उनी सधै कर्ममा तलिन हुन्छन् । सकारात्मक सोचका धनी सबैका प्रिय तुलसीपुर–३ निवासी छविलाल डाँगीले आफू सधै खुसीका साथ कर्ममा लागे लाग्ने गरेको र कर्मको फल निकै मिठो हुने बताउँछन् ।
नाम जस्तै आफ्नो छुट्टै छवि स्थापित गरेका डाँगीले आफू सधै खुसीका साथ सत्कर्ममा लाग्ने गरेको सुनाए । बाल्यकालमा धेरै संघर्ष गरेका डाँगीले संघर्ष पछिको फल निकै मिठो हुने अनुभव सुनाए । ‘मैले हिजो पनि कर्ममा विश्वास गरेर मेहनत गरे अहिले पनि म आफ्नो कर्मलाई भुलेको छ्रैन, म यसैमा सन्तुष्टी र खुसी छु’ डाँगीले भने ।
कर्मठ मुस्कानसहित सबैलाई समान व्यवहार गर्ने छविले आफू करिब १५ वर्षदेखि यातायात कृषि पेसामा लागेको सुनाए ।
तत्कालीन द्वन्द्वको समयमा गाउँमा बस्न नसकेर विदेशिएका डाँगीले १० वर्ष विदेसी भूमिमा कर्म गरेको भन्दै त्यहाँ रहँदा पनि आफूले प्रदेशी नेपालीहरूको हकहितका लागि काम गरेको सुनाए । उनले दुवईमा सुपरभाईजरको काम गरेको र त्यहाँ रहँदा मृत्युवरण गरेका नेपालीको सव नेपालसम्म ल्याउनका लागि होस् वा समस्या परेका नेपालीलाई सहयोग उद्दार गर्न पाउँदा खुसी लागेको सुनाए ।
‘म एउटा सप्लायर्स कम्पनीमा सुपरभाईजर थिए, कुनै नेपाली बर्षाै आफ्नो घर आउन पाउने अवस्था थिएन हामी मिलेर उनीहरूलाई नेपालसम्म आउने र फेरि सोही काममा फर्कनेसम्मको व्यवस्थापन मैले गर्ने गरेको थिए उनीहरूले सधै मलाई सम्झन्थे त्यसमा पनि मलाई खुसी लाग्ने गरेको छ’ उनले भने ।
‘मेरो जीवनका उकाली ओरालीमा सुखदुःख सबै छन् तर मैले आफ्नै देशमा आएर व्यवसायमा लागे म त्यसमा पनि खुसी छु’ डाँगीले भने । तुलसीपुर यातायात प्रालिका कोषाध्यक्ष डाँगीले आफ्नो पहिलो खुसी प्रालिमा डिलक्स बस भित्र्याउदा लागेको सुनाए । ‘सधै हाम्रो संस्थालाई सबैले नराम्रो दृष्टिकोणले हेर्ने र हेप्ने गर्नु हुथ्यो हामीहरूले सुविधा सम्पन्न डिलक्स बस सञ्चालन गर्दाको दिन मलाई निकै खुसी लागेको थियो, मेरो पहिलो खुसी त्यही लेखिदिनु होला दाङ, काठमाडौँ सुविधा सम्पन्न स्मार्ट बस सञ्चालन गर्न पाउँदाको’ डाँगीले भने ।
रा १ ज ४३८ नं. को सफारी गाडीको मालिक हुँदै समितिको सदस्य भई यातायात क्षेत्रमा जोडिएका डाँगीले अहिले प्रालिबाट देश विदेशमा समेत सुविधा सम्पन्न एसी, डिलक्सदेखि स्मार्ट यातायातको सुविधा दिई यात्रुहरूलाई सहज यातायात सेवा दिन पाउँदा निकै खुसी लाग्ने गरेको सुनाए ।
त्यस्तै भाडामा बस्ने यातायात प्रालि अहिले आफ्नै भवन र सुविधा सम्पन्न गाडी सञ्चालन गरेकोमा पनि निकै खुसी भएको डाँगीले सुनाए । ‘अहिले मैले पनि डिलक्स सुविधा सम्पन्न एसी तथा साना गाडीहरू देशका विभिन्न स्थान र भारतमा समेत सञ्चालन गरेको छु, यसरी सबैलाई गुणस्तरीय सेवा दिन पाएकोमा पनि म खुसी छु’ उनले भने ।
कुनै बेला आफ्नो आमा बिरामी हुँदा एम्वुलेन्स समयमै नपाउँदा आमाले ज्यान गुमाएको सम्झँदै उनले आफूले गाउँमा आवश्यक पर्दा धेरैलाई यातायात सेवा उपलब्ध गराउन पाएकोमा पनि खुसी व्यक्त गरे । ‘मैले गाउँमा रातविरात बिरामी पर्दा होस् वा कुनै मानिसको मृत्यु हुँदा आफ्नो गाडी सहयोग गर्ने गरेको छु, यो सेवा दिन पाउँदा पनि म खुसी छु’ डाँगीले भने ।
त्यस्तै उनले व्यवसाय संगै कृषिमा समेत आफूले काम गर्ने गरेको भन्दै एउटा इमान र जमानमा मेहनत गरेर अहिले यो सम्म आउँदा पनि खुसी लागेको सुनाए । उनले यातायात तथा अन्य क्षेत्रमा लगानी गरेर करिब १५ जनालाई नेपाल त्यो पनि जिल्लामा नै रोजगारी दिन पाएको भन्दै खुुसी व्यक्त गरे । ‘म पनि कुनै बेला विदेशीएको थिए बाध्यताले तर अहिले मैले विदेशभन्दा पनि स्वदेशमा धेरैलाई रोजगारी दिएको जस्तो लाग्छ यसमा पनि म खुसी छु’ डाँगीले भने ।
त्यस्तै गाउँघरमा हुने विकास निर्माणदेखि विद्यालय व्यवस्थापन समितिको सदस्य सामुदायिक वनको कोषाध्यक्षका साथै सुनौलो बिहानी युवा क्लबको अध्यक्ष समेत भएका डाँगीले क्लबको अध्यक्ष हुँदा गाउँमा किरियापूर्ति घर बनाउन पाएकोमा पनि खुसी व्यक्त गरे । त्यस्तै विभिन्न मठमन्दिर धार्मिक तथा अन्य ठाउँमा आफूले सक्दो सहयोग गर्न पाउँदा पनि आफू निकै खुसी भएको सुनाए । त्यस्तै करिब २४ वर्षको उमेरमै आफूले नेपाली कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीको क्रियाशील सदस्यता पाएकोमा पनि खुसी व्यक्त गरे ।
डाँगीले आफूले धेरै पढ्न नसके तापनि आफ्ना सन्तान र आफ्ना भाइबहिनीलाई राम्रो शिक्षा दिक्षा दिन पाएकोमा खुसी व्यक्त गरे । ‘मैले सरकारी स्कुलमा समेत राम्रोसँग पढ्न सकिन तर मैले आफ्ना सन्तान र भाइबहिनीलाई रोजेको स्कुलमा पढाएर राम्रो शिक्षा दिन पाए त्यो पनि मेरो लागि खुसीको कुरा हो’ डाँगीले भने ।
डाँगीले आफूले धन सम्पत्तिभन्दा पनि इमान जमान र विगतलाई सम्झँदै वर्तमानमा आफू रमाउन पाएको र सबैको साथ सहयोग मिलेकोमा पनि खुसी व्यक्त गरे । डाँगीले मानिसको सबैभन्दा ठुलो धन भनेको इमान जमान र कर्म भएको भन्दै कर्मको फल ढिलै भए पनि प्राप्त हुने भन्दै खुसी व्यक्त गरे । ‘खुसी आफूभित्र नै छ, सतकर्म गर्नुहोस् कर्ममा निरन्तर लाग्नुहोस् खुसी आफै प्राप्त हुन्छ’ डाँगीले भने ।
प्रस्तुति : बालाराम खड्का