अन्तर्राष्ट्रिय योग दिवसबारे छलफल

गोरक्ष समाचारदाता

दाङ, २ साउन । हिन्दु विद्यापीठ नेपाल घोराहीमा योगबारे छलफल भएको छ । विद्यापीठका प्रबन्ध निर्देशक डा भोलानाथ योगीको अध्यक्षता तथा संस्कृतिविद् तथा अन्तर्राष्ट्रिय प्रवचनकर्ता डा चिन्तामणि योगीको प्रमुख आतिथ्यता एवम् लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा योगीले योग जीवनको अभिन्न अङ्ग भएकाले यसलाई व्यापक बनाउन जरुरी रहेको बताए । पूर्वीय संस्कृतिबाट सुरु भएको योग अहिले विश्वभरि फैलियको भन्दै प्रशंसा गरे । योग विदेशको नभई आफ्नो बनाउनु नेपालीको कर्तव्य भएको बताएका थिए । विशिष्ट अतिथि मन्त्री न्यौपानेले आफूले गर्न खोजेको अन्तर्राष्ट्रिय योग कार्यक्रम डा भोलानाथ योगीको पहलमा दाङमै हुन लागेकोमा खुसी व्यक्त गरे ।

प्रदेश सरकारको तर्फबाट भरपुर सहयोग रहने बताउँदै मन्त्री न्यौपानेले यसमा सबैलाई सहयोग गर्न अनुरोध गरे । कार्यक्रममा प्राध्यापक प्रेम शाह, गोविन्द न्यौपाने, मन्जु रेग्मी, चन्द्रराज पन्त, हिन्दु विद्यापीठका प्रिन्सिपल पिताम्बर रिजाललगायतले भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण प्राध्यापक किशोरचन्द्र गौतमले गरेका थिए ।