दुध गर्मीमा अभाव, जाडोमा प्रशस्त

बालाराम खड्का
तुलसीपुर, ८ साउन । जिल्लामा दुधको अभाव देखिन थालेको छ । गर्मी मौसममा दुध उत्पादन घट्नुसँगै माग यथावत रहने भएकाले दुधको अभाव देखिने गरेको हो ।

त्यसै पनि जिल्लामा पर्याप्त मात्रामा दुध उत्पादन नहुँदा स्थानीयले चाडबाड, पूजापाठ र आवश्यक समयमा दुध–दही नपाउने समस्या छ । जिल्लामा दुधको व्यापार गर्न खोलिएका डेरीले बजारको माग अनुसार दुध बेच्न पाएका छैनन् भने उपभोक्ताले चाहेजति दुधदही उपभोग गर्न पाएका छैनन् ।

‘चाडवाडमा दुध पाउन मुस्किल छ, अहिले पनि भनेजति दुध पाउन नसक्ने अवस्था छ’, स्थानीय चन्द्रकला वलीले भनिन् । उनले गाईको दुध केही डेरी पसलमा बिहान पाइए पनि भैँसीको दुध पाउन मुस्किल भएको बताइन् । अहिले बजारमा दुधको माग बढी भएको तुलसीपुर स्थित साहारा डेरी उद्योगका सञ्चालक चन्द्रबहादुर डाँगी बताउँछन् ।

डाँगीका अनुसार २५ प्रतिशत माग स्थानीयले उत्पादन गरेको दुधले धाने छ भने ७५ प्रतिशत जिल्ला बाहिरबाट आएको दुधले धानेको छ । ‘बजारमा दुधको माग अधिक छ तर उत्पादन कम छ । बाहिरबाट आएको दुधले माग धानेको छ’, डाँगीले भने । कपिलवस्तु, बुटवल नेपालगन्जलगायतका बजारबाट दुध ल्याएर बिक्री गर्ने गरेको डेरी व्यवसायी डाँगीले बताए ।

किसानले थोरै थोरै गरेर दुध ल्याउने गरेको र त्यही दुधले बजार धानेको उनले बताए । गाईभैँसी पाल्ने किसान कम हुनु र दाङमा व्यावसायिक रूपमा दुध उत्पादनका लागि गाईभैँसी फर्म धेरै नभएकाले दुध कम उत्पादन भएको उनी बताउँछन् ।

‘व्यावसायिक दुध उत्पादन गर्ने सबै किसान पलायन भइसक्नुभयो अनि कहाँबाट दुध उत्पादन हुन्छ’, डेरी सञ्चालक डाँगीले बताए । पछिल्लो समयमा परम्परागत रूपमा दुध उत्पादन भइरहेको र सोही दुधले बजार धानेको अवस्था छ ।

विशेष गरी वैशाखपछि खडेरीमा दुधको खपत धेरै हुने भएकाले दुध अपुग हुने गरेको आमा डेरी उद्योगका सञ्चालक देवराज भण्डारीले बताए । ‘दुध जाडोमा फालाफाल, गर्मीमा अभाव जहिले पनि हुन्छ’, भण्डारीले भने । उनले जाडोमा दुध बिक्री नभएर बचेका दुधबाट पनिर, छुर्पी, घ्यू बनाउनु परेको र गर्मी मौसममा भने माग अनुसार दुध पु¥याउनै नसकेको बताए ।

जिल्लामा दुध उत्पादन गर्ने पशुपालनमा आकर्षण कम भएकाले दुध अभाव हुने गरेको भण्डारीको भनाइ छ । ‘पशुपालनप्रति आकर्षण छैन, व्यावसायिक दुध उत्पादनका लागि पशुपालन गर्ने किसान पलायन हुनुलाई प्रमुख कारण मान्न सकिन्छ’, भण्डारीले भने ।

बजारमा दुधको अभाव भएपछि आफूहरूले गोरुसिंगेबाट दुध ल्याएर दुधको मागा धानेको गौमाता दुध उत्पादक सहकारी संस्था तुलसीपुरका अध्यक्ष तर्णबहादुर खड्का बताउँछन् । ‘यो सिजन गाउँघरमा किसानले पालेका भैँसीले दुध छोड्ने सिजन हो, भदौ–असोजपछि भने दुध उत्पादन बढ्छ’, खडकाले भने ।

जाडो मौसममा सीमित डेरी उद्योगले किसानसँग दुध लिने र गर्मी मौसममा माग बढेपछि मात्र खरिद गर्ने भएकाले दुधको अभाव देखिएको एक किसानले बताए । ‘अहिले गाउँगाउँमा दुध सङ्कलन हुन्छ, त्यही दुध बजारमा लगेर बिक्री हुन्छ, जाडोमा सङ्कलन कम हुन्छ त्यसैले किसानले पुशपालन गर्न छोडेका हुन्’, उनले भने ।

व्यावसायिक रूपमा पशुपालन गर्ने बाहेक घरमा एक÷दुईवटा पशुपालन गर्ने किसानलाई राज्यले राहत र पशुपालनमा प्रोत्साहन नगर्ने भएकाले धेरै किसानले गाईभैँसी पाल्न छोडेको उनले बताए । अहिले केही गाउँका पशुपालक किसानले घरघरमा दुध पु¥याउने गरेका छन् भने केहीले मात्र सङ्कलन केन्द्रमा दुध बिक्री गर्ने गरेका छन् । जिल्लामा डिडिसी तथा केही सहकारी संस्थाले पशुपालक किसानसँग दुध सङ्कलन गरी उपभोक्तासम्म पु¥याउने गरेका छन् ।

डेरी उद्योगको शाखा

यसैबिच किसानको मागलाई मध्यनजर गरी हाम्रो पहुँच डेरी उद्योगको शाखा दुध सङ्कलन केन्द्र तुलसीपुर–१७ मज्गैँमा विस्तार गरिएको छ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालनमा ल्याएको डेरीको शाखा मज्गैँमा विस्तार गरिएको हो ।

किसानले उत्पादन गरेको दुध सङ्कलन गर्ने गरी स्थापना गरिएको सङ्कलन केन्द्रको बुधवार उद्घाटन गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्ष थलराज पुरीले शाखाको उद्घाटन गरेका हुन् । डेरीको शाखा विस्तारसँगै किसानलाई दुधको बजारीकरणमा सहज हुने उनले बताए ।

वडाअध्यक्ष पुरीले हाम्रो पहुँच बहुउद्देश्यीय सहकारीले आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेख्य भूमिका खेल्दै गएको भन्दै कृषि, शिक्षा, सञ्चारलगायतका क्षेत्रमा हाम्रो पहुँचको भूमिका सराहनीय बन्दै गएको उनले बताए ।

हाम्रो पहुँच सहकारीका अध्यक्ष शुक्रराज भण्डारीले मज्गैँ दुध सङ्कलन केन्द्रमा किसानले बजारकै मूल्य पाउने बताए । उनले किसानलाई दुध उत्पादन बढाउन समेत आग्रह गरे । मज्गैँ शाखामा दैनिक करिब एक हजार लिटर दुध सङ्कलन गर्न सकिने बताएका थिए ।

संस्थाका सल्लाहकार रामबहादुर वलीले किसानको सहजताका लागि मज्गैँमा शाखा विस्तार बताए । किसान गोविन्द गौतमले मज्गैँमा डेरीको शाखा विस्तार भएकोमा खुसी व्यक्त गरे । डेरी सञ्चालन उपसमिति संयोजक दुर्गाप्रसाद जैसीको अध्यक्षता तथा वडा नं. १७ का वडाध्यक्ष थलराज पुरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

संस्थाका तालिम तथा अध्ययन उपसमिति संयोजक जीवराज अधिकारीको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले गरेका थिए ।