सुप्रिया मां
गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुनुहुन्छ । बुद्धको संदेश वैज्ञानिक छ । वैज्ञानिक यसकारण कि वहांका उपदेश कुनै पनि काल, क्षेत्र र जातिलाई मान्य हुने खालका छन् । अहिलेका आधुनिक मानिसहरुलाई पनि गौतम बुद्धका उपदेश त्यतिनै सान्दर्भिक छ र अनन्तः कालसम्म उपयोगी र सान्दर्भिक नै रहने छ । वहांलाई शाक्य मुनि पनि भनिन्छ ।
बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव भन्ने बुझिन्छ । गौतम बुद्धलाई सम्यक सम्बोधी प्राप्त भएकोले बौद्ध परम्पराले वहांलाई सम्यक सम्बुद्धको रुपमा मान्दछ । बुद्धको जन्म ५६३ ई.पू. नेपालको लुम्बिनिमा बैशाख शुक्ल पूर्णिमाको दिन भएको हो भनेर इतिहासमा बताइएको छ । वहांलाई भारतको बोधगया भन्ने ठाँउमा एउटा पिपलको बृक्ष मुनि ध्यान गर्दा गर्दै सम्यक सम्बोधि प्राप्त भएको हो । वहांले ४५ वर्षसम्म संसारका विभिन्न ठाँउमा गएर दुःख निवारण सम्वन्धी आफूलाई प्राप्त महाज्ञान दिनुभयो ।
बुद्धका उपदेशहरु र ज्ञानहरु आज पनि त्यतिनै सान्दर्भिक र उत्प्रेरणा दिने खाल्का छन् । बुद्धले मनको अध्यारो र अज्ञान हटाएर दुःख रहित अवस्थामा जान सकिन्छ र परम शान्त र मुक्त जीवन जीउन सकिन्छ भन्ने ज्ञान दिनुभयो । एक एक कुरा मनन् गरेर जीवनमा उतार्ने सक्ने हो भने यस्ले हाम्रो जीवनका दुःखलाई निवारण गरेर जीवनलाई खुशी र आनन्दतिर लैजान्छ । हिन्दु धर्ममा गीताको जुन स्थान छ बौद्ध धर्ममा धम्मपद भन्ने ग्रन्थको त्यही स्थान छ । बौध धर्मलाई बुझ्न यो एउटा ग्रन्थ धम्मपद नै काफी छ । यो ग्रन्थले मानिसलाई अंधकारबाट प्रकाशतिर लैजान दिपकको काम गर्छ ।
गौतम बुद्धले चार आर्यसत्य बताउनु भएको छ ।
(१) दुःख– संसारमा दुख छ
(२) समुदय– दुःखको कारण छ
(३) निरोध– दुःखको कारणको निवारण छ
(४) मार्ग– अष्टांगिक आर्यमार्ग दुःख निवारणको मार्ग हो ।
अष्टांगिक मार्गमा वहांले दुःख निवारणका आठ वटा मार्ग बताउनु भएको छ, त्यो हो,
(१) सम्यक दृष्टी– सम्यक दृष्टी भन्नाले जीवन प्रति यथार्त दृष्टीकोण ।
(२) सम्यक संकल्प– संकल्प सहित जीवन आगाडी लैजानु
(३) सम्यक वाणी– कसैलाई पनि वचनले दुःख नदिनु र सत्य बोल्नु
(४) सम्यक कर्म– कसैलाई पनि हानि गर्ने कर्म नगर्नु
(५) सम्यक आजीविका– कसैलाई पनि हानी हुने व्यापार र सम्वन्ध नगर्नु
(६) सम्यक व्यायाम वा सम्यक प्रयास– शरीरलाई स्वस्थ राख्ने वा ठिक हुन आफै प्रयास गर्ने
(७) सम्यक स्मृति– स्पष्ट मानसिक योग्यता र,
(८)सम्यक समाधि– ध्यान गरेर निर्वाण प्राप्त गर्नु । सम्यक भन्ने शव्दले मध्यमार्ग भन्ने जनाउंछ ।
गौतम बुद्धले दिनु भएको दुःख रहित जीवनका लागि मननयोग्य मुख्य उपदेशहरुलाई बुंदागत रुपमा छोट्करीमा यसरी बुझन सकिन्छ ।
(१) खुशी बाँडौं– गौतम बुद्ध भन्नुहुन्छ, खुशी बाँडेर थोरै हँुदैन, जति बाड्यो त्यति बढ्छ । एउटा मैनबत्तीबाट हजारौं मैन बत्तीहरु बाल्न सकिन्छ र यसो गर्दा त्यो मैनबत्तीको जीवन छोटो हुँदैन । यो साँचो कुरा हो, खुशी जति बाड्न सक्यो त्यति अफुलाई बढे्र आउंछ । खुशी बाँडौं र आफ्नो वरीपरीको वातावरणलाई अझ रमाइलो र राम्रो बनाऔं ।
(२) कृतज्ञ बनौं– जीवनमा सधैं केही न केही राम्रो भएकै हुन्छ । त्यो राम्रो भएको प्रति हामी कृतज्ञले भरिनुपर्छ । जीवनमा भएको राम्रोको लागि कृतज्ञ हुनु भनेको हृदयलाई ठूलो बनाउंनु हो । बास्तवमा भन्ने हो भने जो व्यक्ति आफूसंग भएको प्रति कृतज्ञ हुन्छ । उस्ले अरु धेरै प्राप्त गर्ने अधिकार प्राप्त गर्छ । जीवनप्रति धन्यवादको भावनाले भरिनु हो कृतज्ञ भनेको, यस्ले हामीलाई सन्तुष्टी र आनन्द दिन्छ ।
(३) क्षमा दिने गरौं– मानिस सिक्नका लागि यो पृथ्वी ग्रहमा आएको हो । सिक्ने क्रममा गल्ती जो कोहीबाट पनि हुनसक्छ । अरुको गल्तीलाई हृदयमा राखेर घृणाको भावनाले हेर्नु राम्रो होइन । जस्ले जस्तो गल्ती गरे पनि उस्लाई क्षमा दिएर माया गरौं । जस्ले क्षमा दिन्छ उस्को मन खुला र शान्त हुन्छ । घृणालाई प्रेमले मात्र जित्न सकिन्छ । बुद्धका अनुसार जति चाडो क्षमा दिन्छौं त्यति नै चाडो हामीलाई खुशी र आनन्द मिल्छ ।
(४) सोचाई नै सबैभन्दा ठूलो कुरा हो– गौतम बुद्धले भन्नुभएको छ, हामी जे सोंच्छौं, जे सोंची रहेका छौं, हाम्रो जीवन त्यसैको परिणाम हो । गलत सोचविचार र धारणा ले मानिसलाई मानसिक दुःख र पीडा तिर लैजान्छ । बुद्धले बारंबार भन्नु भएको छ “तिमी जे सोंच्छौं, तिमी त्यही बन्छौं ।” हाम्रो सोंच जस्तो छ हाम्रा वाणी र कर्महरु पनि त्यस्तै हुन्छन् । राम्रो सोच र राम्रो धारणाले वाणी र कर्म पनि राम्रो हुन्छ, नराम्रो सोच र नराम्रो धारणाले वाणी र कर्महरु पनि नराम्रो हुन्छ । सबै खराब कर्महरु पहिला दिमागमा उब्जिने हो । सोचविचारलाई नै परिवर्तन गरे कर्महरु सबै राम्रा हुन्छन् ।
(५) क्रोधमा नियन्त्रण– क्रोधित हुनु भनेको जलेको आगोको कोइलालाई अरुमाथि फ्याँक्नका लागि आफ्नो हातमा लिनु जस्तो हो । त्यसले अरुलाई जलाउनु भन्दा पहिला आफैलाई पोल्छ । जस्ले आफ्नो क्रोधलाई नियन्त्रण गर्न सक्छ उस्लाई अशान्ती र दुःख कहिल्यै पनि हुँदैन । आफ्नो क्रोध, रिस र रागको परिणामको सजाय भोग्नु नै पर्दैन, किनकी त्यो क्रोध र रिस आफुमा आउनु नै आफैलाई ठूलो सजाय हो ।
(६) दुःखको कारण थाहा पाउनु– जीवनमा दुःख छ भने त्यसको कुनै कारण पनि हुन्छ । त्यो कारणलाई निवारण गरेर दुःख रहित अवस्थामा जान सकिन्छ । हाम्रो वास्तविक स्वभाव भनेको दुःख रहित अवस्था हो । कारणले भएको दुःखलाई ज्ञानले निवारण गरेर दुःख रहित अवस्थामा जीवन जीउन सकिन्छ । गौतम बुद्धको यो मुख्य संदेश हो ।
(७) वर्तमान महत्वपूर्ण छ– गौतम बुद्ध भन्नु हुन्छ, भूतकाल गइसक्यो र भविष्य कहिल्यै पनि आउंदैन । भविष्य भनेको जहिल्यै पनि वर्तमान बनेर आउने हो । भूतकालको शोक र भविष्यको चिन्ता गरेर जीवन फाल्नु बेकार छ । भूतकालको अनुभवबाट पाठ सिकेर अगाडी बड्ने हो । भूतकालको शोकमा अल्झिएर बस्ने होइन । आफ्नो हातमा वर्तमानको एउटा क्षण हुन्छ । त्यो क्षणलाई उपयोग गरेर जे गर्न सकिन्छ, त्यो गर्ने हो । वर्तमानलाई राम्रो बनाउने हाम्रो हातमा छ । वर्तमानलाई उपयोग गरेर त्यसैमा रमाउनु, खुशी रहनु र मनलाई वर्तमानमा केन्द्रित गरेर त्यसैलाई महत्व दिनु सबै भन्दा उत्तम उपाए हो ।
(८) समभावमा रहनु– दुःख भनेको नकरात्मक उत्तेजित भावना र सुख भनेको सकरात्मक उत्तेजित भावना हो । दुबै अवस्थामा उत्तेजित नभई समभावमा रहने हो । दुःखमा आत्तिने र सुखमा मात्तिने गर्नु हुदैंन । सुख दुःख, हार जीत, प्रेम घृणा, प्रशंसा आलोचना जस्ता सबै कुराहरुबाट विचलित नभइकन स्थिर भएर समभावमा रहने हो । जसरी एउटा ठोस चट्टान ठूलो तूफानमा स्थिर रहन्छ त्यसरी नै आफुलाई स्थिर राख्ने हो ।
(९) सत्यको मार्गमा हिंड– जसरी सूर्य र चन्द्रलाई लुकाउन सकिदैंन त्यसैगरी सत्यलाई पनि लुकाउन सकिदैंन । जस्तो सुकै अवरोध आए पनि विजय त्यसैको हुन्छ जो सत्यको मार्गमा हिडेको हुन्छ । सत्यको मार्गमा खुशी र आनन्द छ ।
(१०) प्रेमको मार्ग– जस्ले प्रेम गर्छ, उसलाई खुशी हुने धेरै कारणहरु प्राप्त हुन्छ । जति हामी प्रेमले भरिन्छौं त्यति हृदय खुन्दै जान्छ र आफूलाई फैलिएको अनुभव हुन्छ । फैलिनुमा आनन्द छ ।
(११) सम्यक जीवन– गौतम बुद्ध भन्नुहुन्छ, जीवनलाई सम्यक मार्गमा लिएर जाऊ । अर्थात मध्य मार्ग समातेर हिड्नुपर्छ । केही गर्दै नगर्ने र अति धेरै गर्ने दुवै असम्यक हो । जस्तै खादै नखानु वा अति धेरै खानु, काम गर्दै नगर्नु वा अति धेरै काम गर्नु आदि, यो भनेको असम्यक हो । मध्य मार्गले जीवनमा खुशी र शान्ती दिन्छ ।
(१२) अनावस्यक इच्छाहरुको नियन्त्रण– तृष्णा अर्थात ईच्छा नै सबै दुःखको मूल कारण हो । हाम्रा मनका ईच्छाहरुको कहिल्यै पनि अन्त्य हुदैन, एउटा पुरा भए फेरि अर्को आउंछ । त्यस्ता अनावस्यक आएका ईच्छाहरुले हामीलाई दुःखमा लैजान्छ ।
(१३) कर्मको फल– प्रकृतिमा कर्मको फल निस्चित छ । कुनै कर्मको फल तुरुन्तै आउंछ, कुनै कर्मको फल आउंन समय लाग्छ । हामीले जस्तो कर्म गर्छौं फल पनि त्यस्तै प्राप्त हुन्छ । राम्रो फल चाहनेले कर्म पनि राम्रो गर्नु पर्छ, कर्ममा ध्यान दिनुपर्छ ।
(१४) आफ्नो दियो आफै बन– अरुको प्रकाशको साहाराले धेरै टाढासम्म जान सकिदैंन । आफूभित्र ज्ञानको प्रकाश बाल र आफै प्रज्वलित होउ । आफ्नो दियो स्वयम बन ।
(१५) स्विकार वा तथाता को जीवन – गौतम वुद्धलाई तथाता पनि भनिन्छ । तथाता भनेको परम स्विकार हो । आफ्नो परिस्थितिलाई स्विकार्नुपर्छ । परिस्थितिलाई स्विकार्ने वित्तिकै मन शान्त र आनन्दित हुन्छ । सन्तोष नै सबै भन्दा ठूलो सम्पत्ति हो ।
(१६) शान्त मन र शान्त चित्त– गौतम बुद्धले मन र चित्तलाई शान्त बनाउन ध्यान र समाधी गर भन्नुहुन्छ । शान्ती हामी भित्र छ बाहिर कतै छैन । मनलाई शान्त बनाउनका लागि ध्यान र समाधी सबै भन्दा उत्तम मार्ग हो । ध्यान र समाधिबाट नै ज्ञानको प्राप्ती हुन्छ ।
बुद्धलाई जस्ले पनि जान्यो र बुद्धका उपदेशहरुलाई आफ्नो जीवनमा उता¥यो, उस्ले आफूलाई परम शान्ती र ज्ञानको अवस्थामा लैजान सफल भयो । ध्यानको अभ्यास गर्दै मनको अज्ञान हटाउन सके कुनै पनि व्यक्ती बुद्ध बन्न सक्छ । दुःखको मूल कारण अविद्या हो ।
बुद्धका उपदेशहरुलाई जीवनमा उतारौं । ध्यान गरौं र जीवनलाई आनन्दित बनाऊँ । आजलाई यति नै, हरी ॐ !
सुप्रिया मां आनन्दपथ संस्थाका संस्थापक हुनुहुन्छ ।