बालाराम खड्का
तुलसीपुर, ३२ असार । ग्रामीण र विकट मानिने तुलसीपुर उपमहानगरपालिका–३ हरनेटीमा श्री जनता आधारभूत विद्यालय छ ।
दाङ–रुकुम राप्ती लोकमार्गमाको छेउमा रहेको यो विद्यालयमा सहजै कसैको नजर पुग्दैन । सुन्दर वातावरण माझ रहेको यो विद्यालयमा पछिल्लो समयमा पढाइदेखि अन्य शैक्षिक क्रियाकलाप उत्कृष्ट छ ।
कुनै बेला विद्यार्थी सङ्ख्या न्यून रहेको विद्यालयमा विद्यार्थीको आकर्षणले विद्यार्थी चाप बढेको छ । अहिले विद्यालयमा एक सय २० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयले शैक्षिक तथा शैक्षिक क्रियाकलापमा सुधार गरेपछि विद्यालय स्थानीय निकायको नजरमा पर्न सफल भएको छ ।
शैक्षिक व्यवस्थापनदेखि सुशासन शैक्षिक व्यवस्थापकीय सुधार भएको विद्यालयलाई तुलसीपुर उपमहानगरपालिकाले न्यायसङ्गत गरेको छ । विद्यालयमा शैक्षिक व्यवस्थापकीय सुधार, सुशासनमा उत्कृष्ट कार्य गरेबापत कार्यसम्पादन मूल्याङ्कनमा तुलसीपुर उपमहानगरपालिकामा प्रथम स्थान हासिल गर्न सफल भएको तुलसीपुर उपमहानगरपाकिला शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिए ।
उनका अनुसार शिक्षाका सूचकाङ्कमध्ये सबै सूचकाङ्क पूरा गरेको विद्यालयले शैक्षिक सत्र २०८१ मा प्रथम स्थान हासिल गर्न सफल भएको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघको नियमीत बैठक, अभिभावकको सहभागिता, पारदर्शिता सुशासन, उत्कृष्ट नतिजालगायतका सूचकाङ्क पूरा गरेर श्री जनता आधारभूत विद्यालय विद्यालय पहिलो स्थानमा आउन सफल भएको प्रमुख भण्डारीले जानकारी दिए ।
उनका अनुसार विद्यालयले यस शैक्षिक सत्रमा सामुदायिक विद्यालय अन्तर्गत तुलसीपुर उपमहानगरपालिकामा कक्षा ८ को परीक्षामा ९६ प्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ । ‘विद्यालयको सबै कुरा राम्रो छ, विद्यालयले नेतृत्व राम्रो पायो । त्यसैले विद्यालयले सबै सूचकाङ्क पूरा गरेको छ । हामीले अहिले तुलसीपुर उपमहानगरपालिका–३ को जनता आधारभूत विद्यालयलाई पहिलो र तुलसीपुर–४ को दीपज्योति आधारभूत विद्यालय घोरानेटीलाई दोस्रो भएसँगै प्रोत्साहन अनुदान समेत दिएका छौँ’, भण्डारीले भने ।
शैक्षिक व्यवस्थापकीय सुधार, सुशासनमा उत्कृष्ट कार्य गरेका विद्यालयलाई कार्यसम्पादनका आधारले प्रथम हुने जनता आधारभूत विद्यालयलाई तीन लाख र दीपज्योति आधारभूत विद्यालयलाई दुई लाख रुपैयाँ प्रोत्साहन स्वरूप अनुदानमा उपलब्ध गराइएको प्रमुख भण्डारी जानकारी दिए । प्रथम हुने विद्यालयमा हाल पुस्तकाल भवन मर्मत, शौचालयलगायतका अन्य भौतिक र शैक्षिक सुधारका लागि पालिकाले सहयोग गरेको हो ।
विद्यालयमा हाल तल्लो कक्षामा अङ्ग्रेजी र नेपाली दुवै भाषामा पढाइ हुँदै आएको छ । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर राम्रो छैन भन्ने कुरालाई यी दुई उत्कृष्ट विद्यालय उदारणीय बनेका छन् । ‘हामीले अनुदान न्यायोचित तरिकाले वितरण गरेका छौँ, सबै ग्रामीण क्षेत्रका दुई विद्यालयले प्रोत्साहन स्वरूप अनुदान रकम पाएका छन्’, प्रमुख भण्डारीले भने । ती दुई विद्यालयबाट पासआउट भएर माध्यमिक तह अध्ययन गर्न अन्य विद्यालयमा आएका विद्यार्थीले उत्कृष्ट नतिज ल्याउन सफल भएको पनि शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ ।
विद्यालयका निवर्तमान प्रधानाध्यापक कमलराज थापाले श्री जनता आधारभूत विद्यालय तुलसीपुर–३ हरनेटी शैक्षिक व्यवस्थापकीय सुधार, सुशासनमा उत्कृष्ट कार्य गरेबापत कार्यसम्पादन मूल्याङ्कनमा तुलसीपुर उपमहानगरपालिकामा प्रथम स्थान हासिल गर्न सफल भएको बताए ।
विद्यालयलाई उत्कृष्ट बनाउन अहोरात्र खट्ने सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, वडा कार्यालय सबैमा धन्यवाद व्यक्त गरेका छन् । ‘तुलसीपुर उपमहानगरपालिका तथा शिक्षा महाशाखालाई विशेष धन्यवादका साथै आभार प्रकट गर्न चाहान्छु, आगामी दिनमा पनि यसरी नै सवैको साथ र सहयोगको अपेक्षा छ अनि विद्यालयलाई उत्कृष्ट बनाउन आवश्यक क्रियाकलापमा हामी सधैँ तत्पर रहनेछौँ’, थापाले भने ।