गोरक्ष समाचारदाता
दाङ, ८ साउन । प्रहरीले अबदेखि विभिन्न अपराधका आरोपितको तस्बिर तथा भिडियो सार्वजनिक नगर्ने भएको छ । प्रहरीले अब विभिन्न कसुरमा अनुसन्धानका लागि पक्राउ परेका आरोपितको भिडियो तथा तस्बिर सार्वजनिक नगर्ने भएको हो ।
प्रहरी प्रधान कार्यालयले सोमवार मातहतका सबै प्रहरी कार्यालयलाई पत्राचार गर्दै आरोपितको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न परिपत्र गरेको छ । अब प्रहरीले गम्भीर अपराधमा पक्राउ परेका आरोपितको नाम र ठेगानाबाहेक तस्बिर र भिडियो सार्वजनिक गर्ने छैन ।
प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेले महान्यायाधिवक्ताको कार्यालयकै निर्देशन अनुसार पहिलो चरणमा पक्राउ परेका आरोपितको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न पत्राचार गरिएको जानकारी दिए । ‘हामीले मानव अधिकारको ख्याल गरेर यस्तो निर्णयमा पुगेका हौँ ।
अनुसन्धानका लागि पक्राउ परेकाहरूको तस्बिर, भिडियो सार्वजनिक हुँदा उनीहरूले सफाइ पाउँदासमेत तस्बिरका कारण लामो समयसम्म असर पर्ने भएकाले यस्तो निर्णय गरेका हौँ’, डिआइजी घिमिरेले भने ।