आयुर्वेद उपचारमा विश्वास राखेर उपचार गर्न आउने बिरामीको चाप बढ्दै गएको राप्ती आयुर्वेद चिकित्सालयले जनाएको छ ।
राप्ती आयुर्वेद चिकित्सालय एक वर्षको अवधिका ४० हजार बढीले उपचार सेवा लिएको डाक्टर कैलाश न्यौपानेले जानकारी दिएका छन् । उपचार सेवा लिनेमा पुरुषभन्दा महिला धेरै छन् । सेवा लिएका ४० हजारमध्ये २६ हजार पाँच सय एकजना महिला छन् । चिकित्सालयका सूचना अधिकारी समेत रहेका डा. न्यौपानेले चिकित्सालयमा ओपिडी सेवा २६ हजार चार सय १० जनाले लिएका छन् ।
त्यसैगरी पञ्चकर्म अन्तर्गत कपिङ, फिजियो थेरापी, शिरोधारा, समेत गरी तीन हजार चार सय २६, ल्याव सेवा एक हजार सात सय २६, ज्येष्ठ नागरिक सेवा एक हजार दुई सय ३२, योग सेवा नौ सय १९, स्थनपान सेवा एक सय ३१ र नागरिक आरोग्य सेवामार्फत् ६ हजार दुई सय १० जनाले सेवा लिएका छन् ।
चिकित्सालयमा जचाउन आउने र औषधी लिनेको संख्या पनि बढ्दै गएको छ । अन्य औषधीको तुलनामा आयुर्वेद ‘साइड इफेक्ट’ कम हुने भएकाले आयुर्वेद औषधीको प्रयोग गर्नेको संख्या बढ्दै गएको हो ।
अस्पतालमा खास गरेर नसर्ने रोगका लागि निःशुल्क औषधी वितरण, सुत्केरी महिलाका लागि दुग्धवद्र्धक औषधी वितरण र ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम बढी प्रभावकारी भएको वरिष्ठ कविराज समेत रहेका सूचना अधिकारी डा.न्यौपानेले जानकारी दिए । बिरामीको चापले आयुर्वेदप्रति नागरिकको विश्वास बढ्दै गएको चिकित्सालयले जनाएको छ ।
डाक्टर न्यौपानेका अनुसार पेट दुख्ने, ग्यास्ट्रिक, गुदरोग, श्वासप्रश्वाससम्बन्धी रोग, बाथ, खाना नरुच्ने, रुघाखोकी, नसा, पायल्सलगायतका बिरामी पनि उपचारका लागि आउने गरेका छन् । ‘सुरु–सुरुमा आयुर्वेदतिर धेरै बिरामीको आक्रर्षण थियो बिचमा अलि विश्वास थिएन तर अहिले भने यसमा सबैको आकर्षण छ’ डा. न्यौपानेले भने ।
उनले आयुर्वेदको महत्व र यसका फाइदाको विषयमा जानकारी नहुँदा पनि केही बिरामी अस्पतालसम्म नआउने गरेकोमा हाल भने सबै किसिमका बिरामी अस्पतालमा आउने गरेको बताए ।
उनले आयुर्वेदको महत्व र यसको विकासका लागि सबैले पहल गर्नुपर्ने समेत बताए । ‘आयुर्वेद औषधी र उपचार सेवा अन्य उपचार पद्धति जस्तो होइन केही समय लाग्न सक्छ तर यसले साइड इफेक्ट कम स्वास्थ्यलाई धेरै फाइदाजनक छ’ डा.न्यौपानेले भने ।
त्यस्तै राप्ती आयुर्वेद चिकित्सालयमा ल्यारालाइसिसबाट थलिएका बिरामी धेरैले सेवा पाएको उनले बताए । हात खुट्टा नचल्ने मुख बाङ्गो भएका पञ्चकर्म मार्फत् फिजियो थेरापी सेवाबाट धेरै बिरामी सन्चो भएका छन् । यस सेवा घर आँगनमै पाउँदा धेरै ल्यारालाइसिसका बिरामीलाई राहत मिलेको छ ।