घोराही, २ साउन । घोराही उपमहानगरपालिका, १७ गुलरियास्थित शिवपार्वती तथा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको आयोजनामा एक महिने श्री शिव महापुराण तथा श्रृङ्गारिक महाआरतीको विधिवत रुपमा उदघाटन गरिएको छ ।
ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सहिद स्मारक पार्क, सांस्कृतिक संग्रहालय परिसर र शिव पार्वति तथा राधाकृष्ण मन्दिरको संरक्षण तथा भौतिकस्तर उन्नतिका लागि आयोजित शिवपुराण तथा श्रृङ्गारिक महाआरतीको घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीले बिहीबार एक समारोह बीच विधिवत रुपमा उदघाटन गरेकी हुन ।
शिवपार्वती तथा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवम् शिवपुराण तथा श्रृङ्गारिक महाआरती मूल आयोजक समिति संयोजक गोविन्द गोराथोकीको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि डिसीले मन्दिर व्यवस्थापन समितिले धार्मिक अनुष्ठानका माध्यमबाट पार्क व्यवस्थित गर्न थालेको प्रयास सराहनीय रहेको बताइन ।
धार्मिक जागरण फैलाउँदै मानवताको विकास गर्न, सामाजिक काममा जुटेर अघि बढ्नुपर्छ भन्ने भावसहितको सन्देश कार्यक्रमले दिएको बताइन । एक महिने शिव महापुराण तथा श्रृङ्गारिक महाआरतीका माध्यमबाट पार्कको अधुरा, अपूरा काम सम्पन्न गर्न राज्यलाई पनि गतिलो सन्देश दिएको उनको भनाई थियो । आफ्नै गाउँ टोलमा आयोजित पुण्य काममा सबै मिलेर धार्मिक अनुष्ठान गर्न सके राम्रो हुने हुँदा यसमा आफुले पनि सहयोग गर्ने बताइन । गुलरिया पार्क राम्रो बनाउनु सबैको साझा दायित्व र जिम्मेवारी रहेको हुँदा यो कार्यक्रमले भोलिका दिनमा व्यवस्थित पार्क बनाउन सहयोग पुग्ने बताएकी हुन ।
वडा नम्बर १७ का वडा अध्यक्ष रामलौटन चौधरीले महापुराणले धार्मिक जागरण फैलाउन र यस क्षेत्रको विकासमा सघाउ पुर्याउने अपेक्षा लिएको बताए । । कार्यक्रममा शिव महापुराण तथा श्रृङ्गारिक महाआरतीका प्रमुख कथावाचक सुप्रसिद्ध पण्डित आचार्य श्यामशरणले दैनिक नित्यकर्मका बारेमा जानकारी गराएका थिए ।
उनका अनुसार हरेक दिन बिहान साढे ४ बजेदेखि योग साधनाबाट शुरु हुने कार्यमा रुद्री, रूद्राभिषेक, लक्ष्यवर्तिका, चौरासी पूजा, जन्मदिन, गृहपूजा, नाग पूजा, ब्राह्मण भोजन, प्रसाद वितरण, ब्रतबन्ध, चूडाकर्मलगायत कार्य हुने छ । बिहान १० बजेपछि प्रसादी, १२ बजेपछि शिवकथा, देव लीला, झाँकी, भजन किर्तन हुनेछ । यसैगरी, ४ बजेपछि साँझको प्रसादी, ७ बजेपछि दैनिक महाआरती हुनेछ । हरेक सोमबार शिवको सहस्त्र नामले विशेष मेला पर्व गरि १ हजार ८ बेलपत्र चढाईने छ । यज्ञ सफल हुनु नै यहाँको विकासमा टेवा पुग्ने उनको धारणा छ ।
नेपाल पत्रकार संघका केन्द्रीय सचिव सविन प्रियासनले सबैको सहभागीतामा सामाजिक काम सफल हुने विश्वास व्यक्त गरे । आयोजकले लिएको लक्ष्य पूरा गर्नका लागि थालनी गरिएको शिव महापुराण तथा श्रृङ्गारिक महाआरती महत्त्वपूर्ण माध्यम रहेको हुँदा सामाजिक काममा सबैले साथ दिनुपर्ने बताए । नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले धार्मिक जागरणका माध्यमबाट थालिएको सामाजिक कामलाई सफल बनाउन जुट्ने बेला आएको बताउनुभयो । पूर्वीय दर्शनले सबैको हित चिताउने हुँदा विज्ञान सम्मत रुपमा यसको सही प्रयोगमा लाग्नुपर्ने बताए ।
ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सहिद स्मारक पार्क, सांस्कृतिक सङ्ग्रहालय परिसर र शिव पार्वती तथा राधाकृष्ण मन्दिरको संरक्षण तथा भौतिक स्तर उन्नतिका लागि विशेष धार्मिक कार्यक्रम शुरु भएको छ । धार्मिक अनुष्ठानबाट बचेको रकम मन्दिर परिसरको सौन्दर्यकरण, सङ्ग्राहालयको स्तरोन्नति, पदमार्ग, विश्राम गृह, बत्ती व्यवस्थापन, पानी सुविधा जस्ता आधारभूत संरचनाको सुधार तथा थप विकासमा खर्च गरिने जनाइएको छ ।
कार्यक्रम उदघाटन गर्नुअघि बिहान १० बजे विभिन्न टोल विकास संस्था, संस्था, विद्यार्थीहरुको उपस्थितिमा बाजागाजासहित भव्य कलशयात्रा निकालिएको थियो । उक्त कलशयात्रा गुलरिया पार्कबाट निस्केर तुलसीपुर चोक, दामोदर चोक, शहिद गेट, जिल्ला प्रशासन हुँदै शिवपुराण तथा श्रृङ्गारिक महाआरती हुने स्थलमा पुगेको थियो । साउन ३१ गतेसम्म निरन्तर रुपमा हुने शिव महापुराण पाठ तथा श्रृङ्गारिक महाआरतीमा धार्मिक प्रवचन, भजन–कीर्तन, दैनिक आरती, शिव महिमा सम्बन्धी विशेष प्रस्तुतिमा सरिक हुन आयोजकले भक्तजनहरुमा आग्रह गरेको छ ।
शिवपुराण तथा श्रृंगारिक महाआरति मूल आयोजक समितिका सहसंयोजक बेचन वलीको स्वागत मन्तव्यबाट शुरु भएको उदघाटन समारोहको सहजीकरण समितिका सचिवद्वय दीपक वली र कमल वलीले गरेका थिए ।