राप्तीमा सरसफाइ रनिङ शिल्ड

गोरक्ष समाचारदाता
भालुबाङ, १ साउन । राप्ती गाउँपालिकामा बुधवार ‘सरसफाइ रनिङ शिल्ड प्रतियोगिता’ सम्पन्न भएको छ । गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त बनाउने दीर्घकालीन लक्ष्यसहित सुरु गरिएको सरसफाइ अभियान अन्तर्गत सरसफाइ रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा राप्ती गाउँपालिका वडा नम्बर १ प्रथम र वडा नं. ८ द्वितीय भएका छन् । प्रतियोगितामा प्रथम हुने वडाले १ लाख रुपैयाँ बराबरको र द्वितीय हुने वडाले ५० हजार रुपैयाँ बराबरको सरसफाइ सामग्री र प्रमाणपत्र प्राप्त गरेको छन् ।

यसैगरी वडा तहका उत्कृष्ट टोल विकास संस्थालाई २०÷२० हजार रुपैयाँ र प्रमाणपत्रले सम्मान गरिएको छ । सरसरफाइमा योगदान गरेका विभिन्न संघसंस्थालाई सम्मान गरिएको थियो भने ट्याक्टर चालक, सरसफाइकर्मीलाई नगद एक हजार ५ सय रुपैयाँसहित पुरस्कृत गरिएको थियो ।

सार्वजनिक सरसफाइमा देखिएको जागरण र सहभागिता मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । मूल्याङ्कनका क्रममा खुला दिसामुक्त अवस्था, सार्वजनिक स्थानमा सरसफाइको अवस्था, विद्यालय र स्वास्थ्य संस्थामा साबुन तथा पानीको पहुँच, कुहिने–नकुहिने फोहोरको वर्गीकरण, टोल तथा वडा सौन्दर्यकरण, नियमित मासिक सरसफाइ बैठक तथा सरसफाइ कार्यक्रमको सङ्ख्यासहित १२ वटा सूचकलाई आधार बनाइएको थियो ।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले सरसफाइलाई समुदायको संस्कारको रूपमा विकास गर्न आवश्यक रहेको बताए । गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त बनाउने मार्गमा सबैको साझा प्रतिबद्धता जरुरी भएको अध्यक्ष विष्टले बताए ।

उनले टोल विकास संस्थालाई थप सशक्त र गतिशील बनाउँदै यस्ता अभियानलाई निरन्तरता दिन जानकारी दिए । कार्यक्रममा उपाध्यक्ष कमलापति चौधरीले प्रतियोगिताबाट वडाबिच सकारात्मक प्रतिस्पर्धा सुरु भएको बताउँदै सरसफाइ स्वास्थ्य र वातावरणसँग जोडिएको संवेदनशील विषय रहेको बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले सरसफाइ अभियानलाई प्रभावकारी बनाउने कार्यमा समुदाय र स्थानीय सरकारबिचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै सबैलाई नियमित सरसफाइमा सहभागी हुन आग्रह गरे । कार्यक्रममा वडाध्यक्षहरू, सरोकारवाला निकाय, टोल विकास संस्थाका प्रतिनिधि, पालिकाका कर्मचारी र स्थानीयको उपस्थिति रहेको थियो ।

सरसफाइलाई दिगो अभ्यास बनाउँदै लैजान ‘सरसफाइ रनिङ शिल्ड प्रतियोगिता’ उपयोगी माध्यम भएको सहभागीको धारणा थियो । राप्ती गाउँपालिकाले करिब एक वर्ष पहिले वडा नं. २ को पुण्यपुरमा सरसफाइ केन्द्र स्थापना गरी प्लास्टिकजन्य फोहोरबाट इन्टरलक टायल उत्पादन गर्दै आएको छ । कार्यक्रमाको सहजीकरण आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्यले गरेका थिए ।