पाठेघरको मुखको क्यान्सर जाँच, डेढ सय बढीलाई सेवा

तुलबहादुर कवँर मगर
सिसहनिया, ४ साउन । राप्ती गाउँपालिका–५ स्थित राप्ती आधारभूत अस्पताल कालापानीमा शनिवार आयोजित पाठेघरको मुखको क्यान्सर जाँच तथा परामर्श शिविरमा डेढ सय बढी महिलाले सेवा लिएका छन् ।

राप्ती गाउँपालिका, स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्था (हिको) र ओसिसारा स्वास्थ्य परामर्श केन्द्र बुटवलको संयुक्त आयोजनामा तथा ए–वान केपीएल हेल्थ डायग्नोस्टिक्स, लुम्बिनी राउन्ड टेबल–१६ क्लब र सिसहनिया उद्योग वाणिज्य संघको सहकार्यमा शिविर भएको हो ।

शिविरमा एक सय ७८ जना महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गरिएको आयोजकले जानकारी दिएका छन् ।

शिविरमा बरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा प्रायश्चित श्रेष्ठ, डा. शर्मिला शर्मा, नाक–कान–घाँटी रोग विशेषज्ञ डा केबी श्रेष्ठ, रेडियोलोजी विशेषज्ञ डा तृष्णा श्रेष्ठ, जनरल सर्जन डा नविन श्रेष्ठ, हाडजोर्नी तथा बाथरोग विशेषज्ञ डा राजकृष्ण श्रेष्ठ, प्याथोलोजिस्ट डा आदर्शकुमार झुनझुनवाला, स्वास्थ्यकर्मी रजनी राना, एलिना गुरुङ, विनिता थापा, शुष्मा श्रेष्ठलगायतको चिकित्सकीय टोलीले सेवा दिएको थियो ।

शिविरको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले पछिल्लो समय क्यान्सर जस्ता नसर्ने तर घातक रोगको जोखिम बढिरहेको बताए । यस्ता रोगहरूको प्रारम्भिक पहिचान तथा रोकथामका लागि स्वास्थ्य शिविर आवश्यक रहेको उनले बताए । उनले भने, ‘अब उपचारभन्दा पनि रोकथामलाई प्राथमिकता दिनुपर्छ । यस्ता खालका शिविरले रोगको सुरुवाती अवस्था पत्ता लगाउन मद्दत गर्छन्, जसले उपचारलाई सहज र कम खर्चिलो बनाउँछन् ।’ नसर्ने घातक रोगबाट बच्न स्वास्थ्य शिक्षा, खानपिन र जीवनशैली सुधारमा पध्यान दिनुपर्ने उनले बताए । मन्त्री सारुले प्रदेश सरकारले मुटु, मृगौला र क्यान्सर जस्ता दीर्घरोगका निःशुल्क उपचारका लागि अधिक्तम दुई लाख रुपैयाँसम्मको सहायता उपलब्ध गराउँदै आएको जानकारी दिए । आगामी दिनमा स्वास्थ्य पूर्वाधार सुदृढीकरण, जनचेतना अभिवृद्धि र नियमित स्वास्थ्य परीक्षण कार्यक्रमलाई अझ प्रभावकारी बनाइने उल्लेख गरे ।

राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले पछिल्लो समय महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिम बढ्दै गएको प्रति चिन्ता व्यक्त गरे । उनले समयमै पहिचान गरी क्षति न्यूनीकरण गर्न पालिकाले अभियानकै रूपमा शिविर सञ्चालन गर्दै आएको जानकारी दिए ।

‘स्वास्थ्य नै सम्पत्ति हो भन्ने मान्यतालाई व्यवहारमा उतार्दै रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनेतर्फ केन्द्रित हुनुपर्छ । समयमै परीक्षण गरिए दीर्घरोगबाट बच्न सकिन्छ’, अध्यक्ष विष्टले भने । शिविरमा सहयोग पु¥याउने सम्पूर्ण संस्था, चिकित्सक र स्वास्थ्यकर्मीप्रति आभार प्रकट गर्दै यस्ता खालका शिविर आगामी दिनमा पनि निरन्तरता दिइने बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमलापती चौधरी, स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ, वडा नं. ५ का वडाध्यक्ष देवप्रसाद चौधरी, वडा सदस्य गोविन्दबहादुर कुँवर क्षेत्री, रोशन चौधरी, ओसिसारा केन्द्रका सल्लाहकार सूर्यकुमार श्रेष्ठ, व्यवस्थापक गंगाकुमारी श्रेष्ठ, सिसहनिया उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद अधिकारी, स्वास्थ्य शाखा प्रमुख नारायण राउत, राप्ती आधारभूत अस्पतालका प्रशासन प्रमुख धनबहादुर खड्का, मेसु डा. श्रवण चौधरी, हिको संस्थाका अध्यक्ष गरिबु चौधरीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्यकर्मी रामराज पौडेलले गरेका थिए ।