बंगलाचुली गाउँपालिकाको सार्वजनिक सुनुवाइ

गोरक्ष समाचारदाता
कमिरेचौर, ३२ असार । बंगलाचुली गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ को तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । मङ्गलवार बंगलाचुली गाउँपालिका– ५ स्थित वडा कार्यालयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाको तेस्रो चौमासिक अवधिमा सम्पन्न योजनाहरू, खर्च विवरण, सेवा प्रवाह तथा आगामी योजनाहरूको विषयमा छलफल गरिएको थियो । कार्यक्रम बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेकमा एमाले बंगलाचुली गाउँपार्टी कमिटीका उपाध्यक्ष दलबहादुर खत्री, पूर्व जनप्रतिनिधि पवित्रा घर्ती क्षेत्री, स्थानीय लालबहादुर दमाई, प्रावि मसुरे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरबहादुर वलीलगायतले गाउँपालिकाको सेवा प्रवाहलगायतका विभिन्न विषयमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा वडाका स्थानीय प्रतिनिधि, समाजसेवी, शिक्षक तथा सरोकारवालाको उपस्थिति रहेको थियो । सहभागीले सेवा प्रवाहमा देखिएका समस्या, समाधानका उपाय र जनमुखी कार्यक्रम सञ्चालनको आवश्यकता औल्याएका थिए ।

कार्यक्रममा उठेका विभिन्न प्रश्नको गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगर, उपाध्यक्ष भक्तबहादुर जिसी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, आर्थिक प्रशासन शाखा प्रमुख नारायणप्रसाद आचार्य, वडा नं. ५ का अध्यक्ष लीलाबहादुर घर्तीलगायतले जवाफ दिएका थिए । कार्यक्रममा बंगलाचुली गाउँपालिकाका विभिन्न शाखाका शाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।

बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रशासन शाखा प्रमुख नुमाकान्त कालाथोकीले गरेका थिए । यस किसिमको सार्वजनिक सुनुवाइ कार्यक्रमले नागरिकलाई सूचनाको हक सुनिश्चितता गर्नुका साथै स्थानीय सरकारप्रति जवाफदेहिताको भावना थप सुदृढ हुने विश्वास गरिएको छ ।