एक वर्षमा ३६० वटा सवारी दुर्घटना : ८१ जनाको मृत्यु, कारण तीव्र गति

लीलाधर वली
दाङ, ३२ असार । दाङमा एक वर्षको अवधिमा तीन सय ५० बढी सवारी दुर्घटना भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०८१÷०८२ को साउनदेखि असारसम्म जिल्लाका विभिन्न स्थानमा तीन सय ६० सवारी दुर्घटनामा ८१ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुई सय ५० जना गम्भीर तथा तीन सय ४१ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख एवम् प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले जानकारी दिएका छन् । प्रहरी निरीक्षक बमका अनुसार जिल्लामा आर्थिक वर्ष ०८०÷०८१ मा दुई सय तीन सवारी दुर्घटना हुँदा ९८ जनाको मृत्यु भएको थियो । जसमा दुई सय ३८ जना गम्भीर र एक सय १४ जना सामान्य घाइते भएका थिए ।

यसैगरी आर्थिक बर्ष ०७९÷०८० मा एक सय ४८ सवारी दुर्घटना हुँदा ५४ जनाको मृत्यु भएको थियो भने एक सय ४१ जना गम्भीर तथा एक सय आठ जना सामान्य घाइते भएका थिए ।

पुसमा धेरै दुर्घटना र मृत्यु

जिल्लामा सबैभन्दा धेरै सवारी दुर्घटना पुस महिनामा भएका छन् । प्रहरी निरीक्षक बमका अनुसार पुसमा ५६ वटा सवारी दुर्घटनामा १२ जनाको मृत्यु हुँदा ९६ जना घाइते भएका छन् ।

चिसो मौसममा बाक्लो हुस्सु, कुहिरो लाग्ने र चिसो मौसममा कतिपयले मापसेसमेत गरेर गाडी चलाउने भएकाले दुर्घटना बढी हुने गरेको प्रहरी निरीक्षक बमले बताएका छन् । उनका अनुसार माघमा ४४ दुर्घटनामा सात जनाको मृत्यु, ५४ घाइते, असारमा ३८ वटा दुर्घटनामा चार जनाको मृत्यु, ६१ जना घाइते, फागुनमा ३७ दुर्घटनामा छ जनाको मृत्यु र ६० जना घाइते, चैतमा ३७ दुर्घटनामा चार जनाको मृत्यु र ५९ जना घाइते भएका छन् ।

यसैगरी जेठमा ३४ वटा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु र ७१ जना घाइते, वैशाखमा ३१ दुर्घटना हुँदा छ जनाको मृत्यु र ९३ जना घाइते, मङ्सिरमा २९ दुर्घटनामा १० जनाको मृत्यु, ३९ जना घाइते, कात्तिकमा २३ दुर्घटनामा ११ जनाको मृत्यु र २९ जना घाइते, असोजमा १४ दुर्घटनामा पाँच जनाको मृत्यु र १८ जना घाइते, साउनमा १२ दुर्घटनामा आठ जनाको मृत्यु र सात जना घाइते र भदौमा पाँच दुर्घटनामा एक जनाको मृत्यु हुँदा चार जना घाइते भएका छन् ।
सवारी दुर्घटनामा दुई पाङ्ग्रे धेरै

ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार जिल्लामा भएका सवारी दुर्घटनामध्ये सबैभन्दा धेरै दुई पाङ्गे सवारीसाधन रहेका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्म तीन सय ६० सवारी दुर्घटनामा चार सय ७० सवारीसाधनमा क्षति भएको छ । जसमध्ये धेरै दुई सय ९९ वटा दुईपाङ्ग्रे सवारीसाधन रहेका छन् । यसैगरी जिप÷कार ५१ वटा, अटो ३३ वटा, बस २९ वटा, माइक्रोबस दुई वटा, टेक्टर २४ वटा, टिप्पर १२ वटा र ट्रक १९ वटा दुर्घटनामा परेका छन् ।
प्रहरीको तथ्याङ्क अनुसार २५ देखि ४० वर्ष उमेर समूहका दुई सय २६ जना सवारी दुर्घटनामा परेका छन् । यसैगरी १६ देखि २५ वर्ष उमेर समूहका एक सय ३६ जना र ४० वर्ष माथिका एक सय २४ जना रहेको प्रहरी निरीक्षक बलमे बताएका छन् ।

दुर्घटनाको प्रमुख कारण तीव्र गति

सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति रहेको ट्राफिक प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले चालु आर्थिक वर्षमा भएका दुर्घटनाको विश्लेषणका आधारमा चालकको लापरवाहीका कारण दुर्घटना धेरै हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख एवम् प्रहरी निरीक्षक बमले बताए ।

उनका अनुसार चालकको लापरवाही अर्थात् जिल्लामा एक वर्षको अवधिमा भएका तीन सय ६० दुर्घटनामध्ये दुई सय ४५ वटा दुर्घटना तीव्र गतिकै कारण भएका छन् । तीव्र गतिसँगै ६४ वटा मापदक पदार्थ सेवन गरेर सवारी साधन चलाउँदा, २९ वटा यात्रुको लापरवाही, सात÷सात वटा सवारीसाधनको यान्त्रिक गडबडी र ओभरलोड, दुई वटा सडकको अवस्था र एउटा मौसम खराबीका कारण दुर्घटना भएका छन् ।
जिल्लामा बर्सेनि सवारीसाधनको सङ्ख्यामा वृद्धि हुनु र त्यस अनुसार सडकको अवस्थामा सुधार नभएका अवस्थामा चालकले तीव्र गतिमा सवारीसाधन चलाउँदा धेरैजसो दुर्घटना हुने गरेको प्रहरी निरीक्षक बमले बताए । यसैगरी ट्राफिक प्रहरीले जिल्लामा ध्वनि प्रदूषण हुने गरी चलाइएका ९२ वटा मोटरसाइकलको साइलेन्सर परिवर्तन गराई कानुन बमोजिम कारबाही गरेको छ ।

यसैगरी ट्राफिक नियम उल्लङ्घन गर्ने पाँचवटा सवारीसाधनलाई थप कारबाहीका लागि यातायात व्यवस्था कार्यालय, तुलसीपुर पठाएको प्रहरी निरीक्षक बमले जानकारी गराएका छन् । उनका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने नौ सय ५५ जना चालक, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने तथा ओभरलोड बोक्ने एक हजार दुई सय ८९ वटा सार्वजनिक सवारीसाधनमाथि कारबाही गरिएको छ ।

ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन तुलसीपुरस्थित यातायात कार्यालयको सहयोगमा ५० थान लागूऔषध परीक्षण किट ल्याएर ट्राफिक प्रहरी कार्यालय दाङका मातहतका इकाइमा वितरण गरिएको र यसले लागूपदार्थ सेवन परीक्षण गर्न सहज हुने बताए ।
प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरी चलाउने तीन सय २१ वटा टिप्पर र लापरवाहीपूर्वक सवारी सञ्चालन गरेर दुर्घटना गराउने दुई सय २५ वटा सवारीसाधनका चालकलाई कारबाही गरिएको बताए ।

दुई करोड बढी राजस्व सङ्कलन

ट्राफिक प्रहरीले जिल्लामा दुई करोड बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षमा ट्राफिक नियमविपरीत सञ्चालन हुने २० हजार आठ सय २० वटा सवारीसाधनलाई कारबाही गर्दा दुई करोड २५ लाख ९३ हजार पाँच सय तीन रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

ट्राफिक प्रहरीले आर्थिक वर्ष ०८०÷०८१ मा २० हजार छ सय ६८ सवारीसाधनलाई कारबाही गर्दा एक करोड ६९ लाख २३ हजार पाँच सय तीन रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । यसैगरी आर्थिक वर्ष ०७९÷०८० मा ४७ हजार आठ सय ९५ वटा सवारीसाधनलाई कारबाही गर्दा तीन करोड ११ लाख २० हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

प्रहरीका अनुसार दाङमा दर्ता भएका सवारी साधनको सङ्ख्या ३७ हजार सात सय २३ रहेको छ । उक्त सवारी साधनलाई नियमनका लागि जिल्ला प्रहरी कार्यालय दाङमा ७२ जना जनशक्ति रहेको छ । जस अनुसार एक जना ट्राफिक बराबर पाँच सय २३ वटा सवारी साधन पर्ने गरेका छन् ।