यज्ञको महत्व

एकराज शर्मा अधिकारी

आजभोलि संसारमा यत्रतत्र यज्ञ भइरहेका छन् । यो यज्ञ किन गरिन्छ ? यज्ञ भनेको के हो ? यो कुरा बुझ्न आवश्यक छ । यज्ञ दुई किसिमका हुन्छन् । १. यज्ञ, २. महायज्ञ र यज्ञ प्राचिनकालदेखि हुँदै आइरहेका छन् ।

प्राचिनकालमा नैनिषारन्य क्षेत्रमा ८८ हजार ऋषिहरुले विश्व शान्तिको लागि यज्ञ गरेका थिए । त्यो यज्ञ ज्ञान महायज्ञ थियो । ऋषिहरुले त्यो यज्ञमा सुतजिसँग यज्ञको बारेमा प्रश्न गरेका छन्– यज्ञ कति छन् भन्ने कुरा सुतजिले शंका समाधान गरिदिएका छन् । यज्ञ धेरै प्रकारका छन् ।

जस्तो द्रव्य यज्ञ, तप यज्ञ, योग यज्ञ, ज्ञान यज्ञ, राजसुय यज्ञ, पुत्रेष्ठी यज्ञ, अश्वोमेध यज्ञ यस्ता यज्ञहरु वर्णन शास्त्रमा पाइन्छ । यज्ञ दुई किसिमले सम्पादन गरिन्छ– एउटा वेदको मन्त्र प्रयोग गरेर । अर्को श्रौत्र यज्ञ तन्त्रको प्रयोग गरेर र त्यसलाई स्र्मात योग्य पनि भनिन्छ ।

गृहस्थीहरुले गर्ने यज्ञ द्रव्य यज्ञ हो । धन नहुँदै कुनै यज्ञ हुँदैन । गृहस्थले इहलौकिक र पारलौकिक बस्तुहरु प्राप्त गर्ने उद्देश्यले यज्ञ गर्दछन् र इहलौकिक बस्तु र पारलौकिक बस्तु भनेको यस लोकमा चाहिने बस्तु र परलोकमा चाहिने बस्तु हुन् ।

यज्ञ सर्वप्रथम प्राणी सृष्टी गर्ने उद्देश्यले ब्रहमाजिले गर्नुभएको थियो । त्यो तप यज्ञ हो । त्यो तपस्याद्वारा सम्पन्न गरिएको थियो । योग यज्ञ ऋषिहरुले गरेका थिए । उनीहरुले जीवलाई ब्रहमसँग जोड्ने कोसिस गरेका थिए ।

(जीवो ब्रहमैब नापर) जीव नै ब्रहम हो । जीव हत्या नै ब्रहम हत्या हो । जीवलाई पनि मार्न हुँदैन भन्ने उनीहरुको सिद्धान्त थियो । ज्ञान महायज्ञमा पनि हिंसा हुँदैन । काम्य यज्ञमा हिंसा गरिन्छ । निस्काम कर्म गर्ने मानिस यस कलियुगमा पाउन दुर्लभ छ । सबैले फलको आशा राखेर कर्म गर्छन् ।

राजा दशरथले पुत्र प्राप्तीको लागि पुत्रेष्ठी यज्ञ गरेका थिए । भगवान् रामले अकन्टंक राज्यको लागि अस्वनेध यज्ञ गरेका थिए । राजा युधष्ठिरले राजसूय यज्ञ गरेका थिए । यज्ञबाट आध्यात्मिक र भौतिक उन्नती हुन्छ । जन्म मृत्युको चक्रबाट छुट्न पाउँ भनी गरिने यज्ञ आध्यात्मिक यज्ञ हो ।

धन सम्पत्ति प्राप्त होस् भनेर गरिने यज्ञ भौतिक यज्ञ हो । गृहस्थीहरुले पञ्च महायज्ञ गर्नु अनिवार्य छ । तर, मानिसले गर्न छाडेका छन् । ती यज्ञ हुन्– ऋषि यज्ञ, देव यज्ञ, पुत्री यज्ञ, मनुष्य यज्ञ, भूत यज्ञ हुन् र यज्ञ गर्दा पूजाका साथै हवोन पनि गरिन्छ ।

वेदमा अग्नीलाई देवताको मुख भनिन्छ । जस्तो हामीले खाएको अन्न शरीरको प्रत्येक भागमा पुग्छ । त्यस्तै हामीले अग्नीमा चढाएको बस्तु जुन–जुन देवतालाई सम्झेर चढाउँछाँै । उनै देवताले पाउँछन् ।

हवोनद्वारा यस लोक र परलोकको सम्बन्ध कायम रहन्छ । देवता र पुत्रीहरु खुसी हुन्छन् । इच्छाको फल दिन्छन् भन्ने शास्त्रको भनाई छ । भौतिक दृष्टिले हेर्दा यज्ञद्वारा वायुमण्डल शुद्ध हुन्छ । आजकाल वायुमण्डल दुषित हुँदै गइरहेको छ । विश्वमा धेरै उद्योगधन्दा, कलकारखाना बढिरहेका छन् । धेरै कार्वनको उत्पादन भइरहेको छ ।

विषालु ग्याँसको प्रभावले मानिसलाई मात्र होइन बोट बिरुवाहरुलाई पनि प्रभाव पारेको छ । त्यसैले हाम्रो खाने अन्नमा समेत प्रभाव परेको छ । हामी रोगी भएका छौँ । यो कुरा हाम्रा दुरदर्शी ऋषिहरुले पहिले नै बुझिसकेका थिए । हामी अहिले बुझ्दै छौँ ।

त्यसैले वायुमण्डलको दुषित प्रभावलाई हटाउन यज्ञको व्यवस्था गरेका थिए । यज्ञले प्राकृतिक सन्तुलन कायम राख्छ । यज्ञबाट वर्षा हुन्छ । वर्षाबाट अन्न उत्पादन हुन्छ । स्वस्थ अन्नबाट स्वस्थ मानव समाजको निर्माण हुन्छ ।

यस्तो रहस्मय कुरा नबुझेर पाश्चात्य देशको प्रभावमा परेर आजभोलिका मानिसले आगोमा अन्न हवोन गरेर, आगोमा घ्यू हालेर अन्न र घ्यूको दुरुपयोग गर्नु मूर्खता हो भन्दछन् । बरु भोका नांगा जनतालाई त्यो अन्न र घ्यू दिए सदुपयोग हुन्छ भन्ने भन्दछन् ।

हिन्दुहरुमा यज्ञ गर्ने र हवोन गर्ने परम्परा आजबाट भएको होइन । यो प्राचिन परम्परा हो । हवोन गर्दा हामीले समिधाको प्रयोग गर्छौँ । समिधाले प्रकृतिसँग सम्बन्ध राख्छ । त्यसमा पनि रहस्य लुकेको छ । आपको समिधा बनाएर हवोन गरे रोग नाश हुन्छ ।

पिपलको समिधाले हवोन गरे सन्तान वृद्धि हुन्छन् । दुव्रिङको समिधा बनाएर हवोन गरे स्वर्ग प्राप्ती हुन्छ । शमिको समिधा बनाएर हवोन गरे ताप नाश हुन्छ । दुवोको समिधा बनाएर हवोन गरे मानिस दिर्घायु हुन्छन् । कुशको समिधा बनाएर हवोन गरे मनको इच्छा पूरा हुन्छ ।

त्यति मात्र होइन वायुमण्डलमा प्रवाहित हुने नकारात्मक उर्जालाई सकारात्मक उर्जा परिणत गरिदिन्छ भन्ने शास्त्रको भनाई छ । हामी पूर्वीय सभ्यताका ऋणी छौँ । पूर्वीय सभ्यताको उदय नभएको भए पश्चिमी सभ्यताले मात्र विश्वमा शान्ति हुने थिएन ।

विश्वका विशिष्ट दाशनिकहरुले यो कुरा बुझेका छन् । वेद मानिसको लागि ठुलो उपहार हो । वेदको सार उपनिषद हो । यज्ञको महत्व बुझाउने शास्त्र गीता ब्रहमसूत्र र उपनिषद हुन् । यी शास्त्रको अध्ययन गर्न आवश्यक छ । यज्ञबिना मानिसको कुनै पनि कामना पूरा हुँदैन ।

सम्पूर्ण कर्म यज्ञमय हो । सम्पूर्ण सृष्टि यज्ञ रुप हो । सम्पूर्ण पूजा सामग्री हाम्रा कर्म हुन् । कर्म शुद्ध गरेर यज्ञ गरे शुद्ध फल मिल्छ । आजकाल ज्ञानभन्दा भक्तिमा लागेका मानिस धेरै छन् ।

कलियुगमा भक्तिको पनि महत्व छ । भक्ति ज्ञानमा पुग्ने सिढी हो । समाजमा शान्ति यज्ञबाट नै हुन्छ भनेर विज्ञानले पनि समर्थन गरेको छ ।