अमरराज आचार्य
दाङ, ८ साउन । घोराही उपमहानगरपालिकाले दिसाजन्य फोहरकोे व्यवस्थित रूपमा व्यवस्थापन गर्ने भएको छ । घोराही उपमहानगरपालिकाले नगरभित्रको मानव मलमुत्रको उचित व्यवस्थापनका लागि ट्रिटमेन्ट प्लान्ट सञ्चालनका लागि नेपाल नगरपालिका संघबिच सम्झौता गरेको छ । लुम्बिनी प्रदेशको घोराही उपमहानगरपालिकासँग सम्भौता गरिएको हो ।
नगर प्रमुख नरुलाल चौधरी र नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुङ्गानाबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दिसाजन्य लेदोलाई उचित व्यवस्थापनका लागि प्लान्ट सञ्चालन गर्ने गरी डिपिआर समेत निर्माण भएको छ । यसै क्रममा प्राविधिक सहयोग गर्ने गरी सम्झौतामा सहकार्य गर्ने (युएन हेविटेड) संयुक्त राष्ट्र सङ्घीय मानव बसोवास कार्यक्रमका प्रतिनिधिबिच छलफल गरिएको छ ।
अहिले उपमहानगरपालिकाको ल्यान्डफिल साइड रहेको क्षेत्रमा दिसाजन्य फोहोर व्यवस्थापन गरिने घोराही उपमहानगरपालिका सरसफाइ व्यवस्थापन शाखा प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिए । अहिले पनि घोराही उपमहानगरपालिकाले मानव मलमूत्रको असुरक्षित विसर्जनबाट हुन सक्ने सम्भावित स्वास्थ्य जोखिमलाई कम गर्न मानव मलमूत्र व्यवस्थापन गर्दै आएको शाखा प्रमुख अधिकारीले बताए ।
‘हामीले गरेको काम व्यवस्थित भए पनि अहिले सुरु हुन थालेको जस्तो वैज्ञानिक रूपमा हुनसकेको छैन’, उनले भने । मलमूत्र व्यवस्थापन परियोजना सञ्चालन भएपछि दिसाजन्य फोहोर यवस्थापनका लागि उपमहानगरपालिकालाई सहज हुने सरसफाइ व्यवस्थापन शाखा प्रमुख अधिकारी बताउँछन् ।
दिसाजन्य फोहोर वैज्ञानिक रूपमा व्यवस्थापन गर्दा पानी फिल्टर गरिने र मल बनाइने उनको भनाइ छ । फोहरलाई होहरमा बनाउँदा वातावरणीय हिसाबले उपयुक्त हुने उनी बताउँछन् । उनका अनुसार यसरी बनाइएको मल बिक्री गरेर आम्दानी लिन सकिने भएको छ ।
नगरपालिकाले आफ्नै स्रोत साधनबाट व्यवस्थापन गरी नगरक्षेत्रको मानव मलमूत्रलाई विगतदेखि नै व्यवस्थापन गर्दै आएको थियो । मानव मलमूत्रको चुहावट भएर खानेपानीको स्रोतमा मिसिन गए भयावह स्थिति सिर्जना हुनसक्ने भएकाले नगरपालिकाले समयमै व्यवस्थापन गर्न थालेको प्रमुख अधिकारीले बताए ।
‘हामीसँग व्यवस्थित तरिकाको मानव मलमूत्र प्रशोधन केन्द्र त छैन तैपनि हामीसँग उपलब्ध जग्गा, जनशक्ति, सिप र प्रविधिको उपयोग गरेर सकेसम्म व्यस्थापन गर्ने प्रयास गरेका छौँ’, उनले भने ।
निजी क्षेत्रका ट्याङरले मलमूत्र जथाभावी विसर्जन गर्दा खानेपानीको स्रोत प्रदूषित हुन सक्छ, व्यवस्थित प्रशोधन केन्द्र निर्माण नभएसम्म निजी क्षेत्रलाई मलमूत्र विसर्जन गर्ने अनुमति नदिएको उनले बताए । हाल नगरपालिकासँग भएको छ हजार लिटर क्षमताको एउटा ट्याङरले सेवा उपलब्ध गराउँदै आएको छ । परियोजना सकिएमा थप ट्याङकर आवश्यक पर्ने उनी बताउँछन् ।
मानव मलमूत्र प्रशोधन केन्द्र निर्माणका लागि वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को प्राविधिक सहयोगमा डिपिआर तयार गरी खानेपानी तथा ढल व्यवस्थापन विभागमा पेस गरिसकेको उनले बताए । उपमहानगरपालिकाले विगतका वर्षमा प्रशोधन केन्द्र निर्माणका लागि ३५÷३६ लाख रुपैयाँ विनियोजन गरेको र यसले नपुग्ने भएपछि सङ्घीय सरकारमा डिपिआर पेस गरेको जनाएको छ ।
प्रशोधन केन्द्र निर्माण गर्न करिब चार करोड रुपैयाँ आवश्यक पर्ने उपमहानगरले बताएको छ । स्रोत सुनिश्चितता भए एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रभित्रै प्रशोधन केन्द्र निर्माण गरिने बताइएको छ । ‘हामीलाई जग्गाको समस्या छैन, उपमहानगरपालिकालाई भोगाधिकार प्राप्त जग्गाभित्रै प्रशोधन केन्द्र बनाउने ठाउँ छ’, शाखा प्रमुख अधिकारीले भने ।
पालिकाहरूले दिसाजन्य लेदो उठाए पनि एक स्थानमा लगेर थुपार्ने काम गरिरहेका छन् । जसका कारण वातावरण प्रदूषण हुनुका साथै पानीको स्रोतसँग मिसिएर प्रदूषण हुने देखिन्छ ।
युएन ह्याबिट्याटका राष्ट्रिय प्रोफेस्नल अफिसर सुधा श्रेष्ठले नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरूको विस्तार कार्यक्रम अन्तर्गत विशेष गरी चारवटा कम्पोनेन्टमा प्राविधिक सहयोग हुने जानकारी दिइन् ।
वाटर एड नेपाल, नेपाल नगरपालिका संघ, खानेपानी मन्त्रालय र खानेपानी तथा ढल व्यवस्थापन विभागको समन्वयमा नगरस्तरीय मानव मलमूत्र व्यवस्थापनसम्बन्धी कानूनी औजार निर्माण गर्ने, मानव मलमूत्र व्यवस्थापनसम्बन्धी तथ्याङ्क सङ्कलन तथा सुदृढीकरण गरी एन वासमा अद्यावधिक गर्ने, नगरव्यापी समावेशी सरसफाइसम्बन्धी क्षमता विकास गर्न विभिन्न तालिम सञ्चालन गर्ने र संस्थागत प्रारूप तयार गर्नेलगायतका प्राविधिक सहयोग हुने उनको भनाइ छ । गेट्स फाउन्डेसनको वित्तीय व्यवस्थापनमा सञ्चालित यो कार्यक्रमको युएन ह्याबिट्याट कार्यकारी निकाय हो ।
समझदारीपत्रको अवधि पनि परियोजनाको समयावधि २०२६ दिसेम्बर (२०८३ पुस)सम्म रहने भएको छ । सम्झदारीपत्रमा नगरस्तरीय दिसाजन्य व्यवस्थापनसम्बन्धी कुनै एक ऐन वा नियमावली वा योजना, नीति, कार्यनीति दिसाजन्य लेदी व्यवस्थापनसम्बन्धी तथ्याङ्क सङ्कलन गरी अद्यावधिक गरिनु पर्ने, सरसफाइसम्बन्धी कार्यसम्पादन सूचक तथा मानवहरूको तथ्याङ्क या अवस्था सङ्कलन गरी अद्यावधिक गर्ने, पालिकामा दिसाजन्य लेदो प्रशोधन भएको अवस्थामा ती केन्द्रबाट प्रशोधित उत्सर्जित फोहोर पानीको तथ्याङ्क सङ्कलन गरी अद्यावधिक गरिने भएको छ ।
पालिकाहरूलाई नगरव्यापी समावेशी सरसफाइ तथा दिसाजन्य व्यवस्थापनसम्बन्धी विभिन्न अभिकरण तालिम तथा अन्य क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने, नेपाल नगरपालिका संघले सम्पूर्ण कार्यक्रमको अनुमान गरी आवश्यक सुझाव नगरपालिकालाई दिने सम्झौतामा भनिएको छ ।