साउनमा हरियो चुरा र मेहन्दी

सुमित्रा पुन
दाङ, ४ साउन । साउन महिना सुरु भएसँगै महिलाहरू हरियो चुरा, पोते र मेहन्दीमा सजिन थालेका छन् । नेपाली परम्परा अनुसार साउनलाई विशेष महत्वको महिना मानिन्छ भने महिलाको शृङ्गारमा मेहन्दीलाई पनि महत्वपूर्ण मानिन्छ ।

हिन्दु महिलाले साउनको प्रत्येक सोमवार ब्रत बसेर भगवान् शिवको पूजा गर्ने गर्दछन् । अविवाहित महिलाले राम्रो श्रीमान् पाउने र प्रेम प्रगाढ होस् भनेर हातमा मेहन्दी लगाउने र सोमवार ब्रत बस्ने प्रचलन छ भने विवाहित महिलाले हरियो चुरा, पोते, हातमा मेहन्दी लगाउनुका साथै ब्रत बस्नाले श्रीमान्ले शारीरिक, मानसिक सुख र आर्थिक सुख प्राप्त गर्छन् भन्ने धार्मिक मान्यता छ ।

मेहन्दी जति गाढा लाग्छ उत्ति नै गाढा माया बस्छ भन्ने विश्वास पनि रहेको छ । त्यही विश्वासका कारण पछिल्लो समय साउनमा हरियो चुरापोते र हातमा मेहन्दी लगाउने प्रचलन बढ्दै गएको घोराही उपमहानगरपालिका–१५ भरतपुर निवासी लक्ष्मी श्रेष्ठ बताउँछिन । उनका अनुसार साउन महिना धार्मिक एवम् सांस्कृतिक दृष्टिले महत्वपूर्ण रहेकाले साउन महिनाभरि महिलाले हरियो चुरा, पोते र मेहन्दी लगाउने गर्दछन् ।

हातमा विभिन्न आकारमामेहन्दीसँगै मन परेको मान्छेको नाम समेत लेख्ने प्रचलन छ । हरियो रङलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको र पहेँलोलाई पवित्रताको प्रतीक मानिन्छ । साउनमा चुरा, पोते र कपडासँगै हातभरि मेहदी लगाउँदा श्रीमान्बाट शारीरिक, मानसिक र आर्थिक सुख प्राप्त हुने धार्मिक मान्यता छ ।

मेहदी लगाउने प्रचलन बढ्दै जाँदा साउनमा चुरा, पोते र मेहन्दीको व्यापार समेत बढेको व्यवसायी सङ्गीता गुप्ता बताउँछिन् । उनका अनुसार साउन महिनामा अन्य रङभन्दा हरियो, पहेँलो चुरासँगै मेहदीको व्यापार बढी हुने गरेको छ ।

धार्मिक विश्वास

धार्मिक मान्यता अनुसार साउन शिवको आराधना गर्ने महिनाका रूपमा लिइन्छ । पौराणिककालमा पार्वतीले साउन महिनाभरि निराहार कठोर ब्रत बसेर ‘भगवान् शिव’लाई प्राप्त गरेको धार्मिक विश्वास रहेकाले महिलाहरू यसलाई बढी महत्वको रूपमा लिने गर्छन् ।

साउनमा हरियो पहिरिँदा शिव खुसी हुने धार्मिक विश्वास छ । हरियो रङ सौभाग्यको प्रतीक हो । साउन हरियालीको महिना भएकाले प्रकृतिसँग आफूलाई जोड्न र नजिकिन पनि हरियो लगाउने गरिन्छ । शास्त्रमा प्रकृतिलाई ईश्वरको रूपमा लिइन्छ । हरियो चुरा र साडी लगाएर नारीले प्रकृतिलाई विशेष पूजा गरेमा आफ्नो र पतिको आयु बढ्ने धार्मिक विश्वास छ ।