स्याउ खेतीमा भविष्य खोज्दै रोल्पाका किसान

भरत विश्वकर्मा
रोल्पा, ४ साउन । करिब १० वर्ष पहिले भारतको विभिन्न ठाउँको स्याउ बगैँचामा काम गरेका सुनछहरी गाउँपालिका–४ का नन्दबहादुर घर्तीले त्यहाँको स्याउ आफ्नै गाउँमा परीक्षणका रूपमा उत्पादन गर्ने योजना बनाए ।

त्यहाँ सिकेको अनुभवलाई आफ्नै ठाउँमा प्रयोग गरी स्याउ उत्पादन गर्ने सोचले सुरु गरेको उनको स्याउ खेतीले अहिले उत्पादन दिन थालेपछि उनी डङ्ग छन् । भारतबाट केही बोट स्याउका बिरुवा ल्याएर बारीमा लगाएको केही वर्षमै उत्पादन दिन थालेपछि उनले स्याउको व्यावसायिक खेती विस्तार गर्न थालेका छन् । उनको बारीमा अहिले प्रशस्त मात्रामा स्याउका बिरुवा छन् । बारीमा करिब सयको हाराहारीमा बिरुवा रहेको उनले बताए । केही बिरुवाले उत्पादन दिएका छन् भने केही उत्पादन दिने तयारीमा छ ।

पूर्वी रोल्पाको व्यापारिक केन्द्र सुलिचौर बजारको नजिकैको दुरीमा पर्ने यस ठाउँमा स्याउले उत्पादन दिन सुरु गरेसँगै ग्राहक बारीमै पुगेर स्याउ किन्ने गर्दछन् । स्याउ खेतीका लागि रोल्पाका विभिन्न भू–भागमा उपयुक्त हावापानी भए पनि आवश्यक प्राविधिक ज्ञान र आधुनिक प्रविधिसम्बन्धी ज्ञानको अभावले यसको व्यावसायिक खेती बढाउन सकेका छैनन् ।

रोल्पाका किसानले देशका विभिन्न भू–भाग तथा भारतका स्याउ बगैँचामा काम गरेको अनुभवका आधारमा स्वदेशमै खेती गरेर आम्दानी गर्न थालेका छन् । कुनै परीक्षण तथा प्राविधिक सहयोगबिना नै नन्दरामले स्याउ फलाएका हुन् । नन्दराम अहिले पनि स्याउ उत्पादनको सिजनमा भारतमा स्याउ बगैँचामा काम गर्न जाने गरेको बताउँछन् । प्राविधिक सहयोग र आधुनिक प्रविधिको प्रयोग गरी यसको खेती विस्तार गर्न सके उत्पादनमा वृद्धि हुने सम्भावन छ ।

केही वर्षअघि बारीमा लगाएको स्याउले उत्पादन दिन थालेपछि नन्दबहादुर खुसी छन् । लामो समयदेखि स्यार सुसार, गोडमेल गर्दै हुर्काएको बोटमा लटरम्म स्याउ फल्न थालेपछि मेहनतको फल प्राप्त भएको उनी बताउँछन् । ‘स्याउ फल्न थालेको चार पाँच वर्ष भयो रोपेको २–३ वर्षमै उत्पादन दिन सुरु ग¥यो’, उनले भने, ‘बेलाबेलामा बोटमा गोडमेल र स्यारसुसार गरि रहनु पर्ने हुन्छ, यसमा प्राङ्गारिक मलको मात्र प्रयोग गरेका छौं, फलमा पनि कुनै विषादी प्रयोग गरेको छैन ।’

सिँचाइका लागि पानीको व्यवस्था नुहँदा खडेरीको समयमा बिरुवामा बोकेर पानी हाल्नुपर्ने बाध्यता रहेको उनले बताए । स्याउ रोपेको केही वर्षमै उत्पादन दिन सुरु गरेको र राम्रो आम्दानी हुन थालेपछि उनले खेतीलाई थप विस्तार गर्दै लगेका छन् । बारीको अन्य भागमा पनि स्याउ खेती क्रमशः बढाउँदै लगेको उनले बताए । हाल ६० भन्दा बढी बोटले राम्रो फल दिइरहेको उनी बताउँछन् ।

अघिल्लो वर्षको सिजनमा ४०–५० हजार बराबरको आम्दानी भएकोमा अहिले भने उत्पादन समेत वृद्धि भएकाले आम्दानी बढ्ने उनको अनुमान छ । स्याउको बजारका लागि भने खासै समस्या नभएको उनले बताए । ‘व्यापारको लागि खासै समस्या छैन’, उनले भने, ‘ग्राहक बारीमै आएर पनि लैजाने गरेका छन् साथै अर्डर (माग) पनि आउने गर्दछ ।’

उत्पादन राम्रो दिने सम्भावना देखेपछि यसलाई बढाउँदै लैजाले सोच बनाएको उनले बताए । प्रतिकेजी पाँच सयका दरले स्याउ बिक्री भइरहेको उनी बताउँछन् । जिल्लामा पछिल्लो समय स्याउ खेती गर्ने किसानको संख्यामा पनि वृद्धि हुँदै गएको छ । जिल्लाको थबाङ, गंगादेव, सुनछहरी गाउँपालिकाका विभिन्न क्षेत्रमा पछिल्लो समय स्याउको व्यावसायिक खेती विस्तार हुन थालेको छ ।

देशमा रोजगारीको अभावमा दैनिकी रुपमा हजारौंको संख्यामा विदेश पलायनको अवस्थालाई न्यूनीकरण गर्न सरकारले युवालाई कृषि क्षेत्रमा प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन आवश्यक छ । कृषिलाई आधुनिक प्रविधिसँग जोड्दै प्राविधिक सहयोगको व्यवस्था गर्न सके किसानलाई राहत हुने थियो । किसानहरुले परम्परागत प्रविधिकै प्रयोग गरी उत्पादन गरिरहेका कारण पनि उत्पादनमा वृद्धि गर्न नसकिएको देखिन्छ ।