निःशुल्क स्वास्थ्य बिमा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान !

दिनेश दिपु सुवेदी

चार महिना अघि रोल्पा होलेरीकी ४६ वर्षीया एक महिला पेट दुख्ने समस्याले सताएपछि तुलसीपुरमा रहेको प्रादेशिक अस्पताल पुगिन् । ऋण गरेर गएकी उनको जाँच गर्दागर्दै १५ हजार रुपैयाँ सकियो ।

डाक्टरले पाठेघरमा मासु पलाएको र अप्रेशन गर्नुपर्ने भन्दै ६०÷७० हजार रुपैयाँ खर्च लाग्ने सुनाए । ५० हजार रुपैयाँ जुटाउन नसक्ने भएपछि उनी उपचार नगराएरै घर फर्किइन् । गाउँमा कसैले निःशुल्क स्वास्थ्य बिमाले उपचारमा सहयोग गर्छ भनेको सुनेपछि पुनः ३५ सय ऋण गरेर स्वास्थ्य बिमा गरिन् ।

होलेरीको नजिक घोराही पर्ने भएकाले उनले बिमाको प्रथम सेवा विन्दु राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रोजिन् । तीन महिनापछि बिमाको सुविधा पाइने भएपछि उनी गत साता घोराही स्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगिन् तर उनको दुर्भाग्य अस्पतालमा आन्दोलन भएकाले रित्तै होलेरी फर्किइन् ।

अस्पताल खुलेको जानकारी पाएपछि पुनः अस्पताल गएकी उनले ‘सरभर डाउन छ’ भनेपछि बिमा सेवा पाउन सकिनन् । असार ३० देखि ३२ गतेसम्म नाम दर्ता गर्न नपाएपछि उनको उपचार अन्योलमा प¥यो । प्रतिष्ठानलाई साउन १ गतेदेखि रिफरल सेन्टरका रूपमा मात्र सेवा दिने भन्ने निर्णयले उनी पाठेघरको ट्युमर बोकेर तन र मन दुखाउँदै पुनः रोल्पा फर्किइन् ।

अब उनलाई प्रथम सेवा बिन्दु कहाँ कसरी राख्ने अनि रिफर लिन फेरि कहाँ जाने र अप्रेशन कहिले गर्ने भन्ने अन्यौलता छ । अक्षर चिन्न नसक्ने उनलाई आफ्नो स्वास्थ्य समस्याले केही भइहाले ‘सन्तानको भविष्य के हुने हो’ भन्ने चिन्ताले थप पिरोल्न थालेको छ । अर्के बिहे गरेर श्रीमान् हिडेपछि तीन छोराछोरीको समेत जिम्मा लिएर बसेकी उनको घर वर्षातमा बस्न मिल्ने अवस्थाको छैन ।

रात परेपछि अर्काको घरमा बास बस्न जाने उनलाई अब उपचार एकादेशको कथा हुनेछ । यो एउटा प्रतिनिधि घटना मात्र हो । यहाँ विपन्नका यी र यस्ता कथा÷व्यथा हरेक दिन बुनिन्छन् तर सुनिन्नन् । बिहानै देखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिने बिरामीको अस्तव्यस्त घुइँचोका बिचमा उनीहरूले दैनिक झेलेका अनेकन समस्याबारे स्थानीय सरोकारवाला मौन देखिन्छन् ।

निर्वाचनका बेला दैलोसम्म पुग्नेदेखि समाजसेवा भँजाउनेहरू जनताका दुःखमा मौन प्रायः छन् । तत्कालीन राप्ती क्षेत्रको केन्द्र दाङमा रहेको प्रतिष्ठान हुँदाखानेका लागि परको बनेको छ । यो क्षेत्रका दुर्गमका विपन्नका लागि ‘आहा !’ बन्नु पर्ने यो अस्पतालमा यतिबेला सबैले अपनत्व ग्रहण गर्न सक्ने सेवा देखिएको छैन ।

भौतिक संरचना, डाक्टरी पढाइ ‘आहा ! दाङ र आसपासका मानिसका रोजाइँ’ कुनै बेलाको महेन्द्र अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिणत हुँदै गर्दा धेरैलाई ‘अब सहज हुन्छ’ भन्ने थियो तर निःशुल्क स्वास्थ्य बिमाको पछिल्लो निर्णयले सबैलाई दुखाएको छ ।

दाङ अझ ‘घोराही मेरो हो अर्थात् यहाँको ठेकेदार मै हु’ भन्नेहरू र हिजो राजनीति गर्दै गर्दा अस्पतालमा ताला लाउने अनि स्वास्थ्यकर्मी लछारपछार गर्नेहरू यति ठुलो समस्यामा मौन प्रायः छन् । ‘जिल्ला होइन प्रदेश र देश नै हाम्रो नियन्त्रणमा छ’ भनेर धाक लगाउनेहरूको नाडी छाम्ने मौका यतिबेला जनताले पाएका छन् ।

विधिपूर्वक आउने योजनामा ‘मेरो दल वा मेरा नेताले ल्याए’ भनेर सामाजिक सञ्जाल रङग्याउनेहरू यतिबेला देखिएका छैनन् । कुनै बेला टाठाबाठा दङगालीको आफ्ना वा आफन्त भर्ती केन्द्र बनेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा एकादेशको नबनोस् । सबैले अपनत्व लिने गरी सेवा प्रवाह होस् । होलेरीको होइन घोराही र सो आसपासका बिरामी रिफर ल्याउन अलि पर तुलसीपुर, लमही वा बंगलाचुली जान नपरोस्, शुभकामना ।