लकडाउनका कारण जताततै ठप्प छ । मानिसहरुको आवतजावत, चहलपहल बन्दप्रायः छ । यो बेलामा स्वास्थ्य संस्थामा आउने बिरामीको संख्यासमेत घटेको छ भने मृत्युदर पनि घटेको सामान्य आँखाले देख्न सकिन्छ । काठमाडौंको आर्यघाटमा लाश जलाउने पालो कुर्नुपरेको तीतो अनुभव बोकेकाहरु अहिले त्यहाँको सन्नाटा देख्दा आश्चर्यचकित छन् । यहीँ दाङका बिभिन्न घाटहरुमा समेत यो संख्यामा उल्लेख्य कमी आएको देख्न सकिन्छ ।
लकडाउनमा किन घट्यो मृत्यु र बिरामीको संख्या ? यो जिज्ञासा हामीले दाङमा बसेर लामो समयदेखि स्वास्थ्य सेवा पु¥याउँदै आएका डा.हिमकर ज्ञवालीसँग राखेका थियौं ।
मानिसहरुको हिँड्डुल छैन । मैले काम गर्ने अस्पताल (मितेरी अस्पताल पुल्चोक, घोराही)मा म दिनहुँ गएको छु तर, त्यहाँ आउने बिरामीको संख्या घटेको छ । अन्यत्र पनि घटेको छ । घोराहीका म जाने गरेका सबै क्लिनिकहरुमा पनि पुग्छु । त्यहाँ पनि त्यस्तै छ । बिहान फाटफुट बिरामी आए पनि बेलुका त ठप्पझै हुन्छ ।
यसको कारण छ । यसलाई त्यति अस्वाभाविक मान्न पनि हुँदैन । पहिलो कुरा त लकडाउनले गर्दा सामान्य अबस्थामा जाँच गराइहालम भनेर आउनेको संख्या ह्वात्तै घट्ने नै भो । त्यसबाहेक अलि–अलि बिरामी देखिएकाहरुले फोनबाट परामर्श लिने पनि गरिराख्नुभएको छ । लकडाउनका शुरु–शुरुका दिनमा मेरो फोनमा पनि दैनिक २०/२५ जना बिरामीहरुले फोन गरेर परामर्श लिनुभएको थियो । आजभोलि त्यो संख्या घटेको छ । मसँग जस्तै अरु चिकित्सकहरुसँग पनि त्यसरी नै परामर्श लिइयो होला । यसले पनि ठूलो संख्या अस्पताल, क्लिनिक आउन परेन, अनि सुनसान लाग्ने नै भयो ।
प्रकृति यतिबेला स्वच्छ छ । यो अबस्था पनि मानव स्वास्थ्यका लागि अनुकुलको अबस्था हो । अहिले कोरोनाको त्रासले भनौं, तीनवटा बानी बसेको छ हामीसबैमा । एउटा हो हात धुने, अर्को मास्क लगाउने अनी तस्रो चाँही बजारवाट ल्याएको खानेकुरा सबै राम्रोसंग पखाल्ने । यी कुराहरुले कोरोना मात्र हैन, अन्य सबै प्रकारका व्याक्टेरियाहरुवाट हामीलाई बचाइरहेको छ । सरुवा रोगहरु सर्न पाइरहेका छैनन् यी कारणहरु पनि बिरामीको संख्या घटाउने सन्दर्भमा महत्वपूर्ण देखिएका छन् ।
यतिमात्र हैन, कारणहरु अरु पनि छन् । प्रायः गाउँ–गाउँमा औषधि पसलहरु छन् । बिक्रेतामा पनि औषधि र रोगको बारेमा केही ज्ञान हुन्छ र बिरामीले पनि अनुभवका आधारमा वा चिकित्सकको सल्लाहमा औषधि मागेर लिने गर्नुभएको पाइएको छ । मसँग फोन गरेर औषधि सोध्नेहरुलाई मैले औषधि पसलमा गएर मलाई फोन गर्न भन्ने गरेको छुँ । त्यसो गर्दा सिधै पसलेलाई औषधिको नाम भन्न पाइयो र सही औषधि उहाँहरुले पाउने हुनुभयो । सिधै बिरामी वा आफन्तलाई टिपाउँदा नबुझ्ने र गलत टिप्ने खतरा पनि हुन्छ ।
अर्को महत्वपूर्ण कुरा के पनि हो भने मानिसहरु घरमै छन् । आहार–बिहारमा नियन्त्रण छ । अनावश्यक, अखाद्य तथा मदिराजस्ता हानिकारक खानपिनमा धेरै नियन्त्रण आएको छ । समयमै खाने, समयमै सुत्ने । केरेसाबारीमा व्यस्त रहेन, समय पासका लागि भनेर गरिने शारीरिक व्यायाम गर्ने संस्कार बढेको पनि पाइएको छ । यी सबै गतिविधिले मानव स्वास्थ्यलाई धेरै फाइदा पुराउछ । अहिले त्यो स्वयं सबैले महसुस गरिरहनुभएको होला भन्ने लाग्छ । नियमित र स्वास्थ्य जीवनशैलीले पनि मानिसहरुमा रोगसँग लड्ने क्षमताको विकास भएको छ । मानसिकरुपमा पनि धेरै सहज अनुभव हुन्छ यस्तो जीवनशैलीले ।
मेरो आफ्नो अनुभव भन्नुहुन्छ भने मैले भनेको यो कारणले धेरै बिरामीहरुको रक्तचाँप(ब्लडप्रेसर) नियन्त्रणमा छ । तनाव नभएपछि र नियमित तथा एकनासको जीवनयापनले यो कुरामा फाइदा पु¥याएको छ । तर एउटा अर्को अनुभव पनि तपाईंलाई सुनाऔ– आर्थिक कारोबार गर्नेहरु जस्तो व्यापारी बर्ग भए उनीहरुलाई भने केही तनाव बढेको देखियो । प्रेसर समेत बढेको पाइयो । रोग लाग्नै नदिने गरी जीवनशैली शुरु भएपछि मृत्युदर पनि स्वाभाविकरुपमा घट्ने नै भयो । समयमै खानपिन गर्ने, पोषिलो खाने कुराहरु खाने, परिवारका सबै सँगै बस्दा मानसिकरुपमा ‘फ्रेस’ अनुभव गर्ने अवस्था लकडाउनले दिएको छ । यो कारणले बृद्धबृद्धाहरुमा समेत रोगसँग लड्ने शक्ति बढ्छ । यसले पनि मृत्युदर घटाउन मद्दत गरेको हो ।
अर्को कुरा, दुर्घटनामा परी मृत्यु हुनेको संख्या लगभग शून्यमा झरेको छ । सवारी साधन ठप्प छ । दुर्घटनाका अन्य कारणहरु पनि त्यति सक्रिय छैनन् । मैले पाएको जानकारी अनुसार गत चैत महिनामा लकडाउनभन्दा पहिले अर्थात चैत १ देखि १० गतेसम्म दाङमा मात्रै ८ वटा दुर्घटना भएका थिए । जसमा ५ जनाको मृत्यु भएको थियो । ती दुर्घटनाहरुमा ६ जना घाइते हुनुभएको थियो । तर लकडाउनको पूरा अवधिमा दुईवटा दुर्घटना भएका छन् त्यसमा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते हुनुभएको छ । यो आँकडाले पनि बिरामीको संख्या र मृत्युदर घट्नुको कारण बुझ्न मद्दत गर्दछ ।
कोरोनाबाट बच्न दूरी बनाउनैपर्छ । हाम्रो छिमेकी नेपालगञ्जमा संक्रमितको संख्या बढ्न थालेको पाइयो । हामी यहाँ सतर्क हुनपर्छ नै । परीक्षणका लागि आवश्यक सामग्रीको तयारी सरकारी पक्षबाट हुन जरुरी छ भने हामी नागरिकहरु पनि जति सकिन्छ सामाजिक दूरी बनाएरै गतिविधि गर्नुपर्छ । लकडाउनको पालना सबैले गर्नैपर्छ ।
प्रस्तुती : विपुल पोख्रेल