किसानलाई ठगी गर्ने राँगा व्यापारी पक्राउ

घोराही, १ साउन । दाङमा प्रहरीले किसानलाई ठगी गरेको आरोपमा एक जना व्यापारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका–४ पर्सा निवासी ४४ वर्षीय मोहम्मद जमिल मुसलमान रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभएको छ ।

सूचना अधिकारी शाहका अनुसार आरोपी मुसलमानलाई प्रहरीले बुधवार गढवाबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार मुसलमानले दंगीशरण गाउँपालिका–४ निवासी तेजमान चौधरीसहित ३ जना किसानसँग २ लाख ८० हजार मुल्य बराबरका ६ वटा राँगा २०८० माघ २३ गते उधारोमा लगेर पैसा दिएका थिएनन् । राँगा लगेर व्यापारी सम्पर्क विहिन भएपछि किसानले २०८१ मंसिर २१ गते मुसलमान विरुद्ध ठगी गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय दाङमा निवेदन दिनुभएको थियो ।

जिल्ला प्रशासन कार्यालय दाङमा निवेदन परेपछि प्रहरीले खोजविन गर्ने क्रममा बुधवार पक्राउ गरेको हो । प्रहरी नायव उपरीक्षक शाहले भन्नुभयो,‘राँगा लगेपछि लामो समयसम्म सम्र्पक विहिन भएको र किसानले भेट्दा घरमै आएर पैसा दिन्छु भन्ने तर नदिएर किसानलाई दुःख दिने गरेको रहिछ ।’