तुलबहादुर कवँर मगर
सिसहनिया, ७ साउन । राप्ती गाउँपालिकाले सहिद तथा बेपत्ता भएका परिवारलाई सम्मान स्वरूप दैनिक उपभोग्य सामग्री प्रदान गरेको छ ।
मङ्गलवार एक कार्यक्रमका बिच गाउँपालिकाले तत्कालीन जनयुद्ध, जनआन्दोलन तथा थरूहट आन्दोलनका क्रममा सहिद भएका तथा बेपत्ता पारिएका ३३ जना परिवारलाई चार्जिङ लाइट, तामाको जग, इलेक्ट्रिक जग, थर्मस र छाता वितरण गरेको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले सहिद तथा बेपत्ता भएका परिवारलाई सधैं सम्झिरहनु पर्ने बताए । पालिकाले दिएको यो सहयोग उनीहरूको सम्मानमा गरिएको प्रयास मात्र भएको उल्लेख गरे । उनले भने, ‘देशमा आज लोकतन्त्र, गणतन्त्र र सङ्घीयताको अभ्यास सम्भव भएको छ भने त्यो सहिदका बलिदानकै कारण हो । हामीले उनीहरूको योगदानलाई बिर्सनु हुँदैन । आजको हस्तान्तरण कार्यक्रम सम्मान र कृतज्ञताको प्रतीक हो ।’
अध्यक्ष विष्टले यस आर्थिक वर्षमा सहिद परिवारका सबै सदस्यको निःशुल्क स्वास्थ्य बिमा गरिदिने कार्यक्रम रहेको जानकारी दिए । पालिका सामाजिक न्याय र मानव अधिकारका पक्षमा जीवन आहुति दिने परिवारहरूको साथमा सधैँ रहने उनले बताए । उनीहरूलाई सम्मान गर्ने काम मात्र नभई व्यावहारिक सहयोग गर्नु पर्ने उनको भनाइ छ ।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, सहिद परिवारका सदस्यलगायतको उपस्थिति रहेको थियो । गाउँपालिकाले सहिद तथा बेपत्ता परिवारको सम्मानमा प्रत्येक वर्ष कार्यक्रम गर्दै आएको छ ।