गोरक्ष समाचारदाता
तुलसीपुर, २ साउन । अमेरिका जानेक्रममा बाटोमै अस्ताएका पूर्णबहादुर डाँगीका परिवारलाई छ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । नेपाली कांग्रेस दाङका सभापति शंकरप्रशाद डाँगीले डाँगी परिवारजनलाई छ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगी, तुलसीपुरका नगर सभापति सुरेश हमाल, तुलसीपुर वडा नम्बर ९ का वडाध्यक्ष घनश्याम ढकाल, कांग्रेसका युवा नेताहरू दुर्गाबहादुर खड्का र सन्तोष चौधरीलगायतले स्व पूर्णका बुवा तेजबहादुर डाँगीलाई छ लाख तीन हजार सात सय रुपैयाँ हस्तान्तण गरेका हुन् ।
अमेरिकामा रहेको राप्ती समाजका अध्यक्ष डिबीबहादुर रावतको नेतृत्वमा उक्त रकम सङ्कलन गरिएको थियो । कांग्रेस दाङका सभापति डाँगीले पीडित परिवारजनका लागि आपसमा सहयोग जुटाउन अमेरिकामा रहेका रावतलाई आग्रह गरेका थिए । गत फागुन २१ गते अमेरिका जानेक्रममा घानाको आका भन्ने स्थानमा हृदयघातका कारण डाँगीको ३७ वर्षको उमेरमा निधन भएको थियो ।
तामाङलाई सहयोग
यसैबिच गीता तापाङको स्वास्थ्योपचारका लागि सहयोग सङ्कलन भएको छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वाथ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत सञ्चालित कोइलाबास आँखा उपचार तथा सर्जिकल सेन्टरमा कार्यरत कार्यालय सहयोगी गीता तामाङको स्वास्थ्योपचारका लागि राप्ती आँखा अस्पतालका कर्मचारीले ५२ हजार छ सय २५ रुपैयाँ सङ्कलन भएको छ ।
आर्थिक सङ्कलन सँगै सो रकम आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका प्रमुख प्रशासक डा.सम्शेर थापालाई हस्तान्तरण गरिएको अस्पतालका नेत्र अधिकृत शालिकराम गौतमले जानकारी दिए । तामाङको आन्द्रामा क्यान्सर भइ देव अस्पताल भरतपुर चितवनमा शल्यक्रिया गरेको र उपचार गर्न थप रकम आवश्यक पर्ने भएको छ ।
घरको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या हुने भएपछि आर्थिक सहयोगको लागि आग्रह गरिएको छ ।