सङ्घर्षले बनाएको बाटो : अध्ययनसँगै जीवनको खोजी

किरण थापा

आजकल नेपाली विद्यार्थीहरुमा विदेशमा अध्ययन गर्ने प्रवृत्ति तीव्र रुपमा बढिरहेको छ । गुणस्तरीय शिक्षा, व्यावसायिक अवसर, तथा सुरक्षित र स्थिर भविष्यको खोजीमा नेपाली विद्यार्थीहरु अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान, युके लगायतका देशतर्फ आकर्षित भइरहेका छन् ।

हालको समयको नेपाली शिक्षा क्षेत्र र आर्थिक अवस्था हेर्दा, विदेशमा उच्च शिक्षाको लागि जाने विद्यार्थीहरुको संख्या तीव्र गतिमा वृद्धि हुँदै गएको देखिन्छ । शिक्षा मन्त्रालय अन्तर्गतको नेपाल सरकारको तथ्याङ्क अनुसार, हरेक वर्ष करिब १००,००० भन्दा बढी नेपाली विद्यार्थीहरु अष्ट्रेलिया, जापान, क्यानडा, अमेरिका, युके, र युरोपेली मुलुकहरुतर्फ अध्ययनको लागि प्रस्थान गरिरहेका छन् ।

त्यसमा पनि उच्च शिक्षा अध्ययन गर्न नेपाली विद्यार्थी क्यानडा जाने संख्या बढ्दो छ । गुणस्तरीय शिक्षा, छात्रवृत्ति र कामको अवसर नै क्यानडाको आकर्षण हो । यी विद्यार्थीहरु शिक्षासँगै सिप, दक्षता र सक्षम भविष्यको उद्देश्य राख्छन् । क्यानडा पछिल्लो समय शैक्षिक हब बन्दै गइरहेको अवस्थामा नेपाली विद्यार्थी पनि उच्च शिक्षाका लागि क्यानडा जान थालेका छन् ।

शिक्षासँगै आंशिक काम गर्न पाउने, भविष्यमा स्थायी बसोबासको सम्भावना हुने, र बहुसांस्कृतिक समाजमा घुलमिल हुने अवसर प्राप्त गर्छेन् । नेपाली विद्यार्थीहरुका लागि विदेश अध्ययन शिक्षा प्राप्तिको माध्यम मात्र नभई, एक व्यापक सामाजिक र जीवन यात्राको आरम्भ भएको छ, जहाँ संघर्ष र सम्भावना दुबै समावेश रहेका छन् ।

क्यानडामा पहिलो पटक पुग्ने नेपाली विद्यार्थीहरुका लागि वातावरण सहज हुँदैन । भाषिक अवरोध, सांस्कृतिक भिन्नता, आर्थिक चाप, आवास र रोजगारीका चुनौतीले उनीहरुलाई मानसिक रुपमै असर पार्न थाल्छ । यसले गर्दा विद्यार्थीहरुका परिवार र आफन्तलाई चिन्तित तुल्याउनु स्वाभाविक रहेको पाईन्छ ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि नयाँ कार्य नीति सरकारले लिएसँगै विद्यार्थीहरुले हप्तामा २४ घन्टा मात्र काम गर्ने बाध्य छन् । सरकारले पूर्ण समय काम गर्ने कर्मचारीलाई आंशिक (पार्ट टाइम) कामदारभन्दा बढी महत्व दिने भएकाले अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि रोजगारी पाउन निकै चुनौतीपूर्ण स्थिति सिर्जना भएको देखिन्छ ।

क्यानडामा आंशिक कामको भरमा मात्र अन्तर्राष्ट्रिय विद्यार्थीको रुपमा जीवन धान्नु अत्यन्तै जटिल र कठिन भएको छ । महँगो बसोबास, अध्ययन खर्च र दैनिक आवश्यकतालाई पूरा गर्न पार्ट टाइम जागिरबाट प्राप्त हुने आम्दानी पर्याप्त हुँदैन ।

पछिल्लो समय काम नपाएर बस्दा विद्यार्थीले ग्रोसरी, कोठाभाडालगायत न्यूनतम खर्च तिर्न नसक्दा उनीहरुको दैनिक जीवनयापनमा समस्या देखिन्छ छ, सँगसँगै आगामी दिनमा अध्ययनलाई कसरी निरन्तरता दिने भन्ने ठूलो चुनौती खडा भएको छ ।

नेपालबाट सधैँ पैसा मगाएर यी खर्च धान्न विद्यार्थीलाई गाह्रो छ, किनकि अपवादबाहेक प्रायः सबै अभिभावकले ऋणधन गरेर नै आफ्ना सन्ततिलाई वैदेशिक अध्ययनमा पठाएको स्थिति छ । यस चुनौतीलाई सामना गर्न अधिकांश विद्यार्थीहरु विभिन्न उपायहरु अपनाइरहेका छन् । जस्तै एकभन्दा बढी काम खोज्ने प्रयास, शैक्षिक ब्रेकको उपयोग र कम खर्चिलो जीवनशैली अपनाउने गरेको पाइ्रन्छ ।

विदेशमा अध्ययन गर्न आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरुको लागि स्वतन्त्रताको आकांक्षा एक महत्वपूर्ण कारक हो। विशेषगरी विकासोन्मुख देशका विद्यार्थीहरु जहाँ पारिवारिक, सामाजिक र शैक्षिक संरचनामा धेरै प्रतिबन्धहरु हुन्छन्, त्यहाँका युवाहरुले आफ्नो क्षमता अनुसार स्वतन्त्र जीवन जिउन पाउने आशामा विदेश यात्रा रोज्छन् ।

नेपाली विद्यार्थीहरुको सन्दर्भमा हेर्दा पनि, धेरै युवाहरु घरको कडाइ, समयको नियन्त्रण, निर्णयमा अभाव, र व्यक्तिगत स्वतन्त्रताको सीमाले दिक्क भएर विदेश जान चाहन्छन् । उनीहरु आफ्नो भविष्य आफैं बनाउने, काम गरेर पैसा कमाउने, समय व्यवस्थापन गर्ने र खुला समाजमा बाँच्ने चाहनाले विदेशतर्फ आकर्षित बनेको पाइन्छ ।

विदेश पुगेपछि स्वतन्त्रताको कल्पना साथ यात्रा थालेका विद्यार्थीहरुका लागि वास्तविकता निकै फरक देखिन्छ । उनीहरु आफूलाई स्वतन्त्र ठान्छन्, तर स्वतन्त्रताको अर्थ केवल मन लाग्दो गतिविधिमा रमाउनु होइन भन्ने कुरा बिस्तारै बुझ्न थाल्छन् ।

स्वतन्त्रताको गलत बुझाइले विद्यार्थीहरु रमाइलो, साथीभाइसँग घुलमिल, र पार्टी जस्ता गतिविधिमा बढी लाग्न थाल्छन् । फलस्वरुप, कलेज नजानु, असाइन्मेन्ट छुटाउनु, र परीक्षामा पछाडि पर्नेजस्ता शैक्षिक समस्याहरु देखा पर्छन् ।

त्यसकै कारण कोठा भाडा, खाना खर्च, र कलेज शुल्कसमेत तिर्न नसक्ने स्थिति आउँछ । यी सबैले विद्यार्थीहरुलाई मानसिक द्वन्द्व, चिन्ता, पछुतो, र कहिले काहीँ डिप्रेसनसम्म पु¥याउँछ । जब जीवनमा नियमितता हराउँछ, त्यहीँबाट मानसिक स्वास्थ्यमा असर पर्न थाल्छ । धेरै विद्यार्थीहरु चिन्ता, तनाव र डिप्रेसनको सिकार बन्छन् ।

कतिपय अवस्थामा पछुतोले उनीहरुलाई आत्मग्लानी र आत्ममूल्याङ्कनतिर डो¥याउँछ । क्यानडामा रहेका नेपाली विद्यार्थीहरुले यी चुनौतीहरुलाई बुझ्दै, आफूलाई रुपान्तरण गर्दै, समस्याको समाधान खोज्ने सीप सिकिरहेका पाइन्छ ्। यस्ता संघर्ष र अनुभवहरुले उनीहरुलाई अझ परिपक्व, अनुशासित र आत्मनिर्भर बनाएको देख्न सकिन्छ ।

क्यानडामा नेपाली विद्यार्थीहरुले भोग्ने एक महत्वपूर्ण समस्या भनेको कामको विषयमा हुने अन्योलता पनि हो, जुन नेपालमा कामको वर्गीकरण गरिएको सोचबाट उत्पन्न हुन्छ। नेपालमा शारीरिक श्रमलाई तल्लो स्तरको काम मान्ने र अफिसको कामलाई मात्र प्रतिष्ठित कामको रुपमा हेर्ने परिपाटीले गर्दा, क्यानडामा आइपुगेर जुनसुकै काम सम्मानजनक हुन्छ भन्ने कुरा स्वीकार गर्न विद्यार्थीहरुलाई सुरुमा गाह्रो हुन्छ ।

नेपालमा कामहरुलाई कामको प्रकृति अनुसार वर्गीकृत गरिन्छ । शारीरिक श्रममा आधारित कामलाई तल्लो दर्जाको रुपमा हेरिन्छ भने अफिसमा बस्ने, डेस्कमा गर्ने कामलाई प्रतिष्ठित र सम्मानजनक मानिन्छ । यस्तो सोचका कारण धेरै युवाहरुले कुनै पनि प्रकारको शारीरिक वा सेवासम्बन्धी काम गर्न लाज मान्छन् ।

यस्ता सामाजिक धारणासहित क्यानडा आएका नेपाली विद्यार्थीहरु प्रारम्भमा कामप्रतिको सोचमा अप्ठ्यारो महसुस गरेको पाईन्छ । तर, क्यानडाको कार्यसंस्कृति एकदम फरक छ । यहाँ कुनै पनि कामलाई तल्लो वा माथिल्लो स्तर भनेर वर्गीकरण गरिएको पाईदैन । नेपालमा कहिल्यै काम नगरेका विद्यार्थीहरु पनि यहाँ आएपछि विवशतावश काममा लाग्न थाल्छन् ।

धेरैजसोले रेस्टुरेन्टमा सफाइ गर्ने, सुपरमार्केटमा सामान मिलाउने, डेलिभरी सेवा दिने, जस्ता कामहरुमा संलग्न हुन्छन् । कतिपय विद्यार्थीहरुले त एकै समयमा दुई वा तीनवटा काम गर्नुपरेको अनुभव पनि गर्छन् ताकि ट्युसन शुल्क, भाडा, बीमा र दैनिकी खर्च धान्न सकून् । यस्ता कार्य अनुभवले नेपाली विद्यार्थीहरुलाई श्रमको महत्व बुझाउन सुरु गर्छ । उनीहरुले महसुस गर्छन् कि कुनै पनि काम सानो वा ठूलो हुँदैन, काम गर्ने व्यक्तिको इमानदारी, लगनशीलता र व्यावसायिकता नै मुख्य कुरा हो ।

क्यानडाको यस्तो समावेशी र सम्मानजनक कार्यसंस्कृतिले उनीहरुलाई केवल आर्थिक रुपमा मात्र नभई, मानसिक रुपमा पनि परिपक्व बनाउँछ । यसले उनीहरुमा आत्मनिर्भरता, अनुशासन र जिम्मेवारीको भावना विकास गराउँछ, जुन गुणहरु भविष्यमा जीवनको हरेक क्षेत्रमा उपयोगी सिद्ध हुन्छन् ।

अधिकांश नेपाली विद्यार्थीहरु क्यानडा आउँदा ठूलो उत्साह र भविष्यप्रतिको आशा लिएर आउँने गरेको पाइन्छ। उनीहरु उच्च शिक्षाको खोजीमा, राम्रो जीवन यापनको चाहनामा र परिवारको सपना पुरा गर्ने हेतुले विदेशको यात्रा तय त गर्छन् । तर, क्यानडाको यथार्थ परिवेशमा पस्यो भने, अधिकांश विद्यार्थीहरुलाई चाँडै थाहा हुन्छ कि यो यात्रा केवल शैक्षिक मात्र नभई जीवन संघर्षको यात्रा पनि हो ।

धेरैले भारी ऋण लिएर आउँछन्, जसले उनीहरुलाई आर्थिक जिम्मेवारीको ठूलो बोझ काँधमा पर्छ । ट्युसन शुल्क, घरभाडा, दैनिकी खर्च, बीमा लगायतका आवश्यकताहरु धान्न उनीहरु पार्ट टाइम काम गर्न बाध्य हुन्छन्, र कतिपयले त दुई–तीनवटा काम एकैपटक सम्हाल्नुपरेको हुन्छ । यति व्यस्त र थकाउने कार्यतालिकाबिच, उनीहरु आफ्नो व्यक्तिगत जीवन र मानसिक स्वास्थ्यका लागि समय निकाल्न सक्दैनन् ।

साथीभाइसँग भेटघाट, मनोरञ्जन, विश्राम वा आत्मचिन्तनका पलहरु पाउन मुस्किल पर्छ । यसले उनीहरुको जीवन थप तनावपूर्ण र थकित बनाउँछ, जसले पढाइ र समग्र जीवनस्तरमा नकारात्मक प्रभाव पार्न सक्छ । यो आर्थिक, शैक्षिक र सामाजिक दबाबले उनीहरुको मानसिक स्वास्थ्यमा असर पार्छ ।

अधिकांश विद्यार्थीहरुमा तनाव, एक्लोपन, निद्राको कमी, र थकानका लक्षणहरु देखिन्छन् । यस्तो अवस्थामा उनीहरुलाई तनाव व्यवस्थापनका लागि मनोरञ्जनात्मक गतिविधिहरु अत्यावश्यक हुन्छन् । खेलकुद, संगीत, साथीहरुसँग घुमफिर, वा अन्य सिर्जनात्मक गतिविधिमा संलग्न हुँदा उनीहरुलाई मानसिक रुपमा राहत मिल्छ र पढाइमा ध्यान केन्द्रित गर्न सजिलो हुन्छ ।

क्यानडामा अध्ययन गर्न आएका नेपाली विद्यार्थीहरुको यात्रा केवल शैक्षिक उपलब्धिसँग मात्र सीमित हुँदैन, यो यात्रा उनीहरुको सोच, व्यवहार, आत्मनिर्भरता र जीवनशैलीमा समेत गहिरो रुपले प्रभाव पार्ने एउटा परिवर्तनशील अनुभव वनेको छ ।

नेपालबाट आएका यी विद्यार्थीहरुले विदेशमा स्वतन्त्रताको सही अर्थ बुझेका छन्, कामप्रतिको सोचमा परिवर्तन ल्याएका छन्, र संघर्षहरुलाई अवसरमा रुपान्तरण गर्न सफल भएका छन्। क्यानडाको श्रमप्रति सम्मानजनक दृष्टिकोण र समावेशी कार्य संस्कृतिले उनीहरुलाई आत्मविश्वासी, अनुशासित र जिम्मेवार नागरिकको रुपमा विकास गर्न सहयोग पु¥याएको छ ।

आर्थिक कठिनाइ, सामाजिक दबाव, मानसिक तनावजस्ता चुनौतीहरुका बाबजुद, उनीहरु निरन्तर अघि बढिरहेका छन् र जीवनका हरेक पाटोमा सशक्त रुपमा उभिन सक्षम हुँदै गएका छन् । यिनै अनुभव र संघर्षहरु नै उनीहरुको भविष्य निर्माणको आधार बन्न गएका छन्, जसले उनीहरुलाई मात्र होइन, सम्पूर्ण नेपाली समाजलाई पनि सकारात्मक प्रेरणा दिन सक्छ ।

(किरण थापा लेखक गैर सरकारी संस्था सामाजीक तथा आर्थिक रुपान्तरणका लागी युवा समुहका कार्यकारी निर्देशक हुन ।)