गथां मुगः पर्व

नारायणप्रसाद श्रेष्ठ
गथां मुगः (गठा मुग, गठे मंगल) पर्व नेवार समुदायको आफ्नै मौलिक संस्कृतिभित्रको पर्व हो । सिथिनखः (कुमार षष्ठी) कूल पूजापछि मनाइने यो पर्वको छुट्टै विशेषता छ ।

कसैले यसलाई तेत्रा र द्वापर युगसँग जोडेर कंशको विनाशसँगै सत्यको विजायसँग व्याख्या गरेको पाइन्छ भने कसैले काम, क्रोध, लोभ, मोहरुपी राक्षसी प्रवृत्तिको अन्त्य गरी सुखी र समृद्ध समाज निर्माणसँग जोडेर व्याख्या गर्ने गरेको पनि पाइन्छ ।

कसैले यसलाई भूतप्रेत, तान्त्रिक विद्यासँग जोडेर हेरेको पनि पाइन्छ । कतिपयले राक्षसी प्रवृत्ति भएको भूतलाई आफ्नो नोकरको रुपमा प्रयोग गरेर काम काज गराएको वा आफैमा भूत सवार गरी काम गराएको कथासँग पनि यस पर्वलाई जोडिएको देखिन्छ । काम सकिसकेपछि आफूमा सवार भएको भूत वा भूतलाई त्यसको मूर्ति पूजा गरी पञ्छाउने दृष्टिकोणले नर्कटको मूर्ति बनाई त्यसमा राक्षसको प्रतिमा झल्किने फोटो टाँसी यो पर्व मनाइएको भन्ने पनि गरिन्छ ।

चाहे जेसुकै होस् विविध किसिमले व्याख्या र विश्लेषण भए पनि यो नेवार संस्कृतिभित्र लुकेको नेवारको आफ्नै मौलिक पर्व हो । यो जहाँ नेवार र भीमसेन छन् त्यहाँ यस पर्वलाई धुमधामसँग मनाउने प्रचलन रहेको छ । चाडपर्वको पहिलो पर्वको रुपमा यसलाई मानिन्छ ।

आदिवासी जनजातिको मूल थलो काठमाडौं उपत्यका भएको र त्यही उपत्यकामा बसोवास गर्ने नेवार समुदाय जो पहिले गाईभैंसीको चरणको हिसावले यहाँ बसोवास गरेका थिए, उनको कर्मथलोमा बनाइएको वा स्थापित भएको यो पर्व हो । विस्तारै पछि बसाई सर्ने क्रममा अन्य जिल्लामा बसोबासा गर्ने नेवार समुदायले पनि यसलाई कायम राख्दै मनाउने गरेको पाइन्छ ।

डा.सत्यमोहन जोशी भन्छन– नेवार समुदाय संस्कृति र संस्कारको धनी समुदाय हो । यसको छुट्टै पहिचान र विशेषता छ । यो समुदायको रीति, थिति, संस्कृति र संस्कारमा हुर्कनु साच्चिकै भाग्यमानी बन्नु हो । वास्तुशास्त्र, कला र अन्य विभिन्न संस्कृतिभित्र रमाएर पनि समाजमा स्थापित परम्परा र संस्कृतिलाई हिजोदेखि वर्तमानसम्म जीवन्त राख्न जसरी नेवार समुदाय सफल भयो ।

त्यसलाई सरसर्ती हेर्ने हो भने नेवार समुदाय नेपालको साच्चिकै धर्तिपुत्र ठहरिन्छ । आपसी सम्बन्ध कायम गरी एकताको प्रतीकको रुपमा रहेको नेवार समुदायको आफ्नै मौलिक संस्कृति र संस्कार रहेका छन् । ती संस्कार र संस्कृतिमध्ये गथां मुगः पनि एक हो । यस पर्व नेवारको सिथीनखः पर्वपछि मनाइने पर्व हो ।

यस पर्वदेखि यो समुदायको घरभित्र थन्क्याइराखिएको बाजागाजा, ढोल, झ्याली निकाली बजाउने प्रचलन रहेको पाइन्छ । राक्षसी प्रवृत्तिलाई पनि तान्त्रिक विद्याद्वारा वशमा ल्याई वा आफूमा सवार गराई कामकाज गराउन सकिन्छ भन्ने मान्यता यस पर्वभित्र लुकेको छ । दानवीय शक्तिलाई दैवीय शक्तिमा रुपान्तरण गर्न सकिन्छ भन्ने यथार्थ सत्य लुकेको यस पर्वले भक्षकलाई रक्षक गराएको कहानी पनि रचेको छ ।

नेवार एउटा मात्र यस्तो जाति हो जसले राक्षसलाई पनि पुज्ने गरेको पाइन्छ । मानवमा भएको नकारात्मक प्रवृत्तिलाई सकारात्मक प्रवृत्तितर्फ रुपान्तरण गरी सामाजिक आदर्श कायम गर्न सकिन्छ भन्ने आदर्श बोकेको नेवार संस्कृतिभित्र हुर्केको यो पर्वले मानव मात्रको कल्याण खातिर राक्षसी प्रवृत्तिलाई पनि पूजाआजा गरी वशमा पारेको इतिहास पाइन्छ ।

रक्षक नै भक्षक भएको वर्तमान अवस्थालाई हेर्ने हो भने यो पर्वको महत्व निकै बढेको पाइन्छ । हुनसक्छ मानवभित्रको राक्षसी प्रवृत्तिलाई अंकित गरी त्यही राक्षसी प्रवृत्तिको प्रतिमूर्ति बनाई यो गथां मगः पर्व मनाएको पनि हुनसक्छ ।

प्रचलनअनुसार स्थान विशेष कसै–कसैले यसलाई नर्कटको तीन खम्बा बनाई टाउकोमा राक्षसको मूर्ति बनाई दोबाटो, चौबाटोमा ठड्याई जगात (कर) माग्ने गरेको पनि पाइन्छ भने कसैले पातीको डाँठबाट राक्षसको तीनखुट्टे मूर्ति बनाई टाउकोमा राक्षसको प्रतिमूर्ति राखी ठड्याउने प्रचलन पनि छ ।

यो स्थानविशेष आ–आफ्नै किसिमले पूजा गरेको पनि पाइन्छ । तर एउटा सत्य के हो भने यो नेवार समुदायले मात्र गर्ने गरेको पाइन्छ । हुन त अहिले आएर अरु जात, धर्म, संसकृतिले पनि यसलाई स्वीकार गरेको अवस्था छ । गथां मुगः पर्वलाई बुझ्ने चेष्टा गरेको पनि पाइन्छ । यो प्रत्यक वर्षको श्रावण कृष्णपक्ष चतुर्दशी तिथिमा मनाइने परम्परा रहेको छ । यस परम्परालाई आज मात्रै दाङमा नेवार समुदायले धुमधामसँग मनाइरहेका छन् ।

सिथीनखः पर्वपछि विस्तारै ऋतुको परिवर्तन हुने क्रममा वर्षा ऋतुको समय आउने र त्यस समयमा वर्ष दिनको लागि चाहिने धान, मकै, कोदो र तरकारी उब्जाउन खेतबारीमा काम गर्नुपर्ने भएकोले काम गर्दा अप्ठ्यारो पर्ने समस्यालाई सहज रुपले समाधान गर्न राक्षसी प्रवृत्तिलाई पुजेर काम लगाएको पौराणिक मान्यता यस पर्वसँग छ ।

खेतबारीमा काम गर्नुपर्दा र दिनहु घाम र पानीमा रहनु पर्दा निकै थकाई लाग्नु र यस्तो काम पौराणिक मान्यताअनुसार भूतले काम गर्दा ऊ नथाक्ने पनि उसलाई पानी र घामले पनि नसताउने भएकोले साथै मानसिले भन्दा भूतले धेरै काम गर्न सक्छ भन्ने मान्यता पनि भएकोले र त्यसैमा जनविश्वास भएको कारण तान्त्रिक विधिबाट भूतलाई पूजा गरी मानिसले स्वयम् वा भूतबाट काम गराउने प्रचलन रहेको इतिहास पाइन्छ ।

जीउ पनि नथाक्ने, समयमा खेतीपाती पनि सम्पन्न हुने र राज्यमा भोकमरी पनि नपर्ने भएकोले वर्षाभरि खेतीपाती गराइसकेपछि यो भूतलाई हटाउनुप¥यो भन्ने मान्यता राखी गथां मुगः पर्व मनाइएको पनि देखिन्छ ।

सधैं भूतलाई घरमा राखिरह्यो भने निजको आहार पालनपोषण गर्न नसकिने र घरका परिवार, केटाकेटीलाई पनि निकै सताउने भएकोले यसलाई घरबाट बाहिर निकाल्ने उपायको रुपमा गथां मुगः पर्व प्रचलनमा आएको पनि कतै–कतै भन्ने गरिन्छ ।

भूत भगाउँदा उसलाई टोल–टोल, दोबाटो, चौबाटोमा पूजा गराई खुशी गराउने र दिनभर जगात लिई त्यसैबाट उसको पूजाअर्चना गर्ने र साँझपख एकजना व्यक्तिलाई शृंगारि, दहीचिउरा खुवाई त्यस मूर्तिलाई ढाली खोला किनारमा विसर्जन गर्ने पनि प्रचलन छ वा घरदेखि बाहिर खोला किनारमा कसैले जलाएर वा कसैले त्यसै सेलाउने गरेको पनि पाइन्छ ।

यसरी पूजा गर्दा भूतले मलाई सम्मान गरेको छ भनी घरबाहिर निस्कने र खोलासम्म पुग्ने हुँदा, त्यो भूत पुनः घरमा नफर्कियोस् भनी त्यसै दिन फलामको तीनखुट्टे किला घरको मूल ढोकामा ठोक्ने चलन पनि चलेको हो भन्ने भनाई छ । त्यस दिन फलामको औंठी वा फलामबाट निर्मित गहना धारण गरेमा वा घरमा राखेमा भूतप्रेत लाग्दैन भन्ने पौराणिक सत्य पनि यस पर्वले बोकेको छ ।

यद्यपि यसलाई सबै जात, धर्म, संस्कृतिले वर्तमानमा स्वीकारेको पनि स्थिति छ । अहिले पनि आमाहरुले बच्चासँग हिड्दा वा सुत्दा सिरानीमा फलामको चाकु वा कर्द राख्ने चलन यद्यपि रहिरहेको छ भने हिड्दा बच्चाले लगाउने भोटीको तुनामा सानो फलामको चाकु वा कुनै हतियार झुण्ड्याइदिने चलन पनि छ । यसको साथै तीनखुट्टे राक्षसको प्रतिमूर्तिको टाङमुनि बच्चालाई छिराउने प्रचलन पनि कतै–कतै पाइन्छ ।

यो पर्वलाई कसैले यसरी व्याख्या गर्नछन् भने कसैले तेत्रायुगको अन्त्यपछि द्वापर युगको सुरुवातमा कंशजस्ता क्रुर शासकको अन्त्य गर्न या राक्षसीरुपी कंशलाई बध गर्न कृष्णको जन्म भएको इतिहाससँग जोड्ने गरेको पनि पाइन्छ र गथां मुगःलाई सेलाइसकेपछि त्यसै दिनदेखि राक्षसरुपी मुकुण्डो धारण गरी लाखे नाँच सुरु भएको हो भन्ने पनि भन्ने गरिन्छ । यसरी लाखे नाँच सुरु गर्दा राक्षसरुपी मुकुण्डोलाई कुखुरा, बोका, राँगाको (जे उपयुक्त हुन्छ त्यसको) बलि दिई सुरु गर्ने गरेको पनि पाइन्छ ।

गथां मुगः (गठेमंगल) र घण्टाकर्णलाई एउटै दृष्टिले हेर्ने गरेको पाइन्छ । वास्तवमा त्यो होइन । किनकि गथां मुगः उपत्यकामा नेवारले प्रचलन गराएको आफ्नै संस्कृति हो । यो राजा गुणकामदेवको पालादेखि सुरु भएको प्रमाण पाइन्छ भने घण्टाकर्ण (राक्षस बहिरो भएकोले निजको घाँटीमा घण्ट झुण्ड्याइएको) कथासँग जोडिएको बाहिरबाट आयातित पर्व हो भनेर पनि भन्ने गरिन्छ ।

गथां मुगः पर्व रोपाई सकिसकेपछि मनाउने पर्वको रुपमा हेरिन्छ भने घण्टाकर्णलाई त्यस रुपमा हेरिँदैन । गथां मुगःको अर्थ चौबाटो, दोबाटो, चोक जहाँ भूतप्रेतको वास हुन्छ भन्ने मान्यतासँग जोडिएको छ । जुन कुरा अहिले काठमाडौंको चोक–चोक, गल्ली र चौबाटोमा राखिएका प्रचलित नामबाट बुझ्न सकिन्छ ।

अर्को अर्थमा यसलाई तान्त्रिक विद्या सिक्ने र साधन गर्ने दिनको रुपमा पनि लिने गरेको पाइन्छ । चाहे जे होस् सारांशमा भन्ने हो भने यो राक्षसी प्रवृत्तिको अन्त्य गरी सकारात्मक प्रवृत्तितिर मानिसको चिन्तन बढाउने पर्वको रुपमा यसलाई मान्न सकिन्छ । मानिस बुद्धिमान प्राणी हो । यसले राक्षसी प्रवृत्तिको अन्त्य गरी सुविचारद्वारा आफू र जगतको कल्याण गर्छ भन्ने सत्य यसभित्र छिपेको छ ।

आजभोलि यसलाई गठेमंगल नाम दिए पनि वास्तवमा यसको नाम गथां मुगः हो । आजदेखि नेवारको आफै मौलिक पर्व लाखेजात्रा, गाईजात्रा, रोपाईजात्राजस्ता विभिन्न पर्वहरुको सुरुवात हुन्छ र यी पर्वलाई मनाउने गरिन्छ । अर्को अर्थमा यसलाई सकारात्मक सोच बढाउने दिनको रुपमा पनि लिन सकिने आधार मान्न सकिन्छ ।