भरत विश्वकर्मा
रोल्पा, ३२ असार । स्थानीय तह सञ्चालन भएको लामो समयसम्म पनि जिल्लाका कतिपय स्थानीय तहले भाडाकै भवनबाट सेवा प्रवाह गरिरहेका छन् ।
मुलुक सङ्घीयतामा प्रवेश गरेर स्थानीय तह सञ्चालन भएको आठ वर्ष पुगिसक्दा पनि गाउँका सिंहदरबार भनिने स्थानीय सरकारले आफ्नै प्रशासकीय भवन निर्माण सम्पन्न गर्न सकेको छैनन् । लामो समयसम्म भवन नबन्दा सेवा प्रवाहमा समस्या हुने गरेको छ ।
जिल्लाका कतिपय स्थानीय तहले कार्यालय निर्माण गरेर आफ्नै भवनबाट सेवा सुरु गरे पनि कतिपयले अझैसम्म भाडाकै भवनबाट सेवा प्रवाह गरिरहेका छन् । रोल्पा नगरपालिकाले गत फागुनदेखि आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह गर्दै आएको छ ।
रोल्पा नगरपालिका–२ स्थित लिबाङमा सुविधा सम्पन्न भवन निर्माण भएसँगै अहिले नगरपालिकाले सोही भवनबाट सेवा दिइरहेको छ । १३ करोड ४५ लाख ७० हजार छ सय ४८ रुपैयाँमा निर्माण गरिएको पाँचतले भवनमा ७४ वटा कोठासहित पार्किङका लागि खाली ठाउँ रहेको छ ।
भवन निर्माणका लागि पालिकाले २०७९ चैत २९ मा तकसार जलजला छयस्वरी जेभीसँगको सम्झौता गरेको थियो । सम्झौता अनुसार २०८१ फागुन २८ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि सम्झौता मिति अगावै भवन निर्माण पूरा भएर हस्तान्तरण गरिसकेको थियो ।
यसैगरी सुनिलस्मृति गाउँपालिकाको भवन निर्माण सम्पन्न भएको छ । प्रशासकीय भवन निर्माणका लागि गाउँपालिकाले २०८३ असार १५ गतेभित्र निर्माण सक्ने गरी २०७८ चैत १० गते पन्थ आकृति जेभी रुपन्देहीसँग सम्झौता गरेको थियो ।
निर्माण कम्पनीसँग आठ करोड २३ लाख ६४ हजार तीन सय ८९ रुपैयाँमा गाउँपालिकाले सम्झौता गरेको थियो । सङ्घीय सरकारको ६० र स्थानीय सरकारको ४० प्रतिशतको लागतमा उक्त भवन निर्माणको काम भएको हो ।
गाउँपालिकाले हाल भाडाको भवनबाट सेवा दिँदै आएको छ । गाउँपालिकाले भाडाबापत चालु आर्थिक वर्षमा १८ लाख ५१ हजार तीन सय रुपैयाँ भाडा तिरेको छ । गाउँपालिकाले आर्थिक वर्षको सुरुदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्ने तयारीमा रहेको छ ।
लुंग्रीमा भवन हस्तान्तरण नहुँदा समस्या
लुंग्री गाउँपालिकाको भवनको निर्माण कार्य सकिएको लामो समय भइसक्दा पनि निर्माण कम्पनीले पालिकालाई भवन हस्तान्तरण गरेको छैन । जसका कारण गाउँपालिकाले भाडाकै भवनबाट सेवा दिँदै आएको छ ।
वर्षौँदेखि साँघुरो कोठाबाट सेवा प्रवाह गर्दा समस्या भइरहेको कर्मचारीले गुनासो गर्दै आएका छन् । लुंग्री गाउँपालिकाले प्रशासकीय भवन निर्माणका लागि स्मृति विशाल नारायण जेभीसँग २०७९ पुस २० देखि काम सुरु गर्ने गरी सम्झौता गरेको थियो । निर्माण कम्पनीले उक्त मितिदेखि दुई वर्षभित्र काम सक्ने गरी सम्झौता गरेको थियो ।
२०८१ पुस २० मा भवन निर्माण सम्झौताको अन्तिम मिति थियो । सो पालिकाको प्रशासकीय भवन निर्माणको भौतिक प्रगति ९७ प्रतिशत रहेको छ भने आर्थिक प्रगति ७३ दशमलव दुई प्रतिशत छ । सङ्घीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा कुल (कर सहित) सात करोड ४३ लाख ८४ हजार रुपैयाँमा सो भवन निर्माण भएको हो ।
गाउँपालिकाले भवन निर्माणका लागि स्थानीयबाट दानमा जग्गा प्राप्त गरेपछि काम सुरु गरेको थियो । गाउँपालिकाका इन्जिनियर गगन खड्काका अनुसार प्रशासकीय भवन चार तलाको छ । जसमा सभाहलसहित ४८ कोठा रहेका छन् ।
सो भवनमा अध्यक्षको कार्यकक्ष, उपाध्यक्षको कार्यकक्ष, न्यायिक समितिको इजलास कक्ष, सम्पूर्ण विषयगत शाखाहरूको कक्ष, शौचालय रहेको उनले बताए । भवनको परिसरमै पार्किङको व्यवस्था रहेको छ भने लिफ्ट समेत जडान गरिएको छ । गाउँपालिकाले कार्यालय सञ्चालनका लागि भाडाबापत मासिक ६० हजार रुपैयाँ बराबरको रकम बुझाउँदै आएको छ ।
रोल्पा नगरापालिका, सुनछहरी, थबाङ, माडी, परिवर्तन, त्रिवेणी र रुन्टिगढी गाउँपालिकाले आफ्नै भवनबाट सेवा दिइरहेका छन् । सुनिलस्मृति र लुंग्री गाउँपालिकाको पनि भवन निर्माण सकिएको छ । गंगादेव गाउँपालिकामा भने नाम र केन्द्र विवादका कारण प्रशासकीय भवन निर्माणमा ढिलाइ भएको छ ।
गाउँको सिंहदरबारको रूपमा रहेका स्थानीय सरकारले लामो समयसम्म पनि आफ्नो प्रशासकीय भवनबाट सेवा प्रवाह गर्न नसक्नुले दैनिक सेवा प्रवाहमा समस्या हुने गरेको छ । जसका कारण कर्मचारीलाई साँघुरो कोठाबाट असहज रूपमा सेवा प्रवाह गर्नुपरेको छ भने सेवाग्राहीलाई सास्ती खेप्नु परेको छ । स्थानीय तहले लामो समयसम्म भवन निर्माणको काम सम्पन्न गर्न नसक्नुले लाखौँ रकम कार्यालय सञ्चालनका लागि भाडामै खर्च भइरहेको छ ।