मधुसूदन भण्डारी
प्यूठान, ३१ असार ३१ । प्यूठानमा लिलाबहादुर बरालले पूर्व श्रीमतिको छुरा प्रहार गरेर हत्या गरेका छन् । प्युठानमा आफन्तको घर बस्न गएकी सरुमारानी गाउँपालिका –३ गोठेरी निवासी २८ वर्षीया रुक्मणी बरालको पूर्व श्रीमान बरालले चक्कु प्रहार गरी हत्या गरेका हुन् ।
हत्या अभियोगमा ऐरावती गाउँपालिका –२ कात्तिकेका ३० वर्षीय लिलबहादुरलाई प्रहरीले घटनास्थलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक दीपेश बस्यालले जानकारी दिएका छन् । उनका अनुसार मङ्गलबार बिहान १० बजेर १० मिनेटतिर भट्ना भएको थियो । रुक्मणी आफ्नी जेठानी डिला परियारको घरमा बस्न गएको समयमा लिलबहादुरले हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
स्थानीयका अनुसार रुक्मणीले गत वैशाखमा दिपक परियारसँग दोश्रो विवाह गरेकी थिइन । दीपक १५ दिनअघि कामको सिलसिलामा सङ्खुवासभा गएका थिए । रुक्मणी र लिलबहादुरकातर्फबाट एक छोरा र एक छोरी नाबालक सन्तान छन् । लिलबहादुर बैदेशिक रोजगारीका क्रममा इराकमा बसेर घर फर्किका थिए ।