घोराही,६ साउन । गुरुकुल एकेडेमी घोराहीले हालै कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि विशेष अभिमुखीकरण कार्यक्रम गरेको छ । विद्यार्थीहरूलाई विद्यालयको शैक्षिक, प्रशासनिक र अनुशासन प्रणालीबारे जानकारी दिने उद्देश्यले आयोजित उक्त कार्यक्रम विद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसिको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष ई.अनन्तराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको हो।
कार्यक्रममा प्रेरणादायक वक्ताका रूपमा अनिस अधिकारी तथा प्रमुख अतिथि ई. अनन्तराज घिमिरेले विद्यार्थीहरूलाई शिक्षाको महत्त्व, लक्ष्य निर्धारण र अनुशासनमा रहन आवश्यकताबारे आफ्ना विचार राखेका थिए । साथै, विद्यालयका सह–प्रधानाध्यापक महेन्द्र पौडेलले विद्यार्थीको भावी योजना निर्माणमा अभिमुखीकरणको भूमिका महत्वपूर्ण हुने बताउँदै विद्यार्थीलाई सकरात्मक सोचका साथ अध्ययनमा लाग्न सुझाव दिएका थिए ।
नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई विद्यालयका प्लस टु संयोजक राजन अधिकारीले विद्यालयको आचारसंहिता, कक्षा संचालन विधि, ड्रेस कोड, समयपालना र अनुशासनसम्बन्धी जानकारी दिइएको थियो । कक्षा १२ का प्रतिनिधि विद्यार्थीहरू शिखा न्यौपाने, अञ्जली रोका र बिबिध अधिकारीले आफ्ना अनुभव साट्दै नवप्रवेशी विद्यार्थीहरूलाई विद्यालय जीवनको उपयोगिता र तयारीबारे प्रेरणा प्रदान गरेका थिए ।
विद्यालयका शिक्षक महावीर घर्तीको स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रमको सहजीकरण कक्षा १२ की छात्रा अनुसा रावलले गरेकी थिइन्। कार्यक्रमको व्यवस्थापन परीक्षा संयोजक विबेक देवकोटाले गरेका थिए । कार्यक्रममा शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। गुरुकुल एकेडेमीले यस्ता अभिमुखीकरण कार्यक्रमहरू विद्यार्थीको आत्मविश्वास अभिवृद्धि तथा विद्यालय जीवनमा सहज रुपमा समायोजनका लागि नियमित रूपमा आयोजना गर्दै आएको छ ।