दाङ,१ साउन । नेपाल इन्जिनियर्स एशोसियसन लुम्बिनी प्रदेशले ६३ औँ इन्जिनियर्स दिवस विभिन्न कार्यक्रम गरेर मनाउन सुरु गरेको छ । लुम्बिनी प्रदेश इन्जिनियर्स एशोसिएसनका सभापति महेश्वर लम्सालको अध्यक्षतामा नेपालगञ्जमा औपचारिक कार्यक्रमको आयोजना गरि स्थापना दिवश मनाउन सुरु गरिएको हो ।
‘इञ्जिनियरिङ विकासको मेरुदण्ड, समृद्ध राष्ट्रको आधार’ भन्ने नाराका साथ विभिन्न स्थानहरूमा कार्यक्रमहरू आयोजना गरेर दिवस मनाउन थालिएको बिहीबार घोराहीमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ । जस अनुसार बिहीबार नेपालगञ्जको भेरी अस्पतालमा जीवनरक्षा तथा सामाजिक उत्तरदायित्वप्रति इञ्जिनियरहरूको प्रतिवद्धतासहित रक्तदान कार्यक्रम गरिएको लुम्बिनी प्रदेश इन्जिनियर्स एशोसिएसनका सभापति लम्सालले बताए ।
स्थापना दिवसअन्तर्गत शुक्रबार दाङको घोराहीस्थित राप्ती इन्जिनियरिङ कलेजमा नयाँ पुस्तासँग ज्ञान आदानप्रदान र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले विद्यार्थीहरूसँग अन्तरक्रिया गरिने भएको छ भने कभर्ड हलमा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । त्यसैगरी साउन ३ गते इञ्जिनियरहरू बीचको मित्रता, फिटनेस र सहकार्यको प्रतीक मान्दै बुटवलमा फुटसल प्रतियोगिता गरिने भएको छ ।
त्यसैगरी साउनको ६ गते इञ्जिनियरिङ क्षेत्रमा खटिएका श्रमिकलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । समसामयिक प्रविधि, चुनौती, अवसर तथा संगठनको आगामी योजना सार्वजनिक गर्दै साउन ९ गते बुटवलमा सेमिनार, वार्षिक साधारणसभा र समापन समारोह आयोजना गरि ६३औँ इन्जिनियर्स दिवस मनाउन लागिएको छ । देशभरबाट ४५ हजार बढी इन्जिनियरहरु इन्जिनियर्स एशोसिएसनमा आवद्ध रहेको र लुम्बिनी प्रदेशमा २ हजार बढी आवद्ध रहेको बताए । पत्रकार सम्मेलनमा बोल्ने बक्ताहरुले इन्जिनियरिङ क्षेत्रको महत्व औंल्याउँदै प्रदेश सरकारलाई पूर्वाधार विकासमा समृद्ध बनाउन इन्जिनियरहरूको माग र क्षमतालाई अधिकतम उपयोगमा ल्याउन यस प्रकारको कार्यक्रमले सघाउ पुग्ने बताएका थिए ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष शैलेन्द्र श्रेष्ठ, पूर्व अध्यक्ष पारस खड्कालगायतले इन्जिनियर र समुदाय बीचको दुरी घटाउँदै इन्जिनियर पेशाको महत्व उजागर गर्न ध्यान दिनुपर्नेमा जोड दिएका थिए । पत्रकार सम्मेलनको सहजीकरण इन्जिनियर्स एशोसिएसन लुम्बिनीका सहसचिव संकल्प बुढाथोकीले गरेका थिए ।
यसैविच स्थापना दिवसअन्तर्गत राप्ती इन्जिनियरिङ कलेजमा आयोजना गरिएको नयाँ पुस्तासँग ज्ञान आदानप्रदान र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले विद्यार्थीहरूसँगको अन्तरक्रिया कार्यक्रम र ब्याडमिन्टन प्रतियोगितामा उपस्थीतिका लागि कार्यक्रम संयोजक दैवज्ञराज जोशी (डिके) ले सवैमा आग्रह गरेका छन् । कार्यक्रम संयोजक जोशीका अनुसार अन्तरक्रिया कार्यक्रम विहान ७ बजे राप्ती इन्जिनियरिङ कलेज र ब्याडमिन्टन प्रतियोगिता शुक्रवार विहान १० बजेदेखि घोराही–१४ मा रहेको घोराही कवर्ड हलमा हुने भएको छ ।