अन्तर विद्यालय खुला चित्रकला प्रतियोगिता

गोरक्ष समाचारदाता
दाङ, ११ साउन । शान्ति निकेतन विद्यालयले आयोजना गरेको अन्तर विद्यालय खुला चित्रकला प्रतियोगितामा ज्ञानमाला एकेडेमी घोराही–१६ सर्राकी स्मारिका चौधरी प्रथम भएकी छन् । प्रकृति र संरक्षण शीर्षकमा प्रतिस्पर्धा गरेका २१ विद्यालयका ४२ प्रतिस्पर्धी विद्यार्थीलाई उछिन्दै चौधरी प्रथम भएकी हुन् ।

विद्यार्थीको सिर्जनशील क्षमतालाई प्रतिस्पर्धाका माध्यमबाट प्रष्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा गोर्खा माध्यमिक विद्यालयका अमृत बुढा मगर द्वितीय भएका छन् । यसैगरी लिटिल एन्जल स्कुल घोराहीका मानव दनवार तृतीय र राजविद्या पाठशालाका अश्विन शाह र शुभसन्देश शिक्षा सदनका बादल विक सान्त्वना भएका छन् ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष यादव गिरीको अध्यक्षता एवम् नागरिक समाज दाङका सल्लाहकार चन्द्रराज पन्तको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि पन्तले विद्यार्थीका अन्तरनिहित क्षमताको प्रष्फुटन गर्न प्रतियोगिता महत्वपूर्ण रहेको बताए ।

प्रतियोगिताको आयोजना गरी विद्यार्थीलाई सिर्जनशील बनाउन र उनीहरूको सिर्जनात्मक क्षमतालाई थप परिस्कृत गर्न शान्ति निकेतन विद्यालयले निर्वाह गरेको भूमिकाप्रति पन्तले प्रशंसा गरे ।

प्रतियोगिताका विजेतालाई ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो । यसैगरी प्रतियोगिताका सहभागी विद्यालयलाई सहभागिताको प्रमाणपत्र वितरण गरिएको थियो । विद्यालयकी प्राथमिक तह संयोजक यशोदा भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक उर्मिला डाँगीले गरेकी थिइन् ।