गोरक्ष समाचारदाता
तुलसीपुर, ११ साउन । रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा तुलसीपुर–६ स्थित शिखर कोलोनी टोलमा शनिवार वृक्षारोपण गरिएको छ ।
रोटरी क्लब अफ तुलसीपुर सिटीका कार्यवाहक अध्यक्ष देवेन्द्र केसीको अध्यक्षतामा क्लबको वार्षिक कार्यक्रम अन्तर्गत वृक्षारोपण गरिएको हो । वृक्षारोपण अभियानको उद्देश्य सहरी क्षेत्रमा बढ्दो धुलो, धुवाँ र प्रदूषण नियन्त्रण गर्नु, हरियाली विस्तार गर्नु, जलवायु परिवर्तनको असर घटाउनु तथा वातावरणीय सन्तुलन कायम गर्नु रहेको क्लबले जनाएको छ ।
अध्यक्ष केसीले वृक्षारोपण रुख रोप्ने काम मात्र नभई समाज, वातावरण र भविष्यका लागि सन्देश दिने सकारात्मक पहल भएको बताए । उनले स्वस्थ वातावरण, सुरक्षित जीवन र हरियाली पृथ्वीका लागि अभियान आवश्यक रहेको कुरामा जोड दिए ।
विभिन्न प्रजातिका सय बढी बिरुवा रोपिएको छ । कार्यक्रमको सहजीकरण सचिन पौडेलले गरेका थिए । कार्यक्रममा क्लबका सदस्यहरू, स्थानीय तथा युवाको सहभागिता रहेको थियो