गुलरियामा हुने शिवपुराण तथा श्रृंगारिक महाआरतीको तयारी पूरा

घोराही, ३२ असार । घोराही–१७ गुलरियामा सञ्चालन हुने शिवपुराण तथा श्रृंगारिक महाआरतीको तयारी पूरा भएको छ । धार्मिक तथा पर्यटकीय स्थलका रुपमा परिचित हुँदै गएको शिवपार्वती तथा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले बुधबार पत्रकार सम्मेलन गर्दै शिवपुराण तथा श्रृंगारिक महाआरतीको तयारी पूरा भएको जनाएको हो ।

आयोजकका अनुसार, मञ्च व्यवस्थापन, प्रचारप्रसार, सुरक्षा व्यवस्थापन, सरसफाइलगायत सबै कार्य पूरा भएको छ । साउन १ गते दिउँसो १ बजे शिवपुराण तथा श्रृंगारिक महाआरतीको उद्घघाटन गर्ने गरी तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा शिवपुराण तथा श्रृंगारिक महाआरति मूल आयोजक समिति संयोजक गोविन्द गोराथोकीले जानकारी दिएको छ ।

समितिका अध्यक्ष गोराथोकीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघमा केन्द्रीय सचिव सविन प्रियासनको प्रमुख आतिथ्यमा भएको पत्रकार सम्मेलनमा महाआरतीको उदघाटन गर्नुअघि बिहान १० बजे भव्य कलशयात्रा निकालिने भएको छ । उक्त कलशयात्रा गुलरिया पार्कबाट निस्केर तुलसीपुर चोक, दामोदर चोक, शहिद गेट, जिल्ला प्रशासन हुँदै शिवपुराण तथा श्रृंगारिक महाआरति हुने स्थलमा आउने संयोजक गोराथोकीले बताए ।। शिव महापुराण पाठ तथा श्रृङगारिक महाआरतीको उदघाटन घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीले गर्ने भएकी छिन ।

ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सहिद स्मारक पार्क, सांस्कृतिक संग्रहालय परिसर र शिव पार्वति तथा राधाकृष्ण मन्दिरको संरक्षण तथा भौतिक स्तर उन्नतिका लागि विशेष धार्मिक कार्यक्रमको आयोजना गरिएको शिव महापुराण पाठ तथा श्रृङगारिक महाआरती कार्यक्रममा सरिक हुन सबै भक्तजन, शुभेच्छुकहरुमा आयोजकले आग्रह गरेको छ । धार्मिक अनुष्ठानबाट बचेको रकम मन्दिर परिसरको सौन्दर्यकरण, संग्राहालयको स्तरोन्नति, पदमार्ग, विश्राम गृह, बत्ती व्यवस्थापन, पानी सुविधा जस्ता आधारभूत संरचनाको सुधार तथा थप विकासमा खर्च गरिने पनि जनाइएको छ ।

कार्यक्रममा सुप्रसिद्ध पण्डित आचार्य श्यामशरणको मुखारविन्दबाट शिव महापुराणको दैनिक रुपमा वाचन हुनेछ । प्रत्येक बिहान साढे ४ बजेदेखि योगा कक्षाबाट सुरुहुँदै सन्ध्याकालीन श्रृङगारिक महाआरती विशेष आकर्षणका रूपमा प्रस्तुत गरिने पनि आयोजकले जनाएको छ । एक महिने महाआरतीमा रूद्राभिषेक, लघु रूद्रि, लक्ष्यवर्तिका, चौरासी पूजा, जन्मदिन, गृहपूजा, नाग पूजा, ब्राह्मण भोजन, प्रसाद वितरण, ब्रतबन्ध, चूडाकर्मलगायत कार्य समेत हुने छ ।