गोरक्ष समाचारदाता
दाङ, ४ साउन । स्कुले जीवनमै कलाकारिताको अधिक मोहले मोहित थिए ज्ञानेन्द्र । देउखुरीस्थित तत्कालीन बालजनता उच्च माविमा अध्ययनरत ज्ञानेन्द्र रामकृष्ण ढकालको जस्तै दुरुस्तै आवाज निकाल्न खोज्थे । रामकृष्ण ढकालका गीतहरूमा आवाज भर्दा उनका कक्षाका केहि साथीहरूले कक्षाकोठामै बेन्च ठटाएर बाजाको ताल भरिदिन्थे ।
ज्ञानेन्द्रलाई झनै उत्साह मिल्थ्यो । बरु पढाई छोड्नै सही तर गीत गाउन ज्ञानेन्द्र बढी लालायित बन्थे त उनका साथीहरू ज्ञानेन्द्रको गीत सुन्न । स्कुले जीवनदेखि नै रामकृष्ण ढकाल जस्तै गायक बन्ने बाल्य सपना साकार पार्ने लक्ष्यमा ज्ञानेन्द्र जहिल्यै कुदिरहे । संघर्षको मैदानमा घरी कुदे, घरी लत्रिए, घरि घिस्रिए ।
कलाकारिताको मैदानमा केही वर्ष अघि बामे सरेका ज्ञानेन्द्र अहिले आफूलाई गायकका रूपमा मात्रै स्थापित गरेनन्, एक कुशल संगीतकार तथा लेखकका रूपमा उभ्याउन सफल भएका छन् । उनी त गीत रेकर्ड गर्ने थलोको सञ्चालकका रूपमा समेत आफूलाई उभ्याए । कलाकार बन्न उनी काठमाडौँ चढेनन्, काठमाडौँलाई संगीतको केन्द्र मान्ने मानसिकतादेखि पर थिए ज्ञानेन्द्र । फलतः लमहीमै बसेर आफ्नो कलाकारिताको दायरालाई फराकिलो बनाउँदै लगे । यति मात्रै हैन, लमहीमै गीत रेकर्डिङ स्टुडियो सञ्चालन गरेर आफूलाई संगीतको थप प्यासीका रूपमा परिचित गराइदिए लमहीका ज्ञानेन्द्र स्वर्णकारले ।
संगीत प्रतिको यो लगाव र मेहनत केवल उनका लागि मात्रै अनुकुल बनिदिएन । संगीतको धुनमा गाउन खोजिने धेरै गलाहरूमा सुर बनिदिएका छन् ज्ञानेन्द्र । लमहीमै गीत रेकर्डिङ स्टुडियो भएकै कारण अहिले स्थानीय स्तरमा धेरै कलाकारहरूले गीत गाउने अवसर प्राप्त गरेका छन् । संगीत कर्ममा ज्ञानेन्द्रको यो उँचो कदम हो । रेकर्डिङ स्टुडियो सञ्चालन गरेका ज्ञानेन्द्रले एक पछि अर्को गीति सिर्जना जन्माइरहेका नि छन् । आधुनिक, लोक तथा समय सापेक्ष गीतहरू जन्माउन खप्पिस् छन् उनी । केही दिन अघि मात्रै ज्ञानेन्द्रले तीज गीत सार्वजनिक गरेका छन् ।
यो गीतमा उनले राजनीतिक दलका नेताहरू लक्षित व्यंग्य गरेका छन् । ‘नेता हाम्रा भएनन्, नेता राम्रा भएनन्’ बोलको तीज गीतमा ज्ञानेन्द्रले राजनीतिक दल र दलका नेताहरू जनताको अभिभावक बन्न नसकेको टिप्पणी गरेका छन् । शब्द र संगीत ज्ञानेन्द्रको रहेको यो गीतमा सोमा स्वर्णकारले स्वर भरेकी छिन् । लमहीस्थित ज्ञानेन्द्र सञ्चालक रहेको गुड भ्वाइस रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यो गीतको भिडियोमा उत्कृष्ट नृत्य समेत देख्न सकिन्छ ।