केपी सुवेदी
नेपालको राजनीतिमा हुनुपर्ने भन्दा नहुनुपर्ने नियम, कानून र परम्परालाई संस्थागत गर्ने अनौठो चरित्रको विकास हुन थालेको छ । के गर्नुहुन्छ र के गर्नैहुन्न भन्नेसम्म पनि सत्ताको अन्धोपनाले ओझेल पारेर सिध्याइसकेको छ । अब अझै आँखा खोलेर हेर्न ढिलो गर्ने हो भने भोलिका दिन अकल्पनीय अप्ठ्यारा हुने कुरा पक्का छ । अप्ठ्यारोको धेरै प्रवाह गर्ने चेतना हाम्रो नेतृत्वमा अहिलेसम्म देखिएको छैन । सत्ताउन्मादमा आउने गरेका विकृति र अशोभनीय क्रियाकलाप त्यति सजिलै त्याग्न खोजेको देखिँदैन ।
लोकतन्त्रको स्थापना, पुनःस्थापनामा हो या सशस्त्र विद्रोहमा होस् करोडौँको त्याग र हजारौँको बलिदानबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रामा सङ्घर्षको कीर्तिमान कायम गरेको नेतृत्व पनि सत्तामा पुगेपछि यतिसाह्रै अन्धो र विचारधारा स्खलित हुँदारहेछन् भन्ने उदाहरण नेपाल नै बन्नुपर्ने विडम्बना देखिएको छ ।
डा बाबुराम भट्टराई प्रधानमंत्री हुँदा चलेको पिर्के–सलामीदेखि विद्या भण्डारी राष्ट्रपति हुँदा गरिएको रेडकार्पेटमाथि पिर्काको चर्चा केवल रमाइलो मात्र गरिएको थियन, त्यो सबै क्रियाकलाप त्यही अनवरत एवम् अथक सङ्घर्षहरुको ठट्टामा उडाउने कार्य थियो । सडकमा सवारी चलाउँदा यातायात ठप्प पारेर उहिलेका महाराजको सवारीको झल्को दिने दृश्य जनताले देखेर नाजवाफ हुनुपरेको तीतो अनुभव अझै ताजै छ । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको आवाजलाई सुनेर त्यसलाई परिवर्तन गर्ने आँट गरे पनि अरु धेरै विवादास्पद निर्णयले आलोचित छन् ।
नेतृत्वहीन चरित्रका पात्रहरुले नेतृत्व गर्दा देखिएको अपत्यारिला दृश्यहरु कति बहसमा संसद्को ढोकाबाट छिरेर विद्याको माध्यमबाट कानूनको धारामा समेटिएका पनि देखिएका छन् तर अधिकांश यस्ता विकृति सडकमा बहस गर्दै जनताले खबरदारी गर्नुपर्ने तहमा अल्झिने गर्छन् । यस्ता विकृति नदेखेझैँ वा थाहै नभएझैँ गर्नु व्यक्तिको मौलिक तथा निजी चरित्र हुनसक्छ ।
कुनै व्यक्ति उसको हैसियतभन्दा माथि पुग्यो भने उसको विवेकीय क्षमतामा स्खलन आउन सक्छ । किनभने नपाउने पाएको सम्मान स्याहारसम्भार उसको बसमा नहुन सक्छ । खास परिवारमा जन्मेकै भरमा राजकीय पद प्राप्त गर्ने राजतन्त्रात्मक शासनको कुरा यहाँ गर्नु सान्दर्भिक नहुन सक्छ ।
किनकि त्यहाँ शासकको कुनै प्रकारको योग्यता वा दक्षताको परीक्षण नगरिकनै दिइने सत्ताको बागडोर कुशको ब्राह्मण राखेर आफैँ मन्त्र पढेझैँ हो तर जनताको बिचबाट राजनीतिक चेतनाले भरिएको र सङ्घर्षका थुप्रै ओरालीउकाली पार गर्दै भूइँमानिसहरुको पङ्क्तिबाट उनीहरुको सुखदुखमा होस्टेमा हैसे गर्दै नेतृत्वदायी भूमिका सफलतापूर्वक निर्वाह गरेको व्यक्तिले आफ्नो मुलुकको बारेमा अलिकति बढी र संसारको बारेमा कम्तिमा भए पनि जानेको र बुझेको हुन्छ । उसले शासनको कुन भार थेग्न सक्छ भन्ने परीक्षणबाट खारिएको हुन्छ, हुनुपर्छ ।
मुलकमा गणतान्त्रिक लोकतन्त्रको सुरुवात भएपछि संविधानले निर्दिष्ट गरेको व्यवस्था नुसार संसद्ले एकजना विशिष्टता र राजनीतिक ज्येष्ठता हेरेर राष्ट्रपतिमा निर्वाचिन गर्नुगर्छ । यसरी निर्वाचित राष्ट्रपति संवैधानिक राष्ट्रपति हुन्छ । जसको शासनमा प्रत्यक्ष संलग्नता हुँदैन । कार्यकारीले तयार गरेको नियम, कानून र कार्यविधिलाई स्वीकृति प्रदान गर्ने गर्छ ।
हाम्रो शासन प्रणाली संसदीय भएकोले संसदीय प्रणालीमा संसद्ले प्रधानमन्त्रीलाई कार्यकारी प्रमुख मानेको हुन्छ । जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था संविधानले गरेको पाइन्छ । विश्वका केही मुलुकमा यस्तो व्यवस्था छ र हाम्रोमा पनि बेलाबखतमा यसै गर्नुपर्छ भनेर आवाज उठिरहेको पाउँछौँ । अर्को अध्यक्षात्मक व्यवस्था हुन्छ ।
जहाँ राष्ट्रपति जनताको मतद्वारा वा निर्वाचनमण्डलद्वारा चुनिन्छ र कार्यकारी प्रमुख हुन्छ । हाम्रो संविधान २०७२ अनुसार संसदीय सर्वोच्चताको मर्म अनुसार नेपालको प्रथम राष्ट्रपति डा रामवरण यादव निर्वाचित भएका थिए । त्यसपछि विद्यादेवी भण्डारी दुई कार्यकाल र हाल रामचन्द्र पौडेल नेपालको राष्ट्रपति छन् । यहाँसम्म आइपुग्दा राष्ट्रपति र उपराष्ट्रपति को, कस्ता भए र कस्ता हुनुपथ्र्यो ? यसको खासै चर्चा र लेखाजोखा गर्ने गरिँदैन । कारण उनीहरु सबै राजनीतिक सङ्घर्षको मैदानबाट आएका छन् ।
राष्ट्रपति, उपराष्ट्रपति सम्बन्धमा पछिल्ला दिनमा अलि बढी चर्चा बाक्लिँदै छ । यसका कारण स्पष्ट छ कि उनीहरु विवादमा आउने तरिकाले राजनीतमा आउँदैछन् । साधारणतः यस्ता सम्मानित पद राजनीतिक यात्राको शिखरमा पुगेर प्राप्त गर्नुपर्ने मान्यता संसारकै परम्परा छ र त्यहाँ पुगेर उसले राजनीतिक जीवनलाई विश्राम दिन्छ । किनभने त्यो भन्दा माथि राजनीतिको स्थान छैन भन्ने सर्वस्वीकार्य सिद्धान्त जस्तै छ ।
सर्वोच्च पद भनेर मान्दामान्दै पनि विवादमा तानिएका, चरम महङ्खवाकाङ्क्षी चरित्र प्रदर्शन गरेका निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र त्यही अवधिमा उपराष्ट्रपति बनेका नन्दबहादुर पुन फेरि पनि पार्टी राजनीतिमा विस्तारै बढिरहेको अराजकता र त्यसको उच्च तहको नेतृत्वमा बढेको अलोकतान्त्रिक चरित्रको निन्दा गर्ने लोकतान्त्रिक अधिकारमाथि अङ्कुश लगाउने सर्वसत्तावादी सोचले आन्तरिक विद्रोहको तयारी गर्ने निश्चित छ ।
किनभने झन्डै पौनेशताब्दी लामो सङ्घर्षले विद्रोही चेत एउटा संस्करण अपराजित भइसकेको छ । नेपाली राजनीतिक मञ्चमा अन्यत्रभन्दा केही विरलै दृश्यहरु देखिन थालेका छन् । नेकपा एमालेभित्र केपी ओली सर्वसत्तावादको हाबी हुँदै गर्दा पार्टीभित्र चुनौती बढ्ने सङ्केत विद्या भण्डारीको राजनीतिक पुनरागमनले दिन खोजेको छ ।
माधव नेपाल, भीम रावललगायतका किनारा लागेका हिजोका पात्रभन्दा फरक तर आज देखिएको केही अनौठो पनि हुनसक्छ भने विद्याको आगमन केपी विद्याको भित्री योजनाबाट जन्मेको एउटा नाटकीय परिदृश्य हुनसक्छ । जहाँसम्म सर्वोच्च पदबाट अवकाश भएको व्यक्तिको विषय छ, यस्ता व्यक्ति नदोहरिनु नै त्यस्ता पदहरुको गरिमा बचाइराख्ने प्रशंसनीय परम्परा हो तर व्यक्तिको स्वतन्त्रता संवैधानिक बकबारेमा टिप्पणी सान्दर्भिक नहुन सक्छ । जे होस नेपालको राजनीतिको विशेषता सम्झँदा उपयुक्त हुनसक्छ ।