खेमराज रिजाल
बिजौरी, ११ साउन । छिमेकी जिल्ल बाँकेको कोहलपुर नगरपालिकाकी चेतकली सापकोटाले आफ्नो नाबालक कुशलको अनुहारमा श्रीवृद्धि देख्दै थिइन् । किनकि उनी आफ्नो नाबालक छोरा कुशललाई स्वर्णविन्दु प्राशन खुवाउन शुक्रवार साँझ नै कोहलपुरबाट तुलसीपुर बास आएकी थिइन् ।
कुशललाई स्वर्णविन्दु प्राशन खुवाएपछि उनको अनुहारमा पनि चमक देखिन्थ्यो । ‘धेरै भिड हुन्छ भनेर अघिल्लै दिन हामी बजारका साथीहरू शुक्रवारै बास बस्न तुलसीपुर आइपुगेका थियौँ, आज समयमै पालो पाइयो’, चेतकलीले गोरक्षलाई भनिन् ।
बस्ती नजिकका धेरै आमाहरूले दाङको बिजौरी अस्पतालमा ख्याउटे बच्चाहरूलाई स्वर्णविन्दु प्राशन खुवाएपछि स्वास्थ्यमा सुधार हुने भनेपछि आफूहरू पहिलो पटक यहाँ आइपुगेको उनको भनाइ थियो । उनले आफ्नो अढाई वर्षको छोरालाई पहिलो पटक स्वर्णविन्दु प्राशन गराइन् । उनलाई अस्पतालले आगामी भदौ ५ गते यसरी नै आउन सल्लाह दिएको छ ।
पश्चिम दाङको बबई गाउँपालिका–७ की वविता राना पनि आफ्नो बच्चालाई पहिलो पटक स्वर्णविन्दु प्राशन खुवाउन बिजौरी आइपुगिन् । छरछिमेकका धेरै आमाहरूले गाउँमा स्वर्णविन्दु प्राशनको राम्रो बयान सुनाएपछि ललितासँगै कोपिला र सङ्गीता पनि आफ्ना बालबच्चा लिएर शनिवार बिहानै अटो रिजर्भ गरेर बबई गाउँपालिकाबाट बिजौरी आइपुगेका थिए ।
घोराही उपमहानगरपालिका–६ की प्रसनी चौधरी पनि यसरी नै आफ्नो बच्चालाइ स्वर्णविन्दु प्रासन खुवाउन लाइनमा हतारोमा थिइन् । हस्याङफस्याङ गर्दै उनले आफ्नो बच्चाको नाम दर्ता गर्दै थिइन् । दंगीशरणकी गोमा चौधरीको पनि यस्तै हतारो थियो । दुई महिनाको शिशु लिएर सुत्केरी आमा स्वर्णविन्दु प्राशनको लाइनमा थिइन् ।
पछिल्लो समयमा फलदायी सावित भएपछि बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा आफ्ना नवजात शिशुलाई स्वर्णविन्दु प्राशन खुवाउनका लागि हजारौँ आमाहरू सहभागी हुन थालेका छन् । यस अघि पटक–पटक आफ्ना बच्चालाई स्वर्णविन्दु प्राशन खुवाएकाहरूले पनि सकारात्मक प्रतिक्रिया दिएका छन् ।
‘मेरो बच्चा लोसे थियो, ख्याउटे थियो, खानामा रुचि थिएन, जब दोस्रो मात्रा यो औषधी खुवाएँ, मेरो बच्चाको अनुहारै बदलियो, आनीबानी नै फेरियो । खानामा रुचि, खेलमा रुचि अनि घरीघरी रुने बानी पनि हरायो, खाएको पनि राम्रै पचाउँछ’, आफ्नो बच्चालाई तेस्रो पटक स्वर्णविन्दु प्राशन खुवाउन लाइनमा भेटिएकी तुलसीपुर उपमहानगरपालिका–६ की रोहिणी चौधरीले भनिन् । रोहिणीका अनुसार स्वर्णविन्दु प्राशन खुवाउन थालेपछि उनको बच्चाको शारीरिकसँगै मानसिक विकास राम्रो भएको उनलाई महसुस भएको छ ।
रोहिणी र वविताहरू त प्रतिनिधिपात्र मात्र हुन् । अहिले तुलसीपुर उपमहानगरपालिका बिजौरी स्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा स्वर्णविन्दु प्राशनमा सहभागी हुने बालबालिकाहरूको सङ्ख्या हरेक पटक गुणात्मक रूपमा वृद्धि भएको छ ।
यो कार्यक्रम सुरुआत गर्दाको दिन पहिलो दिनमा जम्मा ८७ बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाइएको थियो तर यो शनिवार मात्रै स्वर्णविन्दु प्राशनमा सहभागी हुने बालबालिकाको सङ्ख्या कम्तिमा पाँच हजार दुई सय बढी पुगेको छ । कतिपयले त नाम दर्ता गराउन नभ्याएरै पनि आफ्ना बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाएको अस्पताल प्रशासनले जनाएको छ ।
बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयका सूचना अधिकारी वसन्त केसीले दिएको जानकारी अनुसार अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा २६ हजार छ सय ७१ बालबालिकाले यो सेवा लिएका थिए । यो वर्ष भने साउन महिनामा मात्रै पाँच हजार दुई सय बढीले सेवा लिएका छन् ।
आयुर्वेद चिकित्सा पद्धति अनुसार पर्ने पुष्य नक्षेत्रमा स्वर्णविन्दु प्राशन खुवाइन्छ । यो धेरैजसो महिनामा एक पटक पर्दछ तर कुनै महिनामा भने दुई पटकसम्म पर्दछ । बच्चालाई कहिले खुवाउने भन्ने मिति अस्पतालले सबै सहभागी अभिभावकलाई जानकारी गराउने गरेको छ । स्वर्णविन्दु प्राशनको कार्डमा पनि यो तिथिमिति उल्लेख हुन्छ ।
आयुर्वेद चिकित्साका अनुसार ग्रम्हि घिउ, शुद्ध मह र स्वर्ण भस्म मिश्रण गरिएको एक प्रकारको तत्वलाई स्वर्णविन्दु प्रासन भनिन्छ । एउटा ड्रपरको माध्यमबाट प्रत्येक बालबालिकालाई दुई थोपाका दरले स्वर्णविन्दु प्राशन दिइन्छ ।
यसको सेवनले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने, खानामा रुचि हुने, पाचन प्रक्रियामा सहज हुने, बालबालिकाको शारीरिक तथा मानसिक विकासमा पनि सहयोगी हुने भएकाले आयुर्वेद चिकित्सामा स्वर्णविन्दु प्राशनलाई महत्व दिइँदै आइएको छ ।
पश्चिमा मुलुकमा यो पद्धति धेरै अघि सुरु भए पनि नेपालमा भने २०७९ सालमा प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीका तत्कालीन निमित्त निर्देशक डा सन्तोष ठाकुरले यो सेवाको सुरुआत गरेका थिए । जुन नेपालमै पहिलो पटक थियो । हाल आएर यो सेवा प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा पनि सुरु भएको छ भने जिल्ला आयुर्वेद चिकित्सालय चितवनले पनि यो सेवा भर्खरै सुरु गरेको बताइएको छ । अब यो सेवालाई हरेक आयुर्वेद उपचार केन्द्रमार्फत् विस्तार गर्ने नीति आयुर्वेद विभागले लिएको छ ।
बिजौरी अस्पतालले यो कार्यक्रममा सुरुको वर्ष १५ वर्षसम्मका बालबालिकालाई सहभागी बनाएपछि अत्यधिक भिडका कारण अहिले पाँच वर्ष मुनिका बालबालिकालाई मात्र यो कार्यक्रममा सहभागी बनाइन थालेको सूचना अधिकारी केसीले बताएका छन् ।
सुरुआतीमा अस्पताल विकास समितिकै कार्यक्रमबाट यो सेवा सुरुआत गरिएपछि यसमा सहभागिता अत्यधिक हुन थालेपछि लुम्बिनी प्रदेश सरकारले स्वर्णविन्दु प्राशन कार्यक्रममा केही बजेट विनियोजन गर्न थालेको अस्पतालले जनाएको छ । यद्यपि अत्यधिक भिड व्यवस्थापन गर्न भने अस्पताल व्यवस्थापनलाइ चुनौती देखिएको सूचना अधिकारी केसीले बताएका छन् ।
स्वर्णविन्दु प्राशन खुवाउनका लागि अस्पतालका चिकित्सकदेखि कार्यालय सहयोगीसम्म खटिएका छन् । तीन स्थानमा नाम दर्ता गर्नका लागि कम्तिमा १० जना खटिएका देखिन्छन् भने स्वर्णविन्दु प्राशन खुवाउनका लागि पाँच जना बढी खटिनुपर्ने अवस्था छ । स्वर्णविन्दु प्राशन खुवाउने दिन बिजौरी क्षेत्रमा सार्वजनिक यातायात व्यवस्थापनमा समेत समस्या देखिने गरेको स्थानीय व्यवसायीले बताएका छन् ।
अस्पतालको मूलगेटदेखि झन्डै एक किलोमिटरसम्म लाइन लाग्ने गरेको स्थानीय व्यवसायी मुकेश वलीले बताएका छन् । यो भिड व्यवस्थापनका लागि स्थानीय क्लब तथा संघसंस्थाले स्वयम्सेवक परिचालन गर्न आवश्यक रहेको उनले बताए । अबको पुष्य नक्षेत्र भदौ ५ गते, असोज १ गते, असोज २९ गते, कात्तिक २६ गते र मङ्सिर २३ गते परेको छ । अरू समय तालिका भने अस्पतालले पछि सार्वजनिक गर्ने बताएको छ ।