दाङ, ८ साउन । नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ ले महामानव विपि कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।
लमहीमा सम्पन्न क्षेत्रीय बैठकले यहि साउन २२ गते “विपि कोइराला – एक बहुआयामिक व्यक्तित्व” विषयक वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गर्ने निर्णय गरेको हो ।
बैठक क्षेत्रीय सभापति भेषराज पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो । सभापति पाण्डेले कार्यक्रमलाई भव्य र सभ्य बनाउनका लागि तीन सदस्यीय तयारी समिती गठन गरिएको जानकारी दिनुभयो । कार्यक्रम तयारी समितीको संयोजक क्षेत्रीय सचिव खेमलाल चौधरी तथा सदस्यमा किरण विक्रम शाह र प्रिया स्मृती गजमेर रहनु भएको छ ।
प्रतियोगितामा दाङ क्षेत्र नम्बर १ अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत छात्रछात्राको सहभागिता रहनेछ । प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाई नगद १५ हजार सहित प्रमाणपत्र, दोस्रो हुनेलाई १० हजार सहित प्रमाणपत्र, र तेस्रो हुनेलाई ५ हजार सहित प्रमाणपत्र प्रदान गरिनेछ ।
कार्यक्रमले युवा पुस्तामा विपि कोइरालाको विचार र योगदानबारे जागरूकता फैलाउने अपेक्षा गरिएको छ । कार्यक्रमको तयारी तीव्र रुपमा अगाडि बढाइएको छ ।