एक हजार एक सय बढी पशुमा कृत्रिम गर्भाधान

अमरराज आचार्य दाङ, १ साउन । राप्ती गाउपालिकामा एक वर्षको अवधिमा एक हजार एक सय ७१ गाई, भैँसी तथा बाख्रामा कृत्रिम गर्भाधान गराइएको छ । पालिकाले किसानले पालन गरेका पशुचौपायामा कृत्रिम गर्भाधान गराउन सहयोग गर्दै आएको पशु विकास अधिकृत दामोदर आचार्यले बताएका छन् ।

पशु विकास अधिकृत आचार्यका अनुसार पाँच सय ३८ वटा गाई, छ सय २५ भैँसी र आठ वटा बाख्रामा कृत्रिम गर्भाधान गराइएको हो । पशुमा कृत्रिक गर्भाधान गराउन किसानले एक सय रुपैयाँ तिनुपर्छ भने पालिकाले ती सय रुपैयाँ अनुदान रकम उपलब्ध गराउने गरेको छ । एउटा पशुमा कृत्रिक गर्भाधान गराउन चार सय रुपैयाँ खर्च लाग्ने गर्छ ।

पालिकाले पशुमा कृत्रिम गर्भाधान गराउँदा चार सय रुपैयाँ बढी लिन नपाउने नियम बनाएको छ । कृत्रिम गर्भाधानले उत्पादन वृद्धि गर्न तथा पशु सुधारमा समेत सहयोग पुग्ने गरेको बताइएको छ । यसैगरी पालिकाले बधिया भालेको प्रवर्धनका लागि सहयोग गर्दै आएको छ । पालिकाले आर्थिक वर्ष ०८१÷०८२ मा आठ जना बधिया भाले पालन गर्ने किसानलाई दुई सय ५० वटा भालेको २५ हजार रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराएको छ ।

पालिकाले प्रतिबधिया भाले एक सय रुपैयाँका दरले अनुदान रकम उपलब्ध गराउँदै आएको शाखा अधिकृत आचार्यले बताए । बधिया भाले दाङको पहिचानका रूपमा रहकाले पालिकाले बधिया भाले प्रवर्धनका लागि अनुदान रकम उपलब्ध गराएको उनले बताए ।