अमरराज आचार्य
दाङ,६ साउन । राप्ती गाउँपालिकाले किसानलाई १५ लाख ४७ हजार रुपैयाँ उत्पादनमा आधारित प्रोत्साहन रकम प्रदान गरेको छ । गाउँपालिकाले दूध उत्पादन गर्ने किसानहरूलाई रक्त रकम प्रदान गरेको हो ।
आर्थिक वर्ष २०८१/८२ किसानलाई उत्पादनमा प्रोत्साहनअन्तर्गत रकम प्रदान गरेको गाउँपालिकाका पशु विकास शाखा अधिकृत दामोदर आचार्यले जानकारी दिए । पालिकाले किसानलाई आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको रकम प्रदान गरेको हो । विभिन्न कारणले पालिकाले १२ महिनाको रकम दिन नसकेको पालिकाले जनाएको छ ।
दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर ४ रुपैयाँका दरले रकम प्रदान गरेको उनको भनाइ छ । डेरीमार्फत दूध बिक्री गर्ने किसानहरूलाई डेरीबाट तथ्यांक संकलन गरेर र आफैले बिक्री गर्ने किसानहरूको फर्मसम्म पुगेर अध्ययन गरी अनुदान प्रदान गरिएको उनको भनाइ छ । ‘वास्तविक किसानहरूले अनुदान रकम पाउन भनेर हामीले फिल्डमा पुगेर अध्ययन गरी वास्तविकता हेरेर प्रदान गरेका हौं’ अधिकृत आचार्यले भने ।
उनका अनुसार पालिकाले आन्तरिक बजेटबाट किसानलाई उत्पादनमा आधारित अनुदान सहयोग गरेको हो । पालिकाले तीन लाख ८६ हजार लिटर दूधको १५ लाख ४७ हजार रकम प्रदान गरेको उनको भनाइ छ । पालिकाले प्रदान गरेको यस प्रकारको सुविधा एक सय २९ जना किसानहरूले लिएका छन् । ‘वास्तविक किसानलाई उत्पादनमा आधारित प्रोत्सहान अनुदानले थोरै भए पनि सहयोग पुग्ने गरेको छ’ अधिकृत आचार्यले भने । किसानहरूलाई उत्पादनमा जोडिन प्रेरणा समेत दिने गरेको उनको भनाइ छ ।