पार्किङ गरेको गाडीले च्यापेर एक जनाको मृत्यु

घोराही,४ साउन । दाङमा पार्किङ गरेर राखेको पिकअप बोलेरा गाडीले च्यापेर एक जनाको मृत्यु भएको छ ।

आइतबार बिहान लमही नगरपालिका–५ सुनखोली निवासी २१ वर्षीय राजेशकुमार बानियाको पिकअप गाडीले च्यापेर मृत्यु भएको हो ।

बानियालाई आफ्नै घर अगाडी रोकेर राखिएको लु ३ च ४८१४ नम्बरको गाडीले च्यापेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आइतबार बिहान करिब ६ बजेतिर गाडीको टायरमा राखिएको ओट (ढुङ्गा) हटाउने क्रममा गाडी ब्याक हुँदा च्यापेको थियो ।

गाडीले च्यापेर गम्भीर घाइते हुनुभएका बानियालाई उपचारका लागि लमही अस्पताल लगिएको थियो । उपचारका क्रममा बानियाँको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बानियाको शव लमही अस्पतालमा राखिएको र घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।