‘नेपालगञ्जमा युद्धस्तरमा परीक्षण बढाऊ’

काठमाडौं, २४ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगञ्जमा युद्धस्तरमा परीक्षण व्यापक बनाउन प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई ध्यानाकर्षण गराएका छन् । बुधबार टेलिफोनमा कुरा गर्दै देउवाले प्रधानमन्त्री ओलीलाई ‘स्थिति थप जटिल बन्न नदिन र सन्त्रासमा रहेका नगरवासीलाई आश्वस्त राख्न’ आग्रह गरे । साथै देउवाले देशभर पिसिआर प्रविधिद्वारा परीक्षण द्रुत गतिमा विस्तार गर्न पनि भनेका छन् ।

त्यसैगरी कुवेत सरकारको सेल्टरमा राखिएका करिब ३ हजार एवं मध्यपूर्वका अन्य देशमा अप्ठ्यारोमा रहेका र विश्वभर अप्ठ्यारोमा रहेका नेपालीलाई क्रमशः उद्धार गर्नेबारे सरकारले ब्यवस्थित योजना बनाएर क्रमशः कार्यान्वयन गर्नतर्पm पनि सभापति देउवाले प्रधानमन्त्रीलाई सुझाएका छन् । ‘सीमा नाकामा क्वारेन्टाइनमा बसेको महिना दिन पुगिसक्दा पनि अझै कयौंले देश आउन नपाएको स्मरण गराउँदै तिनलाई आउन दिन एवं भारतको विभिन्न राज्यमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने ब्यवस्था मिलाउन पनि सभापति देउवाले टेलिफोनमार्फत
प्रधानमन्त्रीलाई भन्नुभएको छ’, कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए ।

उनका अनुसार सभापति देउवाले अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्नु सरकारको कर्तव्य रहेकोे स्मरण पनि प्रधानमन्त्रीलाई गराएका थिए । ‘केन्द्रीय सरकारले उद्धार गर्ने एवं प्रदेश र स्थानीय सरकारको समन्वयमा मापदण्डयुक्त क्वारेन्टाइनमा राख्ने ब्यवस्था गरेर मात्रै घर जान दिने गरी ब्यवस्थित र कडाइँका साथ कार्य गर्न र गराउन प्रधानमन्त्री समक्ष सभापतिले आग्रह र माग गर्नुभएको छ’, मुख्य सचिव पौडेलले भने ।