वर्षालाई पढाउने सहयोगी भेटिए

गोरक्ष समाचारदाता
दाङ, ७ साउन । विभिन्न कारणले विगत एक वर्षदेखि विद्यालय जान नपाएकी ९ वर्षीया वर्षा बुढा मगर पुनः विद्यालय जाने भएकी छन् । घोराही बनाऔँ अभियानले वर्षालाई विद्यालय पठाउन संयोजन गरेको हो । डाक्टर बन्ने लक्ष्य राखेकी वर्षा टाठी तीक्ष्ण छिन् ।

‘पढेर म डाक्टर बन्छु, ठुलो भएर आफन्तलाई हेर्छु, सबैको सेवा गर्छु’, ९ वर्षीया वर्षाले थपिन, ं‘पढ्ने इच्छा छ तर स्कुल जान पाएकी थिइनँ । अब चाहिँ पढ्न जान पाउने भएँ भन्ने कुरा सुनेपछि खुसी भएकी छु ।’ स्थायी ठेगाना पूर्वी रुकुमको भुमे गाउँपालिका–९ भए पनि घोराहीमा बस्दै आएकी वर्षा युकेजीसम्म गुलरियास्थित प्रहरी बोर्डिङमा अध्ययन गरिन् ।

पढाइमा अबबल वर्षालाई पछि उनको आमाले अर्को विद्यालयमा पढाउने भन्दै अर्को विद्यालयमा लगिन् । केही समय वर्षा कक्षा १ मा अन्य विद्यालयमा अध्ययन गर्न गइन् तर विगत एक वर्षदेखि एकाएक उनको आमा लापता भइन् । धेरै वर्ष पहिले वर्षाका बुवा कमाउन भन्दै भारत गए तर बुवा निर्मल पुन अहिलेसम्म फर्किएर आएका छैनन् ।
हाल वर्षा फुपूफुवाजु सुरेश बुढा र विमलासँग बसिरहेकी छन् । रोगका कारण फुपूफुवाजुको आर्थिक अवस्था कमजोर हुनुका साथै विभिन्न समस्याले वर्षा घरमै बसिरहेकी थिइन् ।

संयोग नै मान्नुपर्छ, २०८२ साउन ५ गते वर्षाका लागि वरदा नै सावित भयो । वर्षा घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको सम्पर्कमा पुगिन् । प्रियासन दामोदर रोडमा लुम्बिनी प्रदेश सरकारले यस आर्थिक वर्षमा कालोपत्रे गर्नका लागि छुट्याएको तीन करोड रकम के–कसरी खर्च गर्न सकिन्छ भन्ने विषयमा नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष केएल बुढाथोकीसँग खिरिटिया जाँदै थिए ।

सोही समयमा दीपज्योति टोलमा वर्षासँग भेट भयो । वर्षाले पढ्ने इच्छा जाहेर गरेका कारण साउन ६ गते बिहानैदेखि प्रियासनले वर्षालाई पढाउनका लागि वातावरण बनाउने काममा लागेका थिए । झोला, कलम, कापीसहित वर्षा बस्ने घरमा मङ्गलबार बिहान केएल बुढाथोकीसहित प्रियासन पुगे । त्यसपछि प्रियासनले वर्षालाई बजार ल्याएर विद्यालय पोसाकको व्यवस्था गरिदिए ।

प्रियासनका अनुसार वर्षालाई घोराहीस्थित सरस्वती गार्मेन्टले एकजोर विद्यालय पोसाक सहयोग गरेको छ । यसैगरी घोराहीस्थित सभ्यता पाठशालाले थप पोसाक, व्याग, विद्यालयको पुस्तकलगायतका शैक्षिक सामग्री उपलब्ध गराउने भएको छ । प्रियासनको अनुरोधमा घोराही–७ पर्सामा रहेको ग्लोबल एकेडेमीका प्रिन्सिपल किरण न्यौपानेले वर्षालाई पढाउने जिम्मा लिएका छन् ।